एकाइ ५: भूगोल र सामाजिक सम्बन्ध
पाठ २: मानव र वातावरण
यस पाठमा हामीले मानव र वातावरण (Manav ra Vatavaran) बीचको अन्तरसम्बन्ध, वातावरण संरक्षणको महत्त्व र यसको विनाशले निम्त्याउने समस्याहरूबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। प्रकृति र मानवबिचको सन्तुलन कायम राख्नु नै दिगो भविष्यको आधार हो।
Manav ra Vatavaran
अभ्यासका विषयहरू
१. वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस्।
उत्तर: वातावरणीय स्रोतको समुचित प्रयोग गरी मानव एवम् प्राकृतिक स्रोतबीच अन्तरनिहित सम्बन्धलाई सुशोभित तुल्याउनु नै वातावरण संरक्षण हो भने मानिसले आफ्ना सुखसुविधाका लागि गर्ने क्रियाकलापले वातावरण प्रतिकूल हुने अवस्थालाई वातावरण विनाश भनिन्छ। वातावरणबाट हामीले प्रत्यक्ष लाभ जस्तै गाँस, बास र कपास तथा अप्रत्यक्ष लाभ जस्तै जल चक्र, पोषक तत्त्वको चक्र, परागसेचन, माटो निर्माण आदि पाइरहेका हुन्छौँ।
वातावरण संरक्षण गर्दा हुने फाइदाहरू यसप्रकार रहेका छन्:
- बाहिरको तापक्रम कायम गर्दछ।
- स्वच्छ हावा र सफा पानी प्रदान गर्दछ।
- प्रकृति, जैविक विविधता (Biodiversity) र इकोसिस्टम संरक्षण गर्दछ।
- उत्तम औषधीका लागि अधिक बोटबिरुवाहरूको विकास हुन्छ।
- स्वच्छ वातावरण र स्वच्छ जीवन निर्माण गर्दछ।
वातावरण विनाश गर्दा आइपर्ने समस्याहरू यसप्रकार रहेका छन्:
- हावापानी प्रदूषित भई मौसम परिवर्तन हुने र बिग्रन गई स्वास्थ्यमा प्रतिकूल असर पर्ने।
- हरिया वनजङ्गल नभई मरुभूमीकरण (Desertification) हुने।
- बाढीपहिरोले भू-क्षय हुने, बाटोघाटो बिग्रने र सम्पूर्ण जीवनलाई नै असर पर्ने।
- खेतीपातीमा लगाइएका बाली नष्ट हुने।
- वर्षात् नभई अतिवृष्टि, खण्डवृष्टि भई उत्पादनमा प्रतिकूल असर पर्ने लगायत विभिन्न प्रकोपहरू हुनगई मानव जीवन र सम्पूर्ण राज्य, विश्वलाई समेत नकारात्मक असर पर्ने।
- हिमालहरू पग्लने, पानीका मुहानहरू सुक्ने जस्ता समस्याहरू देखा पर्ने।
- पृथ्वीको तापक्रम बढ्ने (Global Warming) जस्ता सङ्कटहरू देखापर्ने।
- जीवहरू नष्ट हुने, वन्यजन्तुको वासस्थान लोप हुने, उब्जनी कम हुने, साथै जलवायु परिवर्तन (Climate Change) हुने।
- मानिसमा हृदयघात, श्वासप्रश्वासमा समस्या, क्यान्सर जस्ता विभिन्न रोगहरू देखापर्ने आदि।
अन्ततः, मानिसले ‘स्वास्थ्य नै जीवन हो’ भन्ने कुरा कदापि बिर्सनुहुँदैन। वातावरण स्वच्छ हुँदा मात्र मानिस स्वस्थ बन्न सक्दछ भन्ने कुरालाई सबैले आत्मसात् गर्नु पर्दछ। त्यसैले सबै मिलेर वातावरणको संरक्षण गर्नु आजको आवश्यकता हो।
२. वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस्।
उत्तर: वातावरण सम्पूर्ण प्राणीका लागि घर हो। वातावरणमा नै प्राणीको अस्तित्व अडिएको छ। वातावरणका प्राकृतिक स्रोतहरूको प्रयोगबाट नै जीवन प्रक्रिया अगाडि बढेको हुन्छ। मानिस आज जुन अवस्थामा छ, त्यो सम्पूर्ण रूपमा वातावरणको देन हो। वास्तवमा भन्नुपर्दा, वातावरणको अत्यधिक शोषणका कारण विश्वको यो विकास सम्भव भएको हो। मानव जीवनको अस्तित्व वातावरणमा अडिएको छ, चाहे त्यो भौतिक वातावरण होस् वा अभौतिक।
वातावरण संरक्षणको प्रमुख दायित्व मानव समुदायको हो। पृथ्वीमा घटित विभिन्न किसिमका उतारचढावका मुख्य हिस्सेदार मानवजातिको अमानवीय सोच रहेको छ। वातावरणीय असन्तुलन, हरितगृह ग्यास (Greenhouse Gas) को बढ्दो उत्सर्जन, जलवायु परिवर्तन, अतिवृष्टि, अनावृष्टि लगायतका सम्पूर्ण समस्याहरू मुख्यत: मानव जातिबाट नै सृजित समस्याहरू हुन्। फलतः पृथ्वीको आयु सूक्ष्म तरिकाबाट पेचिलो बन्दै गएको छ। मानव समाजको अकर्मण्यताका कारण प्राकृतिक स्रोतसाधनमा ह्रास आइरहेको छ।
बढ्दो औद्योगीकरण (Industrialization), शहरीकरण एवम् प्राकृतिक स्रोतसाधनको अनुचित प्रयोगले पृथ्वीमा रहेका सम्पूर्ण जीवजन्तु र वनस्पतिको औसत आयुमा कमी आइरहेको देखिएको छ। हाल विश्वमा २५% हृदय रोगहरू वायु प्रदूषणबाट सृजित हुने र साथै २.४ लाख व्यक्ति वार्षिक रूपमा सोही कारणले मृत्यु भएको तथ्याङ्कले वातावरण संरक्षण कत्तिको आवश्यक छ भन्ने सहजै अनुमान गर्न सकिन्छ। पृथ्वी सबैको साझा घर हो भन्ने हुँदाहुँदै आफ्नै खुट्टामा लात हान्ने प्रवृत्ति हावी हुँदा यो असन्तुलन देखिनुको प्रमुख कारण हो।
अन्ततः, प्राकृतिक लालित्यको नमुना पृथ्वी दिनानुदिन बढ्दै गइरहेको वातावरणीय चुनौतीबाट गुज्रन बाध्य भइरहेको छ। वातावरण संरक्षण हामी सबैको जिम्मेवारी हो भन्ने बुझाइ हुनु एक सबल पक्ष भएतापनि कथित आर्थिक तथा भौतिक विलासिताले गर्दा यो मूल एजेन्डा बन्न नसक्नु निकै दुर्भाग्यपूर्ण हो। प्रकृतिसँग जीवनका हरेक आमोदप्रमोद जोडिएकाले समेत वातावरण संरक्षणलाई विशेष जोड दिँदै प्राथमिकतामा राख्नुबाहेक विकल्प छैन। यसर्थ, विश्वले वातावरण संरक्षणका चुनौतीका विशाल र विषालु काँडाहरू पन्छाउँदै सकारात्मकता एवम् सुन्दर फूलहरूद्वारा वातावरणीय सुन्दरतालाई कायम राख्न विशेष रूपमा अग्रसर हुनैपर्दछ।
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us