class 11 Social Unit 11-Chapter 2 | आधुनिक र परम्परागत स्वास्थ्य सेवा पद्धति (Aadhunik ra Paramparagat Swasthya Sewa Paddhati)-स्वास्थ्य सेवा र सामाजिक विकास
An overview of Aadhunik ra Paramparagat Swasthya Sewa Paddhati notes for NEB class 11 Social Studies

एकाइ ११: स्वास्थ्य सेवा र सामाजिक विकास

पाठ २: आधुनिक र परम्परागत स्वास्थ्य सेवा पद्धति

यस पाठमा हामीले आधुनिक र परम्परागत स्वास्थ्य सेवा पद्धति (Aadhunik ra Paramparagat Swasthya Sewa Paddhati) बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। यसले नेपालमा प्रचलित विभिन्न चिकित्सा विधिहरू जस्तै आयुर्वेदिक, होमियोप्याथी, र प्राकृतिक चिकित्साका विशेषता र महत्त्वलाई उजागर गर्दछ। यी पद्धतिहरूले कसरी हाम्रो स्वास्थ्यलाई समग्र रूपमा हेर्छन् भन्ने कुरा बुझ्न यो पाठ सहयोगी हुनेछ।

Aadhunik ra Paramparagat Swasthya Sewa Paddhati

१. आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस्।

उत्तर: आयुर्वेद चिकित्सा पद्धति एक उत्कृष्ट उपचार विधि हो। यसलाई प्राचीन चिकित्सा पद्धतिको रूपमा समेत लिइन्छ। तसर्थ, आयुर्वेद चिकित्सा विज्ञान मात्र नभएर समस्त मानव जातिलाई स्वस्थ, सुखी र सामाजिक जीवनयापन गर्नका लागि मार्गदर्शन गर्ने विज्ञान हो।

आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू यसप्रकार रहेका छन्:

  • दीर्घरोगीहरू, जीवनशैलीगत रोगहरू र नसर्ने रोगहरूको व्यवस्थापनमा सहयोगी सिद्ध हुने।
  • जडीबुटीहरूबाट बनेको औषधि आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुने भएकोले यसको दुष्प्रभाव (Side Effect) कम हुन्छ।
  • स्थानीय स्तरमा उपलब्ध जडीबुटीबाट उपचार गर्न सकिने हुनाले कम खर्चिलो र बढी प्रभावकारी हुने।
  • प्रकृतिबाट प्राप्त जडीबुटी नै प्रयोग हुने हुँदा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्ने र वातावरणमैत्री हुने।
  • यो पद्धतिले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। साथै, फेरि रोग लाग्ने सम्भावना कम हुन्छ।
  • शरीरको पूर्ण रूपमा (शारीरिक तथा मानसिक दुवै हिसाबले) शुद्धीकरण हुने भएकाले नयाँ ऊर्जा प्राप्त हुन्छ।
  • पाचन क्षमता वृद्धि गर्नुका साथै इन्द्रियको कार्यक्षमतामा समेत अभिवृद्धि हुन्छ।
  • स्मरणशक्तिमा सुधार हुन्छ। त्यस्तै, यौन स्वास्थ्य तथा क्षमताको पनि विकास हुन्छ।
  • अन्य उपचार प्रणालीबाट निको नभएका जटिल रोग सजिलै निको पार्न सकिन्छ।

२. होमियोप्याथी कस्तो चिकित्सा पद्धति हो?

उत्तर: होमियोप्याथिक (Homeopathy) चिकित्सा प्रणाली विश्वका चिकित्सा प्रणालीहरू मध्ये एक पद्धति हो। सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक श्यामुएल हनिम्यानले प्रतिपादन गरेपछि होमियोप्याथिक उपचार पद्धति संसारभर प्रचलनमा आएको हो।

विशेषगरी दीर्घ रोगको उपचारमा यो पद्धति लाभदायक हुने चिकित्सकहरू बताउँछन्। होमियोप्याथिक उपचार जर्मनीबाट सुरु भई ब्रिटेन, फ्रान्स हुँदै भारतमा आएको थियो। त्यसपछि भारत हुँदै पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र नेपाल भित्रिएको हो। नेपालमा यो पद्धति राणाकालमै भित्रिए पनि सरकारी स्तरमा वि.सं. २०१० मा मात्र सुरुवात भएको हो। होमियोप्याथिक उपचार पद्धतिअनुसार ज्वरो, ग्यास्ट्रिक, दम, एलर्जी, पाइल्स, पत्थरी, पिनास, बाथ र हातखुट्टा पोल्ने र झमझमाउने जस्ता रोगको प्रभावकारी उपचार हुने एकमात्र सरकारी स्वामित्वको पशुपति होमियोप्याथिक चिकित्सालयका डा. प्रेमनारायण श्रीवास्तवले बताए। होमियोप्याथिक चिकित्सामा आकस्मिक सेवाभन्दा पुरानो अर्थात् दीर्घ रोगको उपचार हुने गर्दछ।

३. प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस्।

उत्तर: औषधिको सेवन नगरी उपचार गरिने विधि नै योग तथा प्राकृतिक चिकित्सा (Naturopathy) पद्धति हो। यो चिकित्सा पद्धति पञ्चमहाभूतमा आधारित छ। यस पद्धतिमा पृथ्वी, जल, तेज, वायु र आकाशमा आधारित प्राकृतिक रूपमा पाइने वस्तुहरूको सम्मिश्रणबाट रोगको उपचार गर्ने गरिन्छ। यस चिकित्सा पद्धतिमा योग तथा ध्यान, मालिस, अकुपन्चर, अकुप्रेसर, जल तथा मृत्तिका (माटो) उपचार पद्धति, उपवास, शारीरिक कसरत, भोजन परामर्श लगायतका विभिन्न विधिद्वारा रोगको उपचार गरिन्छ। यस पद्धतिले रोगी व्यक्तिलाई निरोगी र निरोगीलाई दीर्घजीवी बनाउँछ।

प्राकृतिक उपचार पद्धतिका विशेषताहरू निम्नानुसार रहेका छन्:

  • सबै रोगहरू, त्यसका कारण र उपचार एउटै हो। दुखाइ र पर्यावरणीय स्थितिलाई छोडेर, सबै रोगहरूका कारण एउटै हुन् जबकि शरीरमा रुग्णताकारक पदार्थहरूको सञ्चय हुनु हो। सबै रोगहरूको उपचार शरीरबाट रुग्णताकारक पदार्थको उन्मूलन हो।
  • रोगको प्राथमिक कारण रुग्णताकारक पदार्थको सञ्चय हुनु हो। ब्याक्टेरिया र भाइरस शरीरमा प्रवेश गरी तबसम्म जीवित रहन्छन् जबसम्म रुग्णताकारक पदार्थको सञ्चय भइरहन्छ र त्यसका विकासका लागि एउटा अनुकूल वातावरण शरीरमा स्थापित भएको हुन्छ। अतः रोगको मूल कारण रुग्णताकारक पदार्थ हो र ब्याक्टेरिया दोस्रो कारण हो।
  • गम्भीर बिमारीहरू शरीरद्वारा आत्म-चिकित्साको प्रयास हुन्। अतः ती हाम्रा मित्र हुन्, शत्रु होइनन्। पुरानो रोग, गम्भीर बिमारीहरूको गलत उपचार र दमनको परिणाम हो।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top