एकाइ ११: स्वास्थ्य सेवा र सामाजिक विकास
पाठ १: नेपालमा स्वास्थ्य सेवा
यस पाठमा हामीले नेपालमा स्वास्थ्य सेवा (Nepalma Swasthya Sewa) को अवस्था, संवैधानिक हक, र स्वास्थ्य सेवामा पहुँचका चुनौतीहरूबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। स्वस्थ जीवन प्रत्येक नागरिकको मौलिक अधिकार हो र यसको सुनिश्चितताका लागि राज्यको भूमिका महत्त्वपूर्ण हुन्छ।
Nepalma Swasthya Sewa
अभ्यासका विषयहरू
१. नेपालको संविधानको भाग ३, धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस्।
उत्तर: नेपालको संविधानको भाग ३, धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरूको अध्ययनपछिको समीक्षा यसप्रकार रहेको छ:
- प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन।
- प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ।
- प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ।
- प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ।
२. ‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस्।
उत्तर: स्वास्थ्य सेवामा पहुँच भन्नाले नागरिकले स्वास्थ्य सेवा लिन सक्ने र स्वास्थ्यप्रदायक संघसंस्थाले स्वास्थ्य सेवा प्रदान गर्न सक्ने क्षमतालाई बुझाउँछ। यसका साथै, स्वास्थ्य सेवा लिन नागरिकको आर्थिक, सामाजिक, भौगोलिक, स्थानीय तथा राष्ट्रिय रूपमा कत्तिको पहुँच छ भन्ने कुराले स्वास्थ्य सेवामा पहुँचको निर्धारण गर्दछ। नेपालको संविधानको भाग ३ मा मौलिक हक र कर्तव्यको प्रदान गरिएको छ। धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा, उपचारबारे जानकारी, समान पहुँच र स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेबारे उल्लेख छ। यी सब व्यवस्थाका बाबजुद देशमा जनसङ्ख्या यत्रतत्र छरिएर बसेको, सबै ठाउँमा स्वास्थ्य संस्था स्थापना गर्न नसकिएको, आम नागरिकको जीवनस्तरमा उल्लेख्य सुधार आउन नसकेको र केही मानिसमा रूढिवादी र अन्धविश्वासमा परिवर्तन आउन नसकेको आदिका कारण आम नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्न विभिन्न कठिनाइ भोग्नु परेको छ। वर्तमान समयमा देशमा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, र उप-स्वास्थ्य चौकी गरी झन्डै चार हजारभन्दा बढी संस्था सञ्चालनमा छन्, तर तिनको प्रभावकारी सञ्चालन आफैँमा चुनौतीपूर्ण छ। अधिकांश सरकारी अस्पतालको कमजोर व्यवस्थापनका कारण सर्वसाधारण निजी अस्पतालमा महँगो उपचार गराउन बाध्य हुनुपरेको छ। समग्रमा, स्वस्थ जीवन निर्वाहका लागि संविधानले निर्दिष्ट गरेका हकहरूको कार्यान्वयनमा सरकारले थप ध्यान पुऱ्याउनुपर्ने देखिन्छ।
३. ‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ।’ यस परिभाषालाई उदाहरणसहित स्पष्ट पार्नुहोस्।
उत्तर: विश्व स्वास्थ्य सङ्गठन (World Health Organization – WHO) का अनुसार, “रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ।” यस परिभाषामा स्वास्थ्यका शारीरिक, मानसिक र सामाजिक गरी तीनओटा पक्षहरूलाई उल्लेख गरिएको छ।
- शारीरिक स्वास्थ्य भन्नाले मानव शरीरका कुनै पनि अङ्गमा रोग नभएको अवस्थालाई बुझाउँछ। यसले उपयुक्त किसिमको शारीरिक बनावट भएको र शरीरका सबै अङ्गहरूले उपयुक्त रूपमा काम गर्न सकेको अवस्थालाई समेत बुझाउँछ।
- मानसिक स्वास्थ्यले कुनै पनि किसिमको दबाब, तनाव तथा मानसिक रोग नभएको अवस्थालाई बुझाउँछ।
- सामाजिक स्वास्थ्यले मानिसले आफ्नो घर, परिवार, छिमेकी, साथीभाइ, आफन्त, ज्येष्ठ नागरिक, असहाय र अपाङ्गता भएका व्यक्तिसँग गर्ने सामाजिक व्यवहारलाई बुझाउँछ।
उदाहरणका लागि, कुनै व्यक्तिको शरीरमा रोग नहुनु, शारीरिक बनावट र अङ्गहरूले सही तरिकाले काम गर्नु शारीरिक स्वास्थ्य हो। त्यस्तै, तनावमुक्त रहनु र आफ्नो घर, परिवार, र समाजमा राम्रो व्यवहार र घुलमिल गर्न सक्नु क्रमशः मानसिक र सामाजिक स्वास्थ्यको प्रतीक हो।
अतः व्यक्तिहरू स्वस्थ छन् कि छैनन् भन्ने कुरा निम्न पक्षहरूमा पनि निर्भर पर्दछ:
- आय र सामाजिक स्थिति
- सामाजिक समर्थक नेटवर्क
- शिक्षा र साक्षरता
- रोजगार/कामका सर्तहरू
- सामाजिक वातावरणहरू
- शारीरिक वातावरण
- व्यक्तिगत स्वास्थ्य अभ्यास र सामना कौशल
- संस्कृति आदि।
यो पनि पढ्नुहोस्
थप जानकारीका लागि आधिकारिक स्रोतहरू:
विश्व स्वास्थ्य सङ्गठन (WHO) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपालकुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us