class 11 Social Unit 8-Chapter 1 | नेपालको संविधान विगत र वर्तमान (Nepal ko Samvidhan Bigat ra Bartaman)-संविधान र नागरिक सचेतना
Notes on Nepal ko Samvidhan Bigat ra Bartaman (The Constitution of Nepal Past and Present) for NEB class 11 Social Studies

एकाइ ८: संविधान र नागरिक सचेतना

पाठ १: नेपालको संविधान विगत र वर्तमान

यस पाठमा हामीले नेपालको संविधान विगत र वर्तमान (Nepal ko Samvidhan Bigat ra Bartaman) बारे विस्तृत अध्ययन गर्नेछौँ। हामी नेपाल अधिराज्यको संविधान, २०४७ र वर्तमान नेपालको संविधान (२०७२) बीचका मुख्य भिन्नता र समानताहरूलाई केलाउने छौँ। संविधान देशको मूल कानून हो र यसले राज्य सञ्चालनको मार्गचित्र प्रस्तुत गर्दछ।

Nepal ko Samvidhan Bigat ra Bartaman

१. नेपाल अधिराज्यको संविधान, २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनाका मिल्ने र नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस्।

उत्तर: नेपाल अधिराज्यको संविधान, २०४७ र नेपालको संविधान, २०७२ का प्रस्तावनाका मिल्ने र नमिल्ने विषयवस्तुहरू निम्नानुसार रहेका छन्:

क) मिल्ने विषयवस्तु:

  • दुवै संविधानले नेपाललाई स्वतन्त्र र सार्वभौमसत्तासम्पन्न राष्ट्रको रूपमा स्वीकार गरेका छन्।
  • नेपाली जनतालाई सामाजिक, राजनीतिक एवं आर्थिक न्याय प्रदान गर्ने उद्देश्य दुवैमा उल्लेख छ।

ख) नमिल्ने विषयवस्तु:

नेपाल अधिराज्यको संविधान, २०४७
  • सार्वभौमसत्ता श्री ५ महाराजाधिराज र नेपाली जनतामा निहित रहेको।
  • श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेवबाट घोषणा भएको।
  • हिन्दू अधिराज्यको रूपमा परिभाषित।
  • संवैधानिक राजतन्त्र तथा बहुदलीय प्रजातान्त्रिक प्रणालीलाई आत्मसाथ गरिएको।
नेपालको संविधान, २०७२
  • सार्वभौमसत्ता नेपाली जनतामा मात्र निहित रहेको।
  • संविधान सभाबाट पारित भई राष्ट्रपतिबाट जारी भएको।
  • धर्मनिरपेक्ष राज्यको रूपमा परिभाषित।
  • जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली र समाजवाद उन्मुख गणतन्त्रात्मक राज्य।

२. नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस्।

उत्तर: नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तुहरू यसप्रकार रहेका छन्:

  • संविधान मूल कानून: यो संविधान नेपालको मूल कानून (Fundamental Law) हो। योसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ र संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ।
  • सार्वभौमसत्ता र राजकीय सत्ता: नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ।
  • राष्ट्र: बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र राष्ट्रिय हितप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।
  • नेपाल राज्य: नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो।
  • राष्ट्रिय हित: नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषय हुनेछन्।
  • राष्ट्रभाषा: नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा (National Languages) हुन्।
  • सरकारी कामकाजको भाषा: देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ। प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने अन्य राष्ट्रभाषालाई पनि सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ।
  • राष्ट्रिय झण्डा: अनुसूची-१ मा उल्लेख भए बमोजिमको सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको, चन्द्र र सूर्य अंकित दुई त्रिकोणयुक्त झण्डा नेपालको राष्ट्रिय झण्डा हो।
  • राष्ट्रिय गान इत्यादि: नेपालको राष्ट्रिय गान (सयौं थुँगा फूलका…), निशान छाप, राष्ट्रिय फूल (लालीगुराँस), राष्ट्रिय रङ्ग (सिम्रिक), राष्ट्रिय जनावर (गाई) र राष्ट्रिय पक्षी (डाँफे) संविधानमा तोकिए बमोजिम हुनेछ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top