एकाइ १०: अर्थतन्त्र र विकास
पाठ ६: नेपालमा श्रमशक्ति, रोजगारी र उद्यमशीलता
यस पाठमा हामीले नेपालमा श्रमशक्ति, रोजगारी र उद्यमशीलता (Nepalma Shramshakti, Rojgari ra Udyamshilta) को वर्तमान अवस्था, चुनौती र अवसरहरू बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। नेपालको आर्थिक विकासका लागि श्रमशक्तिको सही परिचालन, रोजगारी सिर्जना र उद्यमशीलताको प्रवर्धन अपरिहार्य छ। यसले देशको उत्पादकत्व बढाउन र नागरिकको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।
Nepalma Shramshakti, Rojgari ra Udyamshilta
अभ्यासका विषयहरू
- नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
- यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ। यसमा कसरी सुधार ल्याउन सकिएला?
- ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्।
- ‘हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने?’ शीर्षकमा एक लेख तयार पार्नुहोस्।
- चाणक्य नीतिको भनाइलाई पुष्टि गर्ने एक कथाको दृष्टान्त तयार पार्नुहोस्।
१. नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
उत्तर: नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरू यसप्रकार रहेका छन्:
- विभिन्न क्षेत्रगत नीतिहरूलाई यस नीतिसँग सामञ्जस्यता कायम गरी रोजगारी सिर्जना तर्फ केन्द्रित गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रवर्धन गर्दै सबै नागरिकहरूलाई उत्पादन र प्रतिफलमूलक रोजगारीका अवसरहरू उपलब्ध गराउने।
- अनौपचारिक रोजगार (Informal Employment) लाई क्रमशः औपचारिक पद्धतिमा रूपान्तरण गर्दै रोजगारको गुणस्तरमा सुधार ल्याउने।
- श्रम बजारको आवश्यकताअनुसारको ज्ञान र सीपमा आधारित श्रमशक्ति तयार पार्न उपयुक्त अवसरहरू सिर्जना गर्ने।
- आप्रवासी तथा प्रवासी कामदारको उपयुक्त व्यवस्थापन गर्ने।
- युवालक्षित रोजगारका अवसरहरू सिर्जना गर्न प्राथमिकता दिने।
- अनुसन्धानमा आधारित आधुनिक सूचना प्रणालीको प्रयोग बढाउँदै श्रम बजारलाई सबल बनाउने।
- सुमधुर औद्योगिक श्रम सम्बन्धको विकास गरी रोजगार-मैत्री लगानी (Employment-Friendly Investment) लाई प्रोत्साहन गर्ने।
२. यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ। यसमा कसरी सुधार ल्याउन सकिएला?
उत्तर: नेपालमा रोजगारीका सम्भावनाहरू अथाह भएकाले प्रस्तुत अवस्थामा पक्कै पनि सुधार ल्याउन सकिन्छ। नेपालको रोजगारीको अवस्थामा सुधार ल्याउने उपायहरू यसप्रकार रहेका छन्:
- श्रम बजारको मागबमोजिम सीपमूलक श्रमशक्तिको विकास (Skill-based Labor Development) गर्ने।
- गुणस्तरीय मानव संशाधनको विकास गरी श्रमको उत्पादकत्व वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन उत्पादकको क्रियाशील साधनको रूपमा विकास गर्ने।
- उपलब्ध युवा श्रमशक्तिको उपयोगमार्फत कृषि क्षेत्रमा विद्यमान अनुत्पादक शक्तिलाई उद्योग, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा स्थानान्तरण गर्न सकेमा अर्थतन्त्रको संरचनात्मक परिवर्तन ल्याउने।
- रोजगारी र श्रमको हकको कार्यान्वयन गर्ने।
- उत्पादनशील क्षेत्रमा रोजगारीका अवसर पहिचान र सिर्जना गर्ने।
- प्रमुख गन्तव्य मुलुकसँग द्विपक्षीय श्रम सम्झौता (Bilateral Labor Agreement) गर्ने आदि।
३. ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्।
मेरो सपना
सपना भनेको जीवनको लक्ष्य हो। सपनाविना जीवन अधुरो नै हुन्छ, त्यसैले सपना देख्नु मानिस हुनुको अर्थ हो जस्तो लाग्छ मलाई। हामी धेरै जनाको सपना जीवनमा सुख पाउने र सफल हुने नै हुन्छ। तर, कसरी जीवन सुखी हुन्छ र सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने कुरामा भने ख्याल राख्दैनौँ, जसले गर्दा सपनाहरू अधुरो रहन्छन्। जे होस्, यो सपना भन्ने कुरा उमेर, वातावरण र संगतमा भर पर्ने कुरा रहेछ। सानो छँदा मिठो खाने र राम्रो लाउने सपना थियो, तर ठूलो भएर केही बुझ्ने भएपछि यतिमै सीमित रहेनछ मेरो सपना भन्ने बुझेँ। एउटा सफल र उद्यमशील व्यवसायी हुने मेरो जीवनको लक्ष्य बन्न पुग्यो।
उद्यम भनेको नितान्त नौलो सोचसहितको नौलो किसिमको व्यापार गर्नु हो। परम्परागत रूपमा चलिआएको व्यापारको अनुकरण नगरी नयाँ किसिमको व्यापार गर्नु र ग्राहकहरूलाई त्यस किसिमको व्यापारमा आबद्ध गराउनु हो। त्यसकारण उद्यमीहरूले नयाँ-नयाँ किसिमका व्यापारको खोजी गर्दछन् र त्यो नयाँ व्यापारमा संलग्न हुन सामान्य नागरिकलाई प्रेरित गर्दछन्। उद्यमहरूले समाजलाई गति दिन्छन्, थप रोजगार दिन्छन्, र थप आय सिर्जना गर्छन्।
अतः समाज रूपान्तरणको हिसाबले मैले यस पेशालाई अनुसरण गरेको हुँ। वर्तमान र भविष्यमा पनि मानिसहरूको बेरोजगारीका कारण उत्पन्न हुने समस्यालाई हल गर्ने उद्देश्यले मैले यस पेशाबाट राम्रो नतिजा दिन्छ भन्ने सोचेको छु।
४. ‘हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने?’ शीर्षकमा एक लेख तयार पार्नुहोस्।
हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने?
उद्यमशीलता (Entrepreneurship) को आर्थिक वृद्धिदर बढोत्तरीमा प्रत्यक्ष सकारात्मक सम्बन्ध छ। यी दुईबीचको स्वतः सम्बन्ध दर्शाउने यो अवधारणा अर्थशास्त्रीय अध्ययनमा सम्भवतः सबैभन्दा स्वाभाविक स्वीकृतिको मानिन्छ। नेपालका सन्दर्भमा, हामीले सुरु गरेको उद्यमशीलताले मुलुकको आर्थिक वृद्धि मार्फत समग्र विकासलाई सघाउन सक्यो वा सकेन? यदि सकेको छैन भने त्यसका के कारण होलान्? हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने? यो छोटो आलेखले यिनै कारण केलाउने प्रयास गर्नेछ।
नेपाली उद्यमी व्यवसायीहरूले उपभोक्ताहरू अहिलेसम्म जानकार नभएका नयाँ वस्तु वा सेवाहरू विरलै बजारमा प्रवेश गराउन सकेका छन्। वास्तवमा नेपालको उद्यमशीलता ‘लम्पिङ एन्ड हर्डिङ’ (Limping and Herding) को निरन्तर शिकार भएको छ। आफ्ना खुट्टा सग्लो हुँदाहुँदै पनि अगाडिको मानिस खोच्याएर हिँड्यो भने त्यसरी हिँड्ने र भिड जता दौडिएको छ, बजार सम्भाव्यता अध्ययन नै नगरी त्यतै भेडाको बथानजस्तै दौडिने यो प्रवृत्ति घरेलु वा निर्यात बजार दुवैतर्फ देखियो।
नेपालले आफ्नै अर्धदक्ष, अदक्ष वा परम्परागत सीप भएको जनशक्ति उपयोग हुनसक्ने र ‘ब्याकवार्ड लिङ्क’ भएका वस्तुहरूको पहिचान गर्न अझै सकेको छैन। खर्बौं रुपैयाँको व्यापार घाटालाई सन्तुलनमा ल्याउन केही अर्ब रुपैयाँ मूल्यका हस्तकलाका सामान बेचेर सम्भव छैन। यसबाहेक, राज्यका नीति बनाउने र निजी क्षेत्रका उद्यमी व्यवसायीहरूले उल्लेख्य आकारमा व्यापार र नाफा हुनसक्ने, तुलनात्मक र प्रतिस्पर्धी दुवै लाभ भएका कुनै वस्तु पहिचान गर्न सकेका छैनन्। सम्भावित बजार अध्ययनको चासोसमेत देखाइएको छैन। उद्यमशीलता विकासका लागि अत्यावश्यक सम्भावना, उत्पादन र बजारको ‘इकोसिस्टम’ को पहिचान र परिभाषा सबैभन्दा पहिले अपरिहार्य भएको छ।
नेपाल परम्परागत रूपमै उद्यमशीलता पटक्कै नभएको मुलुक विल्कुलै होइन। खासगरी नेपालका विशिष्ट पहिचान भएका र परम्परागत सीप उपयोग भएका वस्तुहरूकै उत्पादनलाई औद्योगिक मात्रामा उत्पादन, आन्तरिक उपभोग र बाह्य बजार विस्तारमा राज्य र व्यवसायीहरू केन्द्रित हुन सकेको भए हाम्रो भएको श्रमशक्ति व्यर्थ हुने थिएन। त्यही सीपमा आधारित उद्यमशीलता सबैभन्दा सहज हुन्थ्यो। तर, अहिले ठीक उल्टो परिस्थिति निर्माण भएको छ। कृषि, काष्ठ, कपास, धातु, चर्म, संगीत आदि सबै परम्परागत सीप युवापुस्तालाई हस्तान्तरण गरिएको छैन। र, त्यसको सट्टा उद्यम र व्यवसाय गर्न आवश्यक आधुनिक र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न आवश्यक सीप दिन मुलुक असफल भएको छ।
सारमा, परिभाषामा व्यावहारिक प्रष्टता मूल प्रस्थान विन्दु हो। जीविकोपार्जन सहयोग उद्यमशीलता होइन। राज्यका नीतिहरू हाम्रा उत्पादन सम्भाव्यताहरूलाई पहिचान गर्न र आर्थिक कूटनीतिसहितको परिचालनबाट तिनलाई बजारीकरण गर्नमा केन्द्रित हुनुपर्छ। अहिले जस्तो सीप र कच्चा पदार्थ उपलब्ध छ, त्यसैमा आधारित उद्यमशीलताले मात्र लाभ दिन्छ। नयाँ उत्पादन, नयाँ सीप र अरूले ओगटिसकेको बजारमा प्रतिस्पर्धाका कथा आकर्षक हुन सक्छन्, तर ती नेपालका लागि उपयोगी सावित हुन सकेनन्। हुने सम्भावना पनि कम छ।
५. ‘आलस्यं कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, उसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भएपछि निर्धन वा गरिब हुन्छ।“ चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कथाको दृष्टान्त तयार पार्नुहोस्।
अल्छी! (लघु कथा)
“अब त ठूलो भइस्, कुनै कामधन्दा गर बाबु। भविष्यमा काम आउँछ, यसरी हल्लेर के पाउँछस्? छोरा, कमाउने दिन यिनै त हुन्।” आमाले आफ्नो अल्छी छोरालाई बडो प्यारसँग सम्झाउँछिन्। “आमा, हेर्दै रहनुस्, म यो दुनियाँको सबैभन्दा धनी मान्छे बनेर देखाउँछु एकदिन!” भन्दै अल्छीले आमालाई आश्वासन दिन्छ। “खै बा, कहिले आउला त्यो दिन,” भन्दै आमाले गहिरो सास लिन्छिन्।
उनको विचारमा आफू बाँच्दा-बाँच्दै छोरा कतै काम लागे हुन्थ्यो भन्ने आस थियो, तर छोरा भने एक नम्बरको अल्छी थियो। यस्तै दिन बित्दै गए। आफूले अर्कैको काम गरेर त्यो छोरालाई पनि पालेकी थिइन्। तन्नेरी छोरा कतै काम ढंगको नगर्ने, उसलाई कसैले काममा पनि राख्दैनथे। खाली धनी बन्ने सपना देखिराख्थ्यो।
दिन बित्दै गए, आमा पनि छोरालाई एक्लै छाडेर गइन्। अब ऊ कहिले कसैले दिए खाने, नदिए भोकै बस्ने र आफूलाई कष्ट दिनेबाहेक केही गर्थेन भने धनी बन्ने दिव्य सपना देख्थ्यो। एकपटक मुखियाले आफ्ना गाई हेर्ने गोठालो राखेको थियो। दिनभरि बगरमा बसेर धनी बन्ने सपना देखिरह्यो, गाई हराएपछि मुखियाले पनि उसलाई कामबाट हटाएछ।
हिजोआजकै दिनमा श्राद्ध चलेको बेला कसैले भोको देखेर उसलाई एउटा माटाको हाँडीमा खीर खाला बिचरो भनेर हाँडीभरि खीर ल्याएर दिइछन्। अल्छीले खुसी भएर भोक लागेको बेला हतारमा खान थाल्यो, तर खीरको गाँस मुखमा नपुग्दै उसलाई धनी बन्ने सपना याद आयो। उसले अब त्यो खीर खाएन, आफू सुत्ने खाटको माथि निदालमा त्यो खीरको हाँडी झुण्ड्यायो। आफू तल सुतेर हाँडीतिर हेरिरहेको थियो कि उसले सपना देख्न सुरु गर्यो।
“अब यो खीर बजार लगेर दुई रुपैयाँमा बेच्छु, त्यो दुई रुपैयाँको दुईवटा भालेपोथी चल्ला किन्छु, अनि धेरै कुखुराहरू हुन्छन्। सबै कुखुराहरू बेच्छु, अनि त्यो पैसाले बाख्राहरू किन्छु। बाख्राहरूले बथान बढाउँछ, त्यो सबै बाख्रा बिक्री गर्छु र अनि बिहे गर्छु। घोडा किनेर हट् हट् गर्दै मुखिया बाजे जस्तै भलाद्मी बन्छु। बिहे भएपछि मेरा छोराछोरी जन्मिन्छन्, अनि कसैले ‘ए बा यो ले’, कसैले ‘ऊ ले’ भनेर अताउँछन्। त्यसपछि मलाई रिस उठ्छ। यही लौरो उचालेर सबैलाई यस्तै गरी ढाई-ढाई हिर्काउँछु,” भन्दै लौरो हातमा घुमाएको के थियो, खीरको हाँडीमा लागेर त्यो माटाको हाँडी फुट्छ। सबै खीर घोप्टिन्छ भुइँमा। त्यसपछि ऊ, “थुक्क! त्यो खीर खाएको भए त पेट भरिन्थ्यो!” भनेर पछुताउँछ।
यो पनि पढ्नुहोस्
थप जानकारीका लागि आधिकारिक स्रोतहरू:
अन्तर्राष्ट्रिय श्रम संगठन (नेपाल) उद्यमशीलता बारे थप जान्नुहोस्कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us