एकाइ ८: संविधान र नागरिक सचेतना
पाठ ४: राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षा
यस पाठमा हामीले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षा (Rashtra, Rashtriyata ra Rashtriya Suraksha) को अवधारणा, महत्त्व, र चुनौतीहरू बारे विस्तृत रूपमा अध्ययन गर्नेछौं। राष्ट्रिय सुरक्षा एक बहुआयामिक विषय हो जसले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, र नागरिकको सुरक्षा सुनिश्चित गर्दछ।
Rashtra, Rashtriyata ra Rashtriya Suraksha
अभ्यासका विषयहरू
१. राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस्।
उत्तर: नेपालको वर्तमान संविधान र कानुनले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकतालाई अक्षुण्ण राख्नु तथा व्यक्तिको जिउधन र स्वतन्त्रताको संरक्षण प्रत्याभूत गर्नुलाई राष्ट्रिय सुरक्षा (National Security) भनी उल्लेख गरिएको पाइन्छ। राष्ट्रिय सुरक्षा एक बहुआयामिक विषयवस्तु हो। मुलुकको प्रतिरक्षा मामला, आन्तरिक सुरक्षा, परराष्ट्र मामला, सामाजिक-आर्थिक नीति र विकासको पक्ष बृहत् अर्थमा राष्ट्रिय सुरक्षाका अन्तरवस्तु हुन्। सरकारले आफूमा निहित राजनीतिक, आर्थिक, सैनिक शक्ति तथा कूटनीतिको माध्यमबाट राष्ट्रिय सुरक्षा कायम गरेको हुन्छ।
हार्वर्ड विश्वविद्यालयका अनुसार, नागरिक र समुदायलाई विश्वसनीय तरले आत्मनिर्णय, स्वायत्तता, समृद्धि र सुखको उपभोग गर्न सक्षम तुल्याउने गरी आन्तरिक र बाह्य परिस्थितिलाई नियन्त्रणमा राखिराख्ने राजकीय वा शासकीय क्षमतालाई राष्ट्रिय सुरक्षा व्यवस्था भनी परिभाषित गरिएको पाइन्छ। नेपालको राष्ट्रिय सुरक्षामा रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकाय र प्रशासनिक निकायहरू क्रियाशील रहेका छन्।
२. राष्ट्रियता प्रवर्धन गर्ने उपायहरूको सूची तयार पार्नुहोस्।
उत्तर: राष्ट्रले आफ्नो शासन आफैँ गर्नुपर्छ भन्ने राजनीतिक सिद्धान्त र आन्दोलन राष्ट्रियता (Nationality) हो। राष्ट्रियता प्रभावकारी हुन राष्ट्र दह्रो हुनुपर्छ। राष्ट्र भनेको ‘हामी एउटै समुदायका हौं’ भनेर जनाउने पहिचानात्मक राजनीतिक भावना हो। राष्ट्रियता नागरिकको भावनासँग जोडिएको हुन्छ। सोही भावनालाई व्यवहारमा प्रस्तुत गर्न सके राष्ट्रियताको मूल मर्म अभिव्यक्त हुनेछ।
राष्ट्रियता प्रवर्धन गर्ने उपायहरू निम्नानुसारका छन्:
- स्वदेशमा रोजगारीका अवसर खोज्ने,
- स्वदेशी उत्पादनलाई महत्त्व दिने,
- आफ्ना कला-संस्कृतिको संरक्षण गर्ने,
- विविधताको पहिचान र सम्मान गर्ने,
- विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई देशमा उपयोग गर्ने,
- आफ्नो देशको साँध-सिमानाहरू अरूले मिच्दा आवाज उठाउने।
३. राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन्?
उत्तर: सुरक्षा मामला बहुआयामिक हुनुका साथै यो गतिशील विषय पनि हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा हुने आर्थिक, सामाजिक, सामरिक एवं वातावरणीय परिवर्तनसँगै सुरक्षा चासो र चुनौती परिवर्तनशील हुने गर्दछ। मुख्यत: सुरक्षा चुनौती आन्तरिक र बाह्य स्रोतबाट सिर्जित हुने गरेको पाइन्छ, जसअनुसार राष्ट्रिय सुरक्षामा देहायबमोजिमका चुनौती रहेका छन्:
- जनअपेक्षाबमोजिमको अर्थ-राजनीति मोडेल कार्यान्वयन गरी जनसन्तुष्टि हासिल गर्नु,
- राज्यको शासकीय स्वरूपमा भएको परिवर्तनलाई प्रभावकारी, मितव्ययी र दिगो व्यवस्थापन संस्थागत गर्नु,
- बाध्यकारी राज्यशक्तिको अभ्यास र मानवअधिकार संरक्षणबीच तादात्म्य ल्याउनु,
- सामाजिक-सांस्कृतिक विविधता र धर्मनिरपेक्षता एवं बहुलवादबीच सन्तुलन कायम गर्नु,
- जलवायु परिवर्तन र विपद्का जोखिमको सामना,
- अन्तर्राष्ट्रिय सम्बन्ध र सन्तुलन कायम,
- संगठित अपराधलगायत विभिन्न किसिमका अपराध नियन्त्रण,
- खुला अन्तर्राष्ट्रिय सिमाना वा सीमा व्यवस्थापन,
- आन्तरिक तथा बाह्य बसाइँसराइ र शरणार्थी मामला व्यवस्थापन,
- हातहतियारको उत्पादन तथा ओसारपसार नियन्त्रण,
- प्राकृतिक स्रोतसाधनको दोहनको व्यवस्थापन,
- सामाजिक द्वन्द्व व्यवस्थापन,
- प्रविधि र साइबर अपराध नियन्त्रण,
- अव्यवस्थित सहरीकरण र कमजोर तथा अपर्याप्त पूर्वाधार र सेवा प्रवाह,
- आर्थिक तथा व्यवसायजन्य अपराध नियन्त्रण,
- संविधान, कानुनविरोधी गतिविधि नियन्त्रण।
अन्त्यमा, प्रभावकारी सुरक्षा व्यवस्थाका लागि सुरक्षा चासो र आर्थिक-सामाजिक विकासको नेक्सस (Nexus) लाई राम्ररी बुझ्नु जरुरी हुन्छ। एक आदर्श राष्ट्रिय सुरक्षा व्यवस्थापनका लागि सुशासनको सुदृढीकरण, जनताको जीवनस्तरमा सुधार, आर्थिक विकास, सुरक्षा संयन्त्रको क्षमता अभिवृद्धि, र राष्ट्रभक्ति र जनसेवासम्बन्धी सचेतना र शिक्षाको प्रवर्धन गर्नु अत्यन्त जरुरी हुन्छ।
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us