class 11 Social Unit 8-Chapter 3 | नेपालमा निर्वाचन प्रणाली (Nepalma Nirvachan Pranali)-संविधान र नागरिक सचेतना
An overview of Nepalma Nirvachan Pranali (Election System in Nepal) notes for NEB class 11 Social Studies

एकाइ ८: संविधान र नागरिक सचेतना

पाठ ३: नेपालमा निर्वाचन प्रणाली

यस पाठमा हामीले नेपालमा निर्वाचन प्रणाली (Nepalma Nirvachan Pranali) का विभिन्न पक्षहरूको बारेमा विस्तृत रूपमा अध्ययन गर्नेछौँ। नेपालमा अभ्यास गरिने पहिलो हुने निर्वाचित हुने (First Past the Post)समानुपातिक (Proportional Representation) निर्वाचन पद्धतिको विशेषता, भिन्नता, र महत्त्वबारे जानकारी हासिल गर्नेछौँ।

Nepalma Nirvachan Pranali

१. पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धतिको वर्णन गर्नुहोस्।

उत्तर: पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धति (First Past the Post – FPTP) अनुसार सदर मतको पूर्ण बहुमत नभए पनि अरूभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुन्छन्। यो प्रणाली एक सदस्यीय निर्वाचन क्षेत्रमा लागु हुन्छ। नेपालको प्रतिनिधि सभा २७५ सिटको हुन्छ, जसमध्ये १६५ स्थानको र प्रदेश सभाका लागि कुल सदस्यको ६० प्रतिशत स्थानको चुनाव यसै पद्धतिबाट गरिन्छ। साथै, स्थानीय तहको निर्वाचन पनि यसै निर्वाचन प्रणालीबाट गरिन्छ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा मतदाता र उम्मेदवार सँगसँगै रहन्छन्। उम्मेदवारले मतदाताको मन जितेर मात्र मत लिन सक्छन्। जितेको प्रतिनिधि मतदातासँग प्रत्यक्ष उत्तरदायी र जवाफदेही रहन्छ। मतदाता आफ्नो प्रतिनिधि छनोट गर्न स्वतन्त्र हुन्छन्। यस पद्धतिले मतदाताको चेतना र विश्लेषण गर्ने राजनीतिक क्षमता बढाउन सहयोग पुऱ्याउँछ।

यस पद्धतिका विशेषताहरू यसप्रकार छन्:

  • मतदान एवम् मतगणना गर्न सजिलो र सरल।
  • उम्मेदवार र मतदाताको बिचमा प्रत्यक्ष सम्बन्ध रहने।
  • बहुमत ल्याएपछि सरकार चलाउन वैधानिकता प्राप्त हुने।
  • स्वतन्त्र उम्मेदवारले पनि निर्वाचनमा भाग लिन पाउने।
  • क्षेत्रीय र स्थानीय राजनीतिक दलहरूले पनि शासन सत्तामा सहभागी हुन सक्ने।
  • एउटा दलले बहुमत ल्याएपछि स्थिर सरकार बन्न सक्ने।

२. समानुपातिक निर्वाचन पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस्।

उत्तर: सम्पूर्ण देशलाई नै एक निर्वाचन क्षेत्र मानी राजनीतिक दलहरूले पाएको मत प्रतिशतको अनुपातमा सदस्यहरू विजयी भएको घोषणा गर्ने र सोही बमोजिम शासन सञ्चालनमा राजनीतिक दलहरूको सहभागिता रहने शासन पद्धति नै समानुपातिक निर्वाचन पद्धति (Proportional Representation – PR) हो। लोकतन्त्रमा बहुमतले शासन गर्ने भए पनि अल्पमतको कदर गर्नुपर्छ भन्ने जे. एस. मिलको धारणा अनुसार समानुपातिक प्रतिनिधित्वको सिद्धान्त विकास भएको हो।

यस पद्धतिका विशेषताहरू यसप्रकार छन्:

  • सम्पूर्ण देश वा प्रदेशलाई नै एक निर्वाचन क्षेत्र मानिन्छ।
  • बहुसदस्यीय निर्वाचन क्षेत्र हुनुपर्छ।
  • उम्मेदवारले निर्वाचित हुनका लागि निर्धारित कोटा (थ्रेसहोल्ड) अनुसारको मत प्राप्त गर्नुपर्छ। नेपालमा सङ्घीय प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशतको थ्रेसहोल्ड राखिएको छ।
  • लक्षित वर्ग र समुदायको प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्दछ, जसले विविधताको व्यवस्थापनमा सघाउँछ।
  • मतदाताको मत खेर जाँदैन; सबै मतको उचित मूल्याङ्कन हुन्छ।
  • निर्वाचित प्रतिनिधिमा निर्वाचन क्षेत्रगत भावना हटी राष्ट्रिय भावनाको विकास हुन्छ।
  • चुनाव जित्न गरिने अनियमितता, धाँधली र पैसा खर्च गर्ने प्रवृत्ति निरुत्साहित हुन्छ।
  • अल्पमतको उचित प्रतिनिधित्व गराउँछ।
  • व्यक्तिगत खर्च कम हुने र उपनिर्वाचनको आवश्यकता नपर्ने भएकाले मितव्ययी प्रणाली हो।
  • द्वन्द्व व्यवस्थापन गर्न सजिलो हुन्छ।

३. पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।

उत्तर: पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबिचका समानता र भिन्नताहरू निम्न छन्:

समानताहरू:

  • यी दुवै निर्वाचन प्रणालीका किसिमहरू हुन्।
  • दुवै प्रणालीमा सहभागी हुन १८ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्छ।
  • दुवै प्रणालीले आम निर्वाचनमा दिइएका मतहरूलाई दल र उम्मेदवारहरूले जितेका स्थानमा रूपान्तरण गर्दछन्।
  • यी दुवै सरल र सजिलै बुझ्न सकिने निर्वाचन प्रणाली हुन्।

भिन्नताहरू:

पहिलो हुने निर्वाचित हुने प्रणाली समानुपातिक निर्वाचन प्रणाली
निर्वाचन क्षेत्रको सीमा निर्धारण गर्नुपर्ने। निर्वाचन क्षेत्र सीमांकन आवश्यक नभएको।
सबल भौगोलिक प्रतिनिधित्व हुन्छ। भौगोलिक प्रतिनिधित्व तुलनात्मक रूपमा कमजोर हुन्छ।
धेरै मतहरू खेर जाने सम्भावना हुन्छ। थोरै मत खेर जान्छ; मतको सदुपयोग बढी हुन्छ।
अल्पसङ्ख्यक र साना दलहरूको प्रतिनिधित्व नहुन सक्छ। अल्पसङ्ख्यक दलहरूलाई समावेश गर्दछ।
जवाफदेहिता कार्यान्वयन गर्न सहज हुन्छ। प्रत्यक्ष जवाफदेहिताको अभाव हुन सक्छ।
संसदीय प्रणालीमा बहुमतको सरकार गठन हुने बढी सम्भावना। संसदीय प्रणालीमा गठबन्धन वा अल्पमतको सरकारको सम्भावना।
प्रायः उपनिर्वाचनको आवश्यकता पर्ने। उपनिर्वाचन गर्ने आवश्यकता नहुने।

४. प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्छ भन्ने मागबारे आफ्नो विचार लेख्नुहोस्।

उत्तर: नेपाली जो जहाँ गएर बसे पनि मतदान गर्न पाउनु उसको नैसर्गिक अधिकार हो। निर्वाचनमा मतदान गर्न पाउने अधिकार नागरिकको आधारभूत मानव अधिकार तथा संवैधानिक अधिकारसमेत हो। निर्वाचनमा सबै नागरिकको समान अवसरसहित वास्तविक भावना र इच्छासमेतलाई प्रतिनिधित्व गर्नका लागि वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई मुलुक बाहिरबाटै सबै तहको निर्वाचनमा मतदान गर्ने अवसर प्रदान गर्नुपर्छ।

विदेशमा रहेका नागरिकले पठाएको पैसा (रेमिट्यान्स) बाट राज्यले फाइदा लिने तर तिनै नागरिक मुलुकबाहिर रहेका कारण मतदानको अधिकारबाट वञ्चित गर्नु न्यायको दृष्टिकोणले उपयुक्त हुँदैन। केही विकसित राष्ट्रले विदेशमा बस्ने आफ्ना नागरिकलाई धेरै पहिलेदेखि यो अधिकार दिलाएका हुन्। लोकतन्त्रमा हरेक नागरिकले मतदान गर्न पाउनु उसको अधिकार हो।

यद्यपि, मतदान कसरी गराउने भन्ने विषय चुनौतीपूर्ण छ। सम्बन्धित देशमा भएका सबै नेपाली एकैठाउँमा भेला भएर मतदान गर्न सम्भव हुँदैन। ठाउँठाउँमा मतदानको व्यवस्था गर्दा हुने खर्च कसरी व्यवस्थापन गर्ने, मतपत्र कसरी पुऱ्याउने, र सम्बन्धित देशको स्थानीय सरकारसँग कसरी समन्वय गर्ने जस्ता प्रश्नहरू छन्। यी यावत् समस्याहरूको समाधानका लागि एउटा विज्ञ समूह बनाएर यसको अध्ययन-अनुसन्धान गर्नु उचित हुनेछ।

अन्त्यमा, प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउँदा उनीहरूलाई मातृभूमिप्रतिको माया मात्र नभई अपनत्वसमेत बढ्छ। त्यसैले यसका लागि सरकारले तत्कालै केही पहलकदमी चाल्न आवश्यक छ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top