Class 12 Social Unit 5-Chapter 4 | नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता (Nepalka Pradeshko Aarthik Awastha ra Bisheshata)-भूगोल र सामाजिक जीवन
An overview of Nepalka Pradeshko Aarthik Awastha ra Bisheshata notes for NEB Class 12 Social Studies

एकाइ ५: भूगोल र सामाजिक जीवन (Bhugol ra Samajik Jiwan)

पाठ ४: नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता (Nepalka Pradeshko Aarthik Awastha ra Bisheshata)

यस पाठमा हामी नेपालका प्रदेशको आर्थिक अवस्था र विशेषता (Nepalka Pradeshko Aarthik Awastha ra Bisheshata) बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। नेपालका सातै प्रदेशहरूको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक पक्षहरूको पहिचान र विशेषताहरूलाई यस अध्यायमा समेटिएको छ।

१. तलका प्रश्नका उत्तर दिनुहोस्:

(क) बागमती प्रदेशको कुनै तीनवटा सामाजिक विशेषताहरू उल्लेख गर्नुहोस्।

उत्तर: बागमती प्रदेशमा तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ। यस प्रदेशको हिमाली क्षेत्रमा मुख्य जाति शेर्पा र तामाङ हुन् भने पहाडी क्षेत्रमा बाहुन, क्षेत्री, मगर, दलित र काठमाडौं उपत्यका, धुलिखेल, बनेपामा नेवार जातिहरूको बसोबास रहेको छ। यहाँ सीमान्तीकृत समूहका चेपाङ, वोटे, थामी आदि पनि बसोबास गर्छन्।

(ख) सुदूरपश्चिम प्रदेशका मुख्य-मुख्य सामाजिक पहिचान उल्लेख गर्नुहोस्।

उत्तर: सुदूरपश्चिम प्रदेशमा मुख्यगरी क्षेत्री, ब्राह्मण, ठकुरी, थारु, दलित जातिहरूको बसोबास रहेको छ। यहाँका हिमाली र पहाडी क्षेत्रमा मिश्रित जातिको बसोबास छ भने तराई क्षेत्रमा ब्राह्मण, क्षेत्री, थारु र अन्य मिश्रित जातिहरू रहेका छन्।

सुदूरपश्चिम प्रदेशमा नेपाली भाषासँगै दर्जनौं अन्य भाषाहरू पनि बोलिन्छ। यहाँका मुख्य भाषाहरू डोडेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर आदि हुन्। यस प्रदेशमा गौरा पर्व, बडाका तिवार, दशैँ, तिहार धुमधामका साथ मनाइन्छ। तराई क्षेत्रमा माघी पर्वले आफ्नै सामाजिक सांस्कृतिक महत्त्व बोकेको छ। यहाँका प्रमुख धार्मिक स्थलहरूमा उग्रतारा, त्रिपुरासुन्दरी, शैलेश्वरी, बडीमालिका, बैजनाथ आदि हुन्। यस प्रदेशमा देउडा नाचको ठूलो सामाजिक सांस्कृतिक महत्त्व रहेको छ।

(ग) बागमती प्रदेशका मुख्य-मुख्य जातिहरूको सूची तयार पार्नुहोस्।

उत्तर: बागमती प्रदेशमा मिश्रित जातिहरूको बसोबास छ। यहाँ बसोबास गर्ने मुख्य-मुख्य जातिहरू यस प्रकार रहेका छन्:

  • तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ।
  • यस प्रदेशको हिमाली क्षेत्रमा शेर्पा र तामाङ मुख्य जाति हुन्।
  • पहाडी क्षेत्रमा बाहुन, क्षेत्री, मगर, दलित र काठमाडौँ उपत्यका, धुलिखेल, बनेपामा नेवार जातिहरूको बसोबास रहेको छ।
  • भित्री मधेसमा थारु र सीमान्तीकृत समूहका चेपाङ, वोटे, थामी आदि बसोबास गर्छन्।

(घ) “सामाजिक विविधता नेपालको पहिचान” शीर्षकमा एक लेख तयार पार्नुहोस्।

उत्तर: हरेक समाज धेरै विविधताको सम्मिश्रण हो र राष्ट्र धेरै विशेषतायुक्त समाजहरूको सम्मिश्रण हो। यी विविधताहरू आफैँमा विशेषतायुक्त हुन्छन् र प्रत्येक राष्ट्रको मौलिक पहिचान र गर्वको विषय बन्दछन्। नेपाल आफैँमा एक विविधतायुक्त देश हो, जहाँ सयभन्दा बढी जातजाति, भाषाभाषी, विविध धर्मावलम्बी र संस्कृतिहरू छन्। भौगोलिक विविधतामा आधारित सांस्कृतिक र सामाजिक विविधता यहाँ विद्यमान छ, जसमा अनेकौँ सौन्दर्य लुकेको छ। विविधतामा एकता नेपाली समाजको प्रमुख विशेषता हो।

नागरिकबीच प्रेम, सद्भाव, स्नेह र साझा स्वार्थ राष्ट्रिय एकताको प्रतिबिम्ब हो। विभिन्न वर्ग र समुदायका मानिसमा हुने राष्ट्रियताप्रतिको संवेगात्मक भावनाले सामाजिक न्याय र राष्ट्रिय एकताको सन्देश दिन्छ। विविधताको सुव्यवस्थापनबाट एकातर्फ राष्ट्रिय सहिष्णुता कायम हुन जान्छ भने अर्कोतर्फ समाजमा विद्यमान विभिन्न प्रकारका आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक विभेदहरूको अन्त्य भई सबै वर्ग, समूह र क्षेत्रको अधिकारको सम्मान हुन्छ। सामाजिक सद्भाव र समन्यायिक अवधारणा विविधता व्यवस्थापनको आधारभूत पक्ष हो। यसका लागि देशमा रहेका सबै वर्ग, समूह, समुदाय र सम्प्रदायका बीचमा सामाजिक सद्भाव र सम्मानको संस्कृति विकास गर्नु आवश्यक हुन्छ।

(ङ) प्रदेश नं. १ को कुनै तीनवटा सांस्कृतिक विशेषताहरू उल्लेख गर्नुहोस्।

उत्तर: प्रदेश नं. १ का तीनवटा सांस्कृतिक विशेषताहरू निम्न छन्:

  • यस प्रदेशमा मुख्यतया थारू, मुसलमान, मेचे, कोचे, धिमाल, यादव, राजवंशी, ताजपुरिया, दलित आदि जातजातिहरू रहेका छन्। हिन्दू धर्मावलम्बीहरूको बाहुल्य भए तापनि किरात, बौद्ध, इस्लाम, इसाई र प्रकृति धर्मावलम्बीहरू पनि रहेका छन्।
  • यस प्रदेशमा सबैभन्दा धेरै मानिसहरू नेपाली भाषा (४३%) बोल्छन्। अन्य भाषाहरूमा मैथिली, लिम्बु, थारु, मगर, बान्तवा, उर्दु, राजवंशी, गुरुङ, लेप्चा, धिमाल, मेचे आदि पनि बोलिन्छ।
  • यस प्रदेशमा चण्डी नाच, उँधौली-उभौली, दशैँ-तिहार, सिरुवा आदि चाडपर्व मनाइन्छ। पाथिभरा, हलेसी, बराहक्षेत्र, लारुम्बा, बुढासुब्बा यहाँका प्रमुख धार्मिक स्थलहरू हुन्। यहाँका किराँतहरू प्रकृति पूजामा विश्वास गर्छन्।

(च) गण्डकी प्रदेशका मुख्य-मुख्य धार्मिक स्थलहरूको नाम लेखि छोटकरीमा व्याख्या समेत गर्नुहोस्।

उत्तर: गण्डकी प्रदेशका मुख्य-मुख्य धार्मिक स्थलहरू यस प्रकार छन्:

  • मनकामना: गोरखा जिल्लामा पर्ने मनकामना एक प्रसिद्ध धार्मिक स्थल हो। मनको कामना पूरा हुन्छ भन्ने जनआस्थाले नेपालभरिबाट तीर्थालुहरू यहाँ दर्शन गर्न आउने गर्छन्।
  • मुक्तिनाथ: यो मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूका लागि एक महत्त्वपूर्ण तीर्थस्थल हो। यो तीर्थस्थल समुन्द्र सतहदेखि ३,७१० मिटरको उचाइमा मुस्ताङ जिल्लामा अवस्थित छ। यो हिन्दु धर्मका दुर्गम तीर्थस्थलहरू मध्ये एक हो जहाँ पुग्दा मुक्ति प्राप्त हुन्छ भन्ने विश्वास छ।
  • विन्ध्यवासिनी: विन्ध्यवासिनी मन्दिर पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिरहरू मध्ये एक हो। यो मन्दिरले ठूलो सङ्ख्यामा स्थानीयवासी, देशभरका नेपाली र विदेशीहरूलाई समेत आकर्षित गर्दै आएको छ।
  • बाग्लुङ कालिका: बाग्लुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो। यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन्। कालिका भगवतीप्रति विश्वास राखेर पूजापाठ गर्नाले मनोकामना पूरा हुन्छ भन्ने किंवदन्ती रही आएको छ।

यो पनि पढ्नुहोस्

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top