Ultimate Guide to Paryatan Udyog (पर्यटन उद्योग) | Class 10 Social Notes
An overview of Paryatan Udyog notes for SEE Class 10 Social Studies

एकाइ ८: आर्थिक क्रियाकलाप (Aarthik Kriyakalap)

पाठ २: पर्यटन उद्योग (Paryatan Udyog)

१. पर्यटन उद्योग (Paryatan Udyog) भनेको के हो? यसको महत्त्व चर्चा गर्नुहोस्।

उत्तर: तीर्थाटन, दृश्यावलोकन, पर्वतारोहण, मनोरञ्जन, अध्ययन अनुसन्धान आदि विभिन्न उद्देश्य राखेर एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने कार्य पर्यटन हो भने पर्यटकलाई विभिन्न किसिमका सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालित सबै व्यवसायलाई पर्यटन उद्योग (Paryatan Udyog) भनिन्छ। पर्यटक पथप्रदर्शक, आवास र खानपिनको लागि होटल तथा होमस्टेको व्यवस्था, यातायातको प्रबन्ध, दृश्यावलोकन गराउने, पदयात्रा आदि क्रियाकलाप पर्यटन उद्योगअन्तर्गत पर्दछन्। नेपालमा पर्यटन उद्योगको महत्त्व दिनदिनै बढिरहेको छ। यो राष्ट्र विकासको महत्त्वपूर्ण आधार पनि हो। कुल ग्राहस्थ उत्पादनमा करिब दश प्रतिशत योगदान पर्यटन उद्योगको रहेको छ। पर्यटन उद्योगबाट देशलाई आर्थिक समृद्धिको बाटोमा डोऱ्याउन सकिन्छ। पर्यटन उद्योगको महत्त्वलाई बुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ :-

  • रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन: यसले स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्छ र विदेशी मुद्रा भित्र्याएर राष्ट्रिय आय बढाउँछ।
  • देशको आम्दानीमा वृद्धि: पर्यटकहरूले गर्ने खर्चले देशको समग्र आर्थिक क्रियाकलापलाई चलायमान बनाउँछ।
  • घरेलु तथा साना उद्योगको विकास: हस्तकला, स्थानीय उत्पादनहरूले बजार पाउँछन्, जसले साना उद्योगहरूलाई प्रोत्साहन मिल्छ।
  • व्यापार तथा कला संस्कृतिको प्रवर्द्धन: स्थानीय कला, संस्कृति र परम्पराले अन्तर्राष्ट्रिय स्तरमा पहिचान पाउँछ।
  • ग्रामीण क्षेत्रमा रहेका परम्परागत उत्पादनको प्रचारप्रसार र विकास: गाउँघरका मौलिक उत्पादनहरूले बजार पाउँछन्।
  • कृषिजन्य उत्पादनको व्यवसायीकरण: स्थानीय कृषि उत्पादनले होटल र रेस्टुरेन्टमा बजार पाउँदा कृषिको व्यवसायीकरणमा मद्दत पुग्छ।
  • विश्वमा राष्ट्रको प्रचारप्रसार: पर्यटनले नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई विश्वसामु चिनाउँछ।

२. नेपालमा साहसिक पर्यटनको कस्तो सम्भावना रहेको छ? उल्लेख गर्नुहोस्।

उत्तर: ¥याफ्टिङ, प्याराग्लाइडिङ, हिमाल आरोहण, बन्जिजम्प, जिपलाइन, माउन्टेन फ्लाइट, पदयात्रा आदि जस्ता साहसिक कार्यका लागि हुने पर्यटनलाई साहसिक पर्यटन भनिन्छ। नेपाल साहसिक पर्यटनका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा रहेको छ। यहाँ पर्वतारोहण र पदयात्राका लागि विश्वकै सर्वोच्च शिखरहरू र अन्नपूर्ण लगायतका पदमार्ग रहेका छन्। पदमार्गका लागि त नेपाल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ। त्यस्तै सुनकोसी, त्रिशूली, कर्णाली लगायतका नदीहरू ¥याफ्टिङका लागि प्रख्यात मानिन्छन्। नेपाल प्याराग्लाइडिङ, बन्जिजम्प, जिपलाइन, माउन्टेन फ्लाइट जस्ता थुप्रै साहसिक पर्यटनको सम्भावना रहेको मुलुक हो। तसर्थ, नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको छ।

३. नेपालमा पर्यटन प्रवर्द्धनका उपाय उल्लेख गर्नुहोस्।

उत्तर: नेपालमा पर्यटन प्रवर्द्धनका लागि निम्नलिखित उपाय अवलम्बन गर्नु उपयुक्त हुन्छ :-

  • पर्यटकीय स्थलको खोजी: नयाँ पर्यटकीय स्थलको खोजी, प्रवर्द्धन र आवश्यक पूर्वाधारको विकास गर्नुपर्दछ।
  • शान्ति र सुरक्षा: पर्यटकको आकर्षण र सुरक्षाका लागि राजनीतिक स्थिरता र शान्तिको वातावरण कायम हुनुपर्दछ।
  • प्रचारप्रसार: पर्यटकीय स्थलको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्नुपर्दछ।
  • सम्पदा संरक्षण: प्राकृतिक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र संवर्द्धनमा विशेष ध्यान दिनुपर्दछ।
  • सरल आगमन प्रक्रिया: पर्यटकको आगमन प्रक्रिया (जस्तै: भिसा) लाई सरल र सुलभ बनाउनुपर्दछ।
  • लगानी प्रोत्साहन: पर्यटन उद्योगको विकासका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्दछ।

४. तपाईंको विचारमा नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न कस्ता कदमहरू चालिनुपर्छ? बुँदागत रूपमा टिपोट गर्नुहोस्।

उत्तर: नेपालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न निम्न कदम चाल्नुपर्दछ :-

  • पर्यटकीय स्थलको व्यापक रूपमा प्रचारप्रसार गर्नुपर्दछ।
  • मौलिक कला संस्कृतिको संरक्षण, संवर्द्धन गर्नुपर्दछ।
  • पर्यटकलाई आवश्यक पर्ने सम्पूर्ण सेवा सुविधा र सुरक्षाको सुनिश्चितता गर्नुपर्दछ।
  • साहसिक पर्यटन, प्राकृतिक स्थलहरू, धार्मिक स्थलहरू र ऐतिहासिक स्थलहरूमा आवश्यक पर्ने पूर्वाधारको विकास गरी प्रचारप्रसार गर्नुपर्दछ।
  • बाह्य पर्यटक आगमनका लागि भिसा प्रक्रिया सरल बनाउनुपर्दछ र आन्तरिक पर्यटन अभिवृद्धिका लागि कर्मचारीलाई पर्यटन भत्ताको व्यवस्था गर्नुपर्दछ।

५. पर्यटकको आगमनले पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभाव उल्लेख गर्नुहोस्।

उत्तर: पर्यटकको आगमनले पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभावहरू निम्न छन्:

सकारात्मक प्रभावहरू:

  • पर्यटकका राम्रा कुराको सिको गर्न सकिने।
  • सामाजिक विकृति र विसङ्गति क्रमशः न्यूनीकरण हुने।
  • रोजगारीका सम्भावना बढ्ने।
  • आर्थिक क्षेत्र चलायमान हुने र राष्ट्रिय आयमा वृद्धि हुने।
  • मौलिक कला, संस्कृतिको संरक्षण हुने।

नकारात्मक प्रभावहरू:

  • पर्यटकका गतिविधि नियन्त्रण गर्न नसकिए विभिन्न विकृति भित्रिन सक्ने।
  • फोहोरहरूको व्यवस्थापन कठिन हुन सक्ने।
  • लागु औषध दुर्व्यसन मौलाउन सक्ने।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top