class 11 Social Unit 5-Chapter 3 | विश्वका भौगोलिक विविधता र जनजीवन (Bishwaka Bhaugolik Bibidhata ra Janajiwan)-भूगोल र सामाजिक सम्बन्ध
An overview of Bishwaka Bhaugolik Bibidhata ra Janajiwan (Geographical Diversities and Lifestyles of the World) notes for NEB class 11 Social Studies

एकाइ ५: भूगोल र सामाजिक सम्बन्ध

पाठ ३: विश्वका भौगोलिक विविधता र जनजीवन

यस पाठमा हामीले विश्वका भौगोलिक विविधता र जनजीवन (Bishwaka Bhaugolik Bibidhata ra Janajiwan) बारे विस्तृत रूपमा अध्ययन गर्नेछौं। विश्वमा पाइने विभिन्न भौगोलिक अवस्थाहरूले कसरी मानिसको जीवनशैली, आर्थिक क्रियाकलाप र संस्कृतिमा प्रभाव पार्छ भन्ने कुराको खोजी यस पाठको मुख्य उद्देश्य हो। भौगोलिक विविधताले नै हाम्रो संसारलाई सुन्दर र अद्वितीय बनाएको छ।

Bishwaka Bhaugolik Bibidhata ra Janajiwan

१. कारण दिनुहोस्:

(क) मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ।
उत्तर: मलेसिया भूमध्यरेखामा पर्दछ। भूमध्य रेखा सूर्यको नजिक हुने भएकाले यसले अधिक ऊर्जा प्राप्त गर्दछ र वर्षभरि यस क्षेत्रमा सूर्यको ताप सिधा पर्दछ। त्यसैले मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ।

(ख) मरुभूमि क्षेत्रमा उँट पालन गरिन्छ।
उत्तर: मरुभूमि क्षेत्रमा पानीको अभाव हुन्छ। उँट धेरै दिनसम्म पानी र खानेकुरा नखाई हिँड्न सक्छ र मरुभूमिमा सामान ओसार्ने यो एक मात्र विकल्प भएकाले मरुभूमि क्षेत्रमा उँट पालन गरिन्छ।

(ग) समुद्री किनारमा ठूला सहरहरू रहेका छन्।
उत्तर: समुद्री किनाराको हावापानी रमणीय हुने, जनजीवन सम्पन्न हुने, पानीको उपलब्धता, खेती गर्न र माछा मार्न सहज हुने र प्रायः मैदानी भाग रहेको हुँदा जनजीवन सामान्यतया निकै सहज हुने हुनाले समुद्री किनारमा ठूला सहरहरू रहेका छन्।

(घ) इटाली र ग्रीसमा फलफूल खेती गरिन्छ।
उत्तर: इटाली र ग्रीस क्षेत्रमा हिउँदमा वर्षा र चिसो तथा ग्रीष्ममा न्यानो र सुक्खा हावापानी पाइन्छ। यो हावापानी फलफूलका लागि निकै उपयुक्त हुने हुँदा यहाँ फलफूल खेती गरिन्छ।

(ङ) हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेसीतर्फ झरिरहेका छन्।
उत्तर: हिमाली र पहाडी क्षेत्रका अधिकांश ठाउँमा यातायात पुगे पनि केही स्थानमा बाटोघाटो, कृषियोग्य जमिन, शिक्षा तथा सञ्चारजस्ता आधारभूत आवश्यकताको कमीले गर्दा त्यहाँको जनजीवन कष्टकर रहेकाले सहज जनजीवन र सरसुविधाको खोजीमा मानिसहरू तराई र बेसीतर्फ झरिरहेका छन्।

(च) गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।
उत्तर: गाउँ र सहर एकअर्कामा मुख्यतयाः सामाजिक, आर्थिक, राजनैतिक, भौतिक, प्राविधिक, सेवा प्रवाह आदि तत्वहरूमा निर्भर हुन्छन्। गाउँबाट कच्चा पदार्थहरू, कृषिजन्य उत्पादनहरू, श्रम, पुँजी आदि सहर जान्छन् भने सहरबाट सेवा, सुविधा, प्रविधि, सीप, रोजगार, विचार आदि गाउँ फर्किन्छन्। त्यसैले गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।

२. विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस्।

उत्तर: हाम्रो विश्व रोमाञ्चक र अनौठो छ। विश्वमा विविध प्रकारका भौगोलिक विशिष्टताहरू पाइन्छन्, जसले विभिन्न वातावरणीय क्षेत्रहरूको निर्माण गरेका छन्। फरक-फरक भौगोलिक अवस्थाका क्षेत्रहरूको आर्थिक अवस्था पनि फरक-फरक नै छ। भौगोलिक अवस्थाले त्यहाँको आर्थिक गतिविधि र जीविकोपार्जनको स्वरूपलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ।

अन्त्यमा, विश्वमा एकै प्रकारको जनजीवन नहुनुको मुख्य कारण भौगोलिक विविधता, जलवायु, हावापानी, मौसम र वातावरणीय स्थिति आदि नै हुन्।

३. नेपालमा पनि विविध भौगोलिक अवस्था र मानिसको जीवनशैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ। के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी? उदाहरणसहित प्रस्ट पार्नुहोस्।

उत्तर: मानिसका हरेक क्रियाकलापलाई भौगोलिक वातावरणले प्रभाव पारेको हुन्छ। वातावरणअनुसार उनीहरूको पेशा, क्रियाकलाप, खानपान, लवाइखवाइ, रहनसहन, चाडपर्व आदि पनि फरक-फरक हुने गर्दछ। नेपाल भौगोलिक हिसाबले हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छ। यी तीनै वटै क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूको जनजीवनमा भौगोलिक वातावरणले प्रभाव पारेको छ:

  • हिमाली क्षेत्र: अधिक उचाइ र चिसो हावापानी हुने भएकाले यहाँ बसोबास गर्ने शेर्पा, भोटे, थकाली जस्ता जातिहरूले सोहीअनुसार जीवनयापन गर्दछन्। यहाँको मुख्य खाना फापर, जौ, आलु हो भने भेडा, च्याङ्ग्रा र चौँरीपालन मुख्य पेशा हो।
  • पहाडी क्षेत्र: यहाँको हावापानी स्वास्थ्यवर्द्धक रहेको छ। यहाँका मानिसहरूको मुख्य खाद्यान्न धान, कोदो, मकै हो। भिरालो जमिन समेत भएकोले वर्षाको समयमा बाढी र पहिरोको जोखिम यस क्षेत्रमा रहन्छ।
  • तराई क्षेत्र: यो क्षेत्र अन्न भण्डारका रूपमा प्रख्यात छ। यहाँ अधिक गर्मी हुने हुँदा पातलो लुगा लगाइन्छ। यहाँका मुख्य बालीहरू धान, मकै, गहुँ, र विभिन्न नगदेबालीहरू हुन्। समथर मैदान भएकाले वर्षाको समयमा डुबानको समस्या देखा पर्ने गर्दछ।

समग्रमा, मानिसको जनजीवनका आर्थिक क्रियाकलाप, भेषभूषा, सामाजिक-सांस्कृतिक प्रचलन, जनसंख्याको बनोट, र विकासका पूर्वाधारहरूमा भौगोलिक वातावरणले प्रभाव पार्दछ।

४. तल दिइएका चार्टहरूले विश्वका विभिन्न स्थानका वार्षिक औसत तापक्रम र वर्षाको अवस्था देखाएको छ। कुन स्तम्भ चित्र कुन वातावरणीय क्षेत्रको होला, पत्ता लगाउनुहोस् र कारण पनि दिनुहोस्।

उत्तर:

  • चार्ट १: वर्षैभरि गर्मी हुने क्षेत्र (उदाहरण: भूमध्यरेखीय क्षेत्र)।
  • चार्ट २: वर्षभरि धेरै चिसो हुने क्षेत्र (उदाहरण: टुन्ड्रा क्षेत्र)।
  • चार्ट ३: सुक्खा मरुभूमिहरू भएको क्षेत्र।
  • चार्ट ४: दक्षिण युरोपको भूमध्यसागरीय क्षेत्र (हिउँदमा वर्षा, गर्मीमा सुक्खा)।
  • चार्ट ५: विश्वका मैदानी क्षेत्रहरू।
  • चार्ट ६: समशीतोष्ण हावापानी क्षेत्र।

५. भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन? कारण दिनुहोस्।

उत्तर: नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो। यस्तो भौगोलिक विविधताले नेपालको आर्थिक विकासमा निम्नानुसार सकारात्मक र नकारात्मक प्रभाव पारेको छ:

क) सकारात्मक प्रभाव

  • खनिजको प्रयोगबाट आर्थिक उन्नति गर्न सकिने सम्भावना।
  • ताल, नदीनाला, जङ्गल र हिमालले पर्यटकीय आकर्षण बढाएको।
  • तराईको उत्पादनले खाद्यान्न आवश्यकता पूरा गरेको।
  • हावापानीको विविधताले गर्दा फरक मौसममा पनि अन्नबाली तथा नगदे बालीको उपलब्धता।

ख) नकारात्मक प्रभाव

  • बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपका कारण आर्थिक भार बढ्ने।
  • हिमाल तथा पहाडी क्षेत्रमा खेतीयोग्य भूमिको अभाव र सिँचाइ सुविधा पुर्‍याउन कठिन।
  • भिर, पाखा, खोल्साका कारणले यातायात विकास गर्न अत्यधिक खर्चिलो।

अन्त्यमा, नेपालको भौगोलिक विविधताले प्रत्यक्ष रूपमा आर्थिक विकासमा प्रभाव पारेको छ। सकारात्मक प्रभावको सदुपयोग गर्दै नकारात्मक प्रभावको न्यूनीकरणमा ध्यान दिएमा आर्थिक विकासमा तीव्रता आउने देखिन्छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top