एकाइ ८: संविधान र नागरिक सचेतना (Sambidhan ra Nagarik Sachetana)
पाठ ७: सदाचार र सामाजिक जवाफदेही (Sadachar ra Samajik Jawafdehi)
यस पाठमा हामी सदाचार (Integrity) र सामाजिक जवाफदेही (Social Accountability) को अवधारणा, यसको महत्व, र सार्वजनिक जीवनमा यसको आवश्यकता बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। कुनै पनि समाज र राष्ट्रको सुशासन र विकासका लागि सदाचार र जवाफदेही अपरिहार्य हुन्छ।
अभ्यास
१. तलका प्रश्नका उत्तर दिनुहोस् :
(क) सदाचार भनेको के हो ? सदाचार हुँदा हुने फाइदाहरूको सूची तयार पार्नुहोस्।
उत्तर: सदाचार (Integrity) भन्नाले असल आचरण वा सद्व्यवहार हो। यो त्यस्ता नैतिक सिद्धान्तहरूको समष्टि हो, जसले व्यक्तिको व्यवहार, क्रियाकलाप, र चालचलनलाई निर्देशित गर्दछ। सदाचारले परिवार, समाज, राष्ट्र र विश्व परिवेशमा शान्ति, सहकार्य, विकास र सुशासनको वातावरण सिर्जना गर्छ।
सदाचार हुँदा हुने फाइदाहरू यस प्रकार छन्:
- व्यक्तिमा आत्म-नियन्त्रण र उत्प्रेरणा वृद्धि गर्छ।
- सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष र पारदर्शी बनाउँछ।
- सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरवाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्छ।
- सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवाप्रतिको विश्वास अभिवृद्धि गर्छ।
- सरकारी काम-कारबाहीलाई छिटो, छरितो र प्रभावकारी बनाउन सघाउँछ।
- महत्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम तथा संरक्षण गराउँछ।
- सुशासन (Good Governance) कायम गर्न मद्दत गर्दछ।
(ख) सार्वजनिक पदमा बसेको व्यक्ति सदाचारी भएन भने के के समस्या आइपर्न सक्छन्? बुँदागतरूपमा उल्लेख गर्नुहोस्।
उत्तर: सार्वजनिक पदमा बसेको व्यक्ति सदाचारी भएन भने निम्न समस्याहरू देखा पर्न सक्छन्:
- सेवा प्रवाहमा ढिलासुस्ती र भ्रष्टाचार बढ्छ, जसले गर्दा जनताले सुलभ र समयमै सेवा पाउन सक्दैनन्।
- राष्ट्रिय सम्पत्तिको दुरुपयोग हुन्छ र विकास निर्माणका कार्यहरूमा अवरोध आउँछ।
- काममा पारदर्शिताको कमी हुन्छ र निर्णय प्रक्रियाहरू अपारदर्शी हुन्छन्, जसले गर्दा जनताले अनावश्यक दुःख पाउँछन्।
- सरकार र सार्वजनिक निकायहरूप्रतिको जनविश्वास गुम्छ र नागरिक-राज्य सम्बन्ध कमजोर हुन्छ।
- कानुनको शासनको उपहास हुन्छ र दण्डहीनताले प्रश्रय पाउँछ।
(ग) सामाजिक जवाफदेहीको अवधारणा कसरी विकास हुँदै आएको छ? उल्लेख गर्नुहोस्।
उत्तर: ल्याटिन शब्द ‘to count’ (गन्नु) बाट ‘account’ (हिसाब) शब्द बनेको हो, जसबाट पछि हिसाब वा लेखाजोखासम्बन्धी विषयलाई ‘accountability’ (जवाफदेही) भन्न थालियो।
जवाफदेहीको पहिलो प्रयोग सन् १०६६ तिर बेलायतका राजा विलियम प्रथमको शासनकालमा भएको मानिन्छ। राजा विलियमले सम्पत्ति संरक्षणका लागि हिसाब राख्न लेखापाल नियुक्त गरेका थिए, जसले समय-समयमा राजालाई सम्पत्तिको विवरण बुझाउनुपर्थ्यो। सुरुमा सम्पत्ति र करको अभिलेखमा मात्र सीमित यो अवधारणा पछि शासकीय पक्षको राम्रो-नराम्रो पक्षको हिसाब-किताबको रूपमा पनि विकास भयो। बाह्रौँ शताब्दीदेखि सरकारले राज्यको स्रोत, साधन र शक्तिको प्रयोग संसदीय अनुमोदनअनुसार छ वा छैन भनी परीक्षण गर्न थाल्यो।
यसरी आर्थिक हिसाबकिताबको वैधताबाट सुरु भएको जवाफदेही शब्दको प्रयोग पछि गएर सार्वजनिक संस्था र त्यहाँ कार्यरत अधिकारीहरूको कार्यसम्पादन, नतिजा, नैतिक आचरण, र सदाचारजस्ता पक्षहरूसँग पनि जोडियो। आधुनिक लोकतन्त्रमा नागरिकहरूद्वारा प्रत्यक्ष जवाफदेही (Direct Accountability) को माग हुन थालेको छ, जहाँ जनसहभागितालाई अति आवश्यक ठानिन्छ। सेवाग्राही वा सरोकारवालाहरू आफैँ सरकारका निर्णय र कामबारे प्रश्न उठाउन र आश्वस्त हुन चाहन्छन्। यही अवधारणालाई आजभोलि सामाजिक जवाफदेही (Social Accountability) भनिन्छ। सहकार्य, संवाद र सहभागिताबाट नै सर्वसाधारणको विश्वास जित्न सकिन्छ भन्ने मान्यता सामाजिक जवाफदेहीले स्थापित गरेको छ।
अर्को एकाइ:
यो पनि पढ्नुहोस्
बाह्य स्रोतहरू (External Resources)
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us