सुनाइ पाठ (Sunai Path)
कक्षा १० नेपाली विषयका सम्पूर्ण सुनाइ पाठ विस्तृत व्याख्या, सारांश र परीक्षाका लागि महत्त्वपूर्ण बुँदाहरू
सुनाइ पाठहरूको सूची
सुनाइ पाठ १: नेपाल सर्वोपरि
रातो बन्छ चुली बिहान रविको झुल्का परी झल्मल
भाले बास्छ विहान डाक्छ वनमा पाक्छन् मिठा काफल
दिन्छन् अमृत गीतको लयसँगै झर्नाहरूले जल
सुन्दा कोकिल कण्ठको मधुरता बढ्दो छ ऊर्जा बल ।
हात्ती बाघ बँदेल आदि बनका उम्दा कलाकार छन्
भाषा, जाति अनेक गुम्फित भई अहा ! माला अलङ्कार छन्
पाखा भीर र फाँट रम्य सब छन् ऐश्वर्यका खेत छन्
हामी एक हुने अनेक थरिका सद्भावका चेत छन् ।
सुनाइ पाठ २: मेलमिलापको फल
एक दिन सुनैसुनले बनेको चरो उड्दै आएछ र हत्केलामा बसेछ । सुनको चरी देखेर हत्केलालाई लोभ लागेछ । उसले तुरुन्त पाँच भाइ औंलालाई मुठी कसेर बस्न र चरालाई थिच्न आदेश दिएछ । पाँचओटै औंलाले चरो थिचेछन् । चरो निकै बलियो रहेछ । उनीहरूलाई थिचिरहन निकै गाह्रो भएछ । बुढीऔंलाले म बुढो भएँ थिच्न सक्दिन भनेछ । हत्केलाले होइन होइन तँ बुढो भएको छैनस् थिचिराख भनेछ । चोरऔंलाले मलाई चोर भनेको होइन, चोरले यो काम किन गर्नु भनेछ । हत्केलाले होइन बाबु तँ चोर होइनस् । चरो उड्ला, थिचिराख भनेछ । माहिलीऔंलाले मलाई किन अग्लो र नराम्रो भनेको त, थिच्दिनँ भनेर निहुँ खोजेछ । हत्केलाले हत्त न पत्त भनेछ, होइन तँ नराम्रो छैनस् । अग्लो हुनु पनि कहिलेकाहीँ फाइदै हुन्छ, राम्ररी थिच् । त्यसपछि साहिँलीऔंलाले म नामै नभएको छोराको के काम ? चरो उडेर गए जाओस् । म त थिच्दिनँ भनेर निहुँ खोजेछ । उसलाई पनि फकाउँदै हत्केलाले भनेछ, “त्यसो नभन् बाबु चरो उड्यो भने त बरबाद भइहाल्छ नि । अबदेखि तँलाई नाम नभएको कहिल्यै भन्दिनँ । राम्रो नाम भएको छोरो होस् ।” अन्तिममा कान्छीऔंलाले भनेछ, “म त झन् सानो र दुब्लो, कुनै हैसियत नभएको मैले चरो कसरी थिच्नु ? म त फुत्किएर छुट्टै बस्छु ।” कान्छी औंलाको कुरा सुनेर हत्केलाले आत्तिदै भनेछ, “त्यसो नभन् कान्छा, छुट्टिस् भने त चरो छेउबाट उडेर भागिहाल्छ नि । फेरि यस्तो चरो कहाँ पाइन्छ र ?” हत्केलाको अनुरोधपछि पाँचओटै औंलाले सुनको चरो मुठीभित्र पक्रेर राखेको राख्यै गरेछन्। उनीहरूको बल र सहयोगबाट हत्केलाले धेरै पैसामा चरो बेचेछ । त्यो दिनदेखि हत्केलो र औंला नजिक नजिक बस्न थालेछन् र सबैलाई मिलेर बस्दाको फाइदा बताएछन् ।
सुनाइ पाठ ३: इमानसिंह चेमजोङ
भाषा संस्कृतिको खोज अनुसन्धान गरेर लुप्त हुनै लागेको जातीय अस्तित्वलाई पुनर्जागृत गर्न इमानपूर्वक आजीवन समर्पित हुने एक महान् व्यक्ति हुन्, इमानसिंह चेमजोङ। उनको जन्म दार्जिलिङको कालेबुङमा सन् १९०४ जनवरी १ तारिखका दिन भएको थियो। आफ्नो जाति र भाषा जब विकासको गतिमा पछि परेको देखेपछि तब उनी किराँत भाषा संस्कृतिको संरक्षण र विकास गर्नेतर्फ आकर्षित भए । उनले आफ्ना बुबाबाट किराँतीहरूको गौरवशाली अतीत रहेको, आफ्नै भाषा, लिपि र संस्कृतिमा हुर्किएको भए पनि पछि किराँत भाषा संस्कृति लोप हुने अवस्थामा पुगेको कुरा थाहा पाए । किराँत लिम्बू भाषा र लिपिको पुनर्जागरण गरे ।
चेमजोङ आफ्नो भाषा र संस्कृति संरक्षण र संवर्धन गर्नुपर्ने ठहर गरी उनले कलकत्तामा स्नातक तहको अध्ययन गर्दागर्दै आफ्नो अध्ययनलाई बिचैमा छाडे । भाषा संस्कृतिकै अध्ययनका लागि उनी सन् १९५३ मा लिम्बूहरूको बसोवास भएका क्षेत्रमा प्रवेश गरे । चेमजोङ ती क्षेत्रमा खोज अनुसन्धानमा समर्पित रहे। रहँदाबस्दा उनी उक्त भाषा संस्कृतिप्रति जनचेतना जगाउने काममा संलग्न भए । इमानसिंह चेमजोङ किराँत भाषा र संस्कृतिसम्बन्धी थुप्रै पुरातात्विक सामग्रीको सङ्कलन गरेर काठमाडौं आए र त्यस्ता सामग्री धमाधाम प्रकाशन गर्न थाले । उनका प्रकाशित कृतिहरूमा ‘किराँत मुन्धुम’, ‘किराँत दर्शनको सारांश’, ‘किराँत साहित्यको इतिहास’, ‘किराँत दन्त्यकथा’ लगायत दर्जनौं पुस्तक र थुप्रै लेख रहेका छन् । उनले किराँत भाषाका पाठ्यपुस्तक साथै साहित्यिक कृतिहरू पनि रचना गरेका थिए। उनको नामबाट हुलाक टिकटसमेत प्रकाशन भएको छ । भाषा संस्कृतिका क्षेत्रमा छ दशकको अटुट योगदान दिएपछि सन् १९७५ मा उनी यस संसारबाट बिदा भए । उनी यस धर्तीमा नरहे पनि उनका योगदानले उनी आज पनि अमर बनेका छन् ।
सुनाइ पाठ ४: प्रमिथस र मान्छे
त्यस बेला पृथ्वीमा सर्वत्र अन्धकार मात्र थियो । उज्यालो कतै थिएन । विचरा मान्छे त्यस समयमा जन्मन, अन्धकारमै सङ्घर्ष गरी बाँच्न अनि अन्धकारमै मर्न अभिशप्त थिए । मानिसको त्यो दयनीय अवस्थादेखि प्रमिथसलाई दुःखको अनुभूति भयो। एक दिन उनले स्वर्गबाट आगो चोरी पृथ्वीमा ल्याए अनि मान्छेलाई दिए ।
आगो चोरी पृथ्वीमा लगेको अभियोगमा स्वर्गका राजा जिउसले प्रमिथसलाई अजम्मरी पीडाको सजाय दिए । यता पृथ्वीमा आगो आइपुगेपछि मानिसले सभ्यताको विकास गरे, इतिहासको रचना गरे । उज्यालाको ज्ञान विज्ञानको विकास गरी मान्छे देवताभन्दा शक्तिशाली भए। एक दिन शक्तिको मदमा उनीहरूले एकअर्काको संहार गरे ।
पृथ्वीमा फेरि अन्धकार छायो । अन्धकारमा केही मान्छे मात्र बाँच्न सफल भए ।
अजम्मरी पीडा भोगिरहेका प्रमिथसलाई मान्छेको त्यो दयनीय अवस्थादेखि टिठ लाग्यो। एक दिन उनले फेरि स्वर्गबाट आगो चोरी फेरि पृथ्वीमा लगे। आगो देखेर मान्छे ओडारतिर भागे ।
“ए ! तिमीहरू किन भागेका म स्वर्गबाट आएको प्रमिथस हुँ। ल, यो आगो लिएर अब सभ्यताको विकास गर ।” प्रमिथसले माया मानेर भने ।
“होइन हजुर, हामीलाई आगो चाहिँदैन, हामीलाई अन्धकारमै रुमलिन दिनुहोस् ।” मान्छेले भने ।
“किन ?” प्रमिथसले सोधे ।
“आगोले उज्यालो मात्र दिँदोरहेनछ, पोल्दो पनि रहेछ । उज्यालोले सभ्यता विकास मात्र गर्दोरहेनछ, सभ्यता विनाश पनि गर्दोरहेछ ।” मान्छेले भने अनि ओडारमा गहिरो अन्धकार हरायो ।
प्रमिथसको अजम्मरी पीडामाथि अर्को अजम्मरी पीडा थपियो ।
सुनाइ पाठ ५: कालिदास र सरस्वती
कालिदास भ्रमणको क्रममा एउटा गाउँमा पुगे । उनी एकदमै तिखाएका थिए । एउटा घरको ढोकामा पुगेर उनले पानी मागे । ढोकामा उभिएकी एक युवती र ज्ञान हासिल गरेर चर्चित भइसकेका कालिदासको बिच रोचक संवाद भयो ।
कालिदास : कृपया, पानी दिएर पुण्य कमाउनुहोस् ।
युवती : मैले तपाईंलाई चिनेकै छैन । पहिला आफ्नो परिचय दिनुहोस् । म अवश्य पानी दिने छु ।
कालिदास : म पाहुना हूँ, कृपया पानी दिनुहोस् ।
युवती : तपाईं कसरी पाहुना ? संसारमा त दुईओटा कुरा मात्र पाहुना हुन्छन् । एउटा धन र अर्को यौवन । यिनीहरू आउन र जानमा समय लाग्दैन । सत्य कुरा भन्नुहोस्, खासमा तपाईं को हुनुहुन्छ ?
(तर्क दिदा दिदा हैरान भएका उनी अलि हताश भइसकेका थिए।)
कालिदास : म सहनशील । अब पानी दिनुहोस् ।
युवती : होइन, सहनशील दुई मात्र हुन्छन् । पहिलो पृथ्वी जसले अधर्मी र धर्मात्मा सबैलाई बोकेकी हुन्छिन् । उनको छाती चिरेर बिउ रोप्नेलाई पनि फल दिन्छिन् । अर्को सहनशील हो वृक्ष, जसले ढुङ्गाले हान्दा पनि फल दिन्छ । तपाईं सहनशील होइन । साँचो कुरा बताउनुहोस् ।
(कालिदास लगभग तनावपूर्ण अवस्थामा पुगिसकेका थिए। थप तर्क गर्न थाले)
कालिदास : म हठी हुँ ।
युवती : फेरि झुठ । हठी त नङ र कपाल हुन् । जति काट्नुहोस्, पटक पटक आउँछन् । सत्य कुरा भन्नुहोस् यहाँ को हुनुहुन्छ ?
(केही पनि बोल्न नसकेपछि कालिदास युवतीको पाउ परे र पानी माग्न थाले। उठ्नुहोस् महानुभाव। आवाज सुनेर कालिदासले माथि हेर्दा त उनी साक्षात् सरस्वती रहिछन्, अनि कालिदास झन् नतमस्तक भए)
सरस्वतीले भनिन्, “शिक्षाबाट ज्ञान हासिल गर्नुपर्छ न कि अहङ्कार । तपाईंले शिक्षाको बलबाट प्राप्त गर्नुभएको मान र प्रतिष्ठालाई नै आफ्नो उपलब्धि मान्नुभयो र घमण्ड गर्नुभयो । यसकारण तपाइँको तेस्रो नेत्र खोल्न म यहाँ आएकी हुँ।”
कालिदासले आफ्नो गल्ती महसुस गरे र टन्न पानी पिएर फर्किए ।
सुनाइ पाठ ६: उँभौली र उँधौली पर्व
मङ्सिर शुक्ल पूर्णिमाका दिन पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउने गर्छन् । वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले मङ्सिर शुक्ल पूर्णिमामा उँधौली पूजा गर्छन् । उँभौली खेतीपाती लाउने वेलामा मनाइने चाड हो भने उँधौली खेतीपाती स्याहार्ने वेला मनाइने चाड हो। उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उँधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला तथा भूमेलाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् । उँधौली पर्वलाई उँधौली साकेला पनि भनिन्छ । किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँछन् । मङ्सिर शुक्ल पूर्णिमाका दिन भने संयुक्त रूपमा किराँत समुदायका सबै समुदायले उँधौली साकेला अर्थात् उँधौली पर्व मनाउँछन् । किराँतभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा यो पर्व उँधौलीका नामले नै चिनिन्छ । यो किराँत समुदायले आफूले लगाएको अन्नवाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिन हो । भूमिपूजाका लागि विहानैदेखि किराँत महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै यो पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आआफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
काठमाडौँ उपत्यकामा ललितपुरको सानी हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतको ऐतिहासिक पवित्र धार्मिक स्थल सानो हात्तीवनमा किराँत वर्गको यो उभौली चाड विशेष रूपमा मनाइन्छ । पूजापछि आआफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङ नाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परागत सांस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ । खस आर्यले मनाउने धान्यपूर्णिमा, नेवार समुदायले मनाउने योमरी पुन्ही अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उँधौली पर्वको भाव भने एकै छ। यो पर्व नयाँ अन्नवाली भित्र्याएपछि आआफूले मानेका देवीदेवतालाई चढाएर खाने परम्परा हो ।
सुनाइ पाठ ७: पश्चाताप
आफ्ना छोराले १२ कक्षा पूरा गरेकामा नरेशका आमाबुबा धेरै खुसी भए। उनीहरूले छोरालाई क्याम्पसमा पढाउने र असल मान्छे बनाउने सपना देखे। छोरालाई पढ्न सहर पठाए । एक वर्षपछि नरेश घर फर्कियो। उसको पहिरन देखेर बुढाबुढी छक्क परे । उसले कानमा मुन्द्रा लगाएको थियो । उसको कपाल लामो पालेको थियो । ती सोझासाझा आमाबुबाले सम्झे, सायद क्याम्पस पढ्दा यस्तै गर्नुपर्छ होला । नरेशले साँझ आमाबुबासँग आफू विदेश जाने कुरा गर्यो । पहिले त उनीहरूले मानेनन् तर नरेशको जिद्दीका अगाडि उनीहरूको केही चलेन । एक्लो छोरो गरुन् त के गरुन् बुढाबुढी। भए पनि यसकै नभए पनि यसकै भनेर भात खाने खेत बेचेर छोरालाई विदेश पठाए ।
नरेश विदेश गएको पाँच वर्ष पूरा भयो तर ऊ घर फर्किएन । बुढाबुढी छोरो घर नआएकामा दुःखी थिए । उता विदेशमा नरेश कुलतमा फसेको र राम्रोसँग काम पनि नगरेको खबर आयो । त्यस गाउँबाट विदेश जाने नरेश पहिलो युवा थियो। त्यसैले पनि सबैले नरेशले विदेशमा के गर्छ भन्ने कुरामा धेरै चासो दिने गर्थे। नरेशले भने उतै बिहे गरेको कुरा सुनियो । बुढाबुढीलाई अब नरेश स्वदेश फर्किने कुरामा विश्वास लाग्न छोड्यो । उसले आफ्नो बिहेमा त आफ्ना आमाबुबालाई सम्झेन भन्ने कुरामा उनीहरूको चित्त दुख्यो । यति हुँदाहुँदै पनि ‘सास रहुन्जेल आस छोड्नुहुँदैन’ भन्ने विचार लिएर उनीहरू नरेशको प्रतीक्षा गरिरहे। अब बुढाबुढी निकै अशक्त हुन थाले । उनीहरूलाई जीवन निर्वाह गर्न पनि निकै कठिन हुँदै थियो। छोरालाई विदेश पठाउँदा खेत पनि बेचेका हुनाले उनीहरूलाई जीवन धान्न कठिन भएको थियो। अब उनीहरूलाई छोरो आउने आस मरिसकेको थियो। एक दिन बुढालाई बिसन्चो भयो । उनलाई छिमेकीले अस्पताल पुऱ्याए । जाँचको सबै नतिजा आउँदा मृगौलामा समस्या भएको पाइयो । एकातिर आर्थिक अभाव र अर्कातिर बुढेसकालको सहारा नपाउँदा बुढाबुढी छोरालाई विदेश पठाएकामा पश्चाताप भयो ।
सुनाइ पाठ ९: इन्टरनेट बजार
इन्टरनेट बजार भनेको विद्युतीय उपकरणबाट गरिने व्यवसाय हो । यसमा इन्टरनेटलाई मुख्य आधार मानिन्छ । यसमा विद्युतीय उपकरण, प्रविधि र सञ्जालका माध्यमद्वारा बजार व्यवस्थापन गरिन्छ । यो व्यवसाय सञ्चालन र विस्तारको भरपर्दो माध्यम हो । इन्टरनेटले कम्प्युटरमार्फत विश्वव्यापी सञ्जाल वा नेटवर्क स्थापना गर्छ । यही इन्टरनेट र सञ्जालले क्रेता र विक्रेताबिच सञ्चार माध्यमका रूपमा काम गर्छ । यसअन्तर्गत वस्तुको खरिद बिक्री गर्न क्रेता र विक्रेताबिच प्रत्यक्ष भेटघाट गरिरहनु पर्दैन । वस्तु तथा सेवाको आदानप्रदानका लागि क्रेता र विक्रेताबिचको सम्बन्ध इन्टरनेटबाट नै हुन्छ । इन्टरनेट व्यवसायमा कम्प्युटर प्रविधिको प्रयोग गरी विज्ञापन गर्ने, उत्पादन बढाउने, बजार व्यवस्थापन गर्ने कार्य गरिन्छ । सूचना आदानप्रदान गर्ने, उत्पादनको माग गर्ने, उपभोक्ताले बुकिङ गर्ने र उपयुक्त स्थानमा वस्तु तथा सेवा प्राप्त गर्ने कार्य पनि हुन्छ । विश्वभर कम्प्युटरमा इन्टरनेट सम्बन्ध जोडिएको हुनाले आपूर्तिकर्ता, मध्यस्थकर्ता, ग्राहक, प्रतिस्पर्धीसँग सजिलै सम्पर्क गरी व्यवसाय सञ्चालन गर्न सकिन्छ। विद्युतीय उपकरण, प्रविधि र सञ्जालमार्फत उत्पादक तथा वितरक सङ्घ सङ्गठनले आफ्ना वस्तु तथा सेवाका बारेमा ग्राहकलाई सूचना दिने र प्रोत्साहन गर्ने आदि कार्य गर्छन् । मध्यस्थकर्ताको संलग्नता नरहने तथा उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध रहने कारण यसलाई प्रत्यक्ष बजार पनि मानिन्छ । यसमा मध्यस्थकर्ताको सहभागिता नहुने भएकाले उनीहरूलाई कमिसन, छुट र नाफा पनि दिनुपर्दैन । उत्पादक र वितरकले आफ्ना वस्तु तथा सेवाका बारेमा विवरणात्मक क्याटलग वा सूची अनलाइनमा राख्छन् । त्यसपछि ग्राहकले त्यही अनलाइन हेरेर वस्तु तथा सेवाको खरिद आदेश पनि अनलाइनमार्फत दिन्छन् । ग्राहक विभिन्न खुद्रा पसलमा धाइरहनु पर्दैन । ग्राहकले घरमै बसी बसी वस्तुको मूल्य घटेको वा बढेको जानकारी सहजै प्राप्त गर्न सक्छन् । व्यक्तिगत सञ्चार हुनु, मध्यस्थकर्ता नरहनु, तथ्याङ्कको व्यवस्थित भण्डारण हुनु, ग्राहकसँग सोझो सम्बन्ध रहनु इन्टरनेट बजारका मुख्य विशेषता हुन् । यसले उपभोक्ता र सङ्घसंस्थालाई प्रशस्त फाइदा पुर्याउँछ । सुविधाजनक हुनु, बृहत् छनोटको अवसर रहनु, प्रशस्त सूचना पाउनु उपभोक्ताका लागि फाइदाजनक पक्ष हुन् । सीमित ग्राहक र गोपनीयतामा कमी हुनु यसका मुख्य सीमा हुन् । आजकाल विकसित तथा विकासोन्मुख मुलुकमा यसको प्रभाव बढ्दै गएको छ ।
सुनाइ पाठ १०: चाणक्य
आचार्य चाणक्यले मित्र र शत्रुका केही खास विशेषता बताएका छन् । यसबाट मानिसले सही मित्र सजिलै छान्न सक्छन् । आचार्य चाणक्य महान् शासक चन्द्रगुप्त मौर्यका गुरु थिए । उनको नीतिलाई चाणक्य नीति भनिन्छ । चाणक्य नीतिमा शत्रु र मित्र कसरी चिन्ने भन्नेबारे चर्चा गरिएको छ । आचार्य चाणक्यका अनुसार जीवनमा सफल हुनका लागि सच्चा र असल मित्र बनाउनुपर्छ । जीवनमा सफल हुनका लागि शत्रु हुनु पनि उत्तिकै जरुरी छ। चाणक्यका अनुसार मित्रले मानिसलाई सहयोग गर्छ तर शत्रुले मानिसका कमीकमजोरीलाई देखाएर सुधार्न मदत गर्छ। उनका अनुसार मानिस आफ्ना मित्रको कमजोरी र शक्तिका बारेमा राम्ररी जान्न सक्छन् । आफ्नो शत्रुलाई पराजित गर्न चाहने हो भने उसका कमजोरी र शक्तिका बारेमा जान्नु पनि धेरै महत्त्वपूर्ण हुन्छ । यदि सम्भव छ भने शत्रुसँग पनि मित्रता कायम राख्नु राम्रो हुन्छ । यदि कसैले सफलता प्राप्त गर्नु छ भने शत्रुसँग पनि राम्रो व्यवहार गर्नुपर्छ ।
सुनाइ पाठ ११: मकै खेती
नेपालका धान, मकै, गहुँ जस्ता प्रमुख तीन बालीमध्ये उत्पादनका आधारमा धानपछिको मुख्य बाली मकै हो। खास गरी पहाडी क्षेत्रमा महत्त्वपूर्ण खाद्यस्रोतका रूपमा मकैलाई लिइन्छ । मकै नेपालको एउटा परम्परागत खाद्य बाली भए तापनि अरू विकसित देशको दाँजामा भने यसको औसत उत्पादन कमै देखिन्छ । कम उत्पादन हुनुको मुख्य कारण जमिनको राम्रो तयारी नहुनु, गुणस्तरीय बिउको कम प्रयोग गर्नु र प्राङ्गारिक तथा अन्य मलको कमी हुनु आदि रहेका छन् । त्यस्तै मकै उत्पादनमा वृद्धि गर्न न्यानो हावापानी र मध्यम बर्सात उपयुक्त हुन्छ । मकै खेतीमा मकै उम्रनका लागि २० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ भने बिरुवा बढ्नका लागि औसत २१ देखि २७ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । मकै खेतीका लागि उर्वर, दोमट र भिरालो वा पानी नजम्ने ठाउँ राम्रो हुन्छ । धान चमरा निस्कने समयमा पानी अत्यधिक परेमा मकै बालीमा विभिन्न प्रकारका रोग लाग्ने, घोगामा कम दाना लाग्ने समस्या आउन सक्ने भएकाले सामान्यतया चैतको अन्तिम हप्तादेखि वैशाखको पहिलो हप्ताभित्र नै मकै रोप्नु राम्रो मानिन्छ । मकै खेतीका लागि जमिन तयार गर्दा बाली लगाउनुभन्दा अगाडि जमिनको राम्रो खनजोत गर्नुपर्छ । कम्पोस्ट मलको प्रयोग गर्नुपर्छ । त्यसपछि उपयुक्त बिउ छनोट गरी मकै छर्नुपर्छ ।
मकैमा प्रशस्त पोषण तत्त्व पाइन्छ । यसबाट भिटामिन डी, पोटासियम, फस्फोरस आदि प्रचुर मात्रामा पाइन्छ । ताजा कलिला मकैमा प्रशस्त रेसा हुने भएकाले खराब कोलेस्ट्रोलको मात्रालाई कम गर्न सहयोग पुग्छ । त्यस्तै पेटको कब्जियत हटाउन सहयोग पुग्छ । त्यस्तै छालाको समस्या घटाउन, मस्तिष्कको ह्रास हुन नदिन उपयोगी हुन्छ । मधुमेहका बिरामीका लागि पनि यो निकै उपयोगी मानिन्छ । सामान्यतया नेपालमा मकै उसिनेर, पोलेर, भुटेर साथै पिँधेर विभिन्न परिकार बनाएर खाने गरिन्छ । कुनै समयमा नेपाली समाजमा कमसल खाद्यका रूपमा मानिने मकैका परिकार अहिले सामान्य रेस्टुराँदेखि तारे होटेलसम्म उत्तिकै महत्त्वका साथ पाक्ने गरेको पाइन्छ ।
सुनाइ पाठ १२: लिङ्गे पिङ
दसैंको टीकाको दिन एकछिन भए पनि ‘धती छोड्नुपर्छ अर्थात् धर्तीमा टेक्नुहुँदैन’ भन्ने परम्परागत कथन छ । यही कथनलाई चरितार्थ गर्दै दसैंका बेला गाउँ सहर जताततै लिङ्गे पिङ हाल्ने र खेल्ने चलन छ । गाउँदेखि सहरसम्म दसैं आउनु केही समयअघिदेखि नै लिङ्गे पिङ हालेर खेलिने चलन नेपालीको मौलिक परम्परा हो। दसैं आउनुअघि नै खरवारीमा गई बाबियो काटेर ल्याउने, अलि पाको मान्छेलाई बाबियोको लठ्ठा बाट्न लगाउने, काठ वा बाँसका खाँवा हालिने र पिङ बनाएर मज्जाले पिङ खेल्ने गज्जबको चलन छ। यसरी दसैं, तिहार जस्ता चाडपर्वमा गाउँ सहर जताततै लिङ्गे पिङ हालिन्छ र आआफ्ना साथीभाइ, दौतरीसँग भेला भएर चचहुइ गर्दै पिङमा मच्चिएर रमाइलो गरिन्छ । यसरी पिङ खेल्न बालबालिकादेखि युवाको भीड हुने गर्छ । यो सबैको मनोरञ्जन गर्ने साधन हो। यो सांस्कृतिक परम्पराको जगेर्ना र सामाजिक सद्भाव कायम राख्ने माध्यम हो ।
दसैंका बेला गाउँका चौतारी, दोबाटो र डाँडामा जम्मा भएर सामूहिक रूपमा पिङ खेल्ने र रमाइलो गर्ने यो परम्परालाई जीवन्त राख्नुपर्छ । अहिलेका युवापुस्तालाई आफ्ना परम्परागत मान्यता, सिप र प्रविधितर्फ थप आकर्षित गर्नुपर्छ । आजभोलि त परम्परागत पिङ बनाउने आवश्यक सामग्री र बनाउने मान्छेको कमी छ । आजभोलि विज्ञान र प्रविधिको युगसँगै पिङका लागि बाबियोको सट्टा नाइलन जस्ता साधनको प्रयोग गरी आधुनिक पिङ बनाउने चलन छ । साथै विभिन्न मेला र उत्सवमा विद्युत्बाट चल्ने पिङको प्रयोग गर्ने र मनोरञ्जन गर्ने चलन छ। हाम्रा यस्ता मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्ताले संरक्षण र सवर्धन गर्न जरुरी छ ।
सुनाइ पाठ १३: मेरो छोराले के सिकोस्
हवाइट हाउस, वासिङ्टन
२/४/१८८२
श्री प्रधानाध्यापकज्यू,
मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा सज्जन मानिस हुन्छन् । दुष्ट र स्वार्थी पनि हुन्छन् । त्यस्तै निष्ठावान् राजनेता छन् भने स्वार्थी राजनीतिज्ञ पनि छन् । त्यस्तै शत्रु पनि छन् मित्र पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला नै तापनि उसलाई परिश्रम गरी कमाएको एक डलर सित्तैमा कमाएको पाँच डलरभन्दा मूल्यवान् हुन्छ भन्ने कुरा बताइदिनुस् । उसले विजय र पराजय भनेको के हो, राम्ररी बुझोस् । त्यस्तै ईर्ष्याले मुक्त भएको हाँसोको भित्री मर्म बुझोस् । उसलाई आकाशमा उडिरहेका चरा, घमाइलो दिनमा भुनभुनाइरहेका मौरी र पहाडी काखमा फुलेका फूलको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् ।
मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेका कुरालाई राम्ररी छुट्याउन सक्ने होओस्, दुःख र कष्टमय अवस्थामा प्रफुल्ल रहन सक्ने होस् ।
उसलाई कहिलेकाहीँ आँखाबाट आँसु झार्नु लाजमर्दो कुरो होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल, बुद्धि र सामर्थ्यमा विश्वास गरोस्। यदि उद्देश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भए पनि जिउ ज्यानले लागिपरोस् । उसमा सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न सक्ने साहस र दृढ शक्तिको विकास गरिदिनुहोस् । ऊसँग नम्र त हुनुहोस् तर उसले टाउकाले टेक्ने गरी चाहिँ होइन । सम्झनुहोस्, आगोका लप्काबाटै फलाम खारिन्छ । ऊभित्र साहस र सधैं केही गरौं भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयम् निर्भिक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति परम् आस्थावान् हुनसक्छ, धन्यवाद ।
तपाइँको
अब्राहम लिन्कन
सुनाइ पाठ १४: सङ्गीत
नृत्य, गीत र वाद्यवादनको मेल नै सङ्गीत हो। सङ्गीतले मावन हृदयलाई आह्लादित तुल्याउँछ । मूलतः सङ्गीतलाई पूर्वीय र पाश्चात्य गरी दुई भागमा बाँडिन्छ। पूर्वीय र पाश्चात्य सङ्गीतको छुट्टाछुट्टै पहिचान र महत्त्व छ। पूर्वीय सङ्गीतमा प्रयोग हुने बाजा भिन्नै किसिमका छन् । ती बाजा आर्थिक दृष्टिकोणले पनि त्यति महँगा छैनन् । प्रायः काठबाट निर्मित त्यस्ता वाद्यवादनमा हाम्रा नेपालीको सिप पोखिएको हुन्छ । मादल, बाँसुरी, डम्फु च्याब्रुङ, नौमती बाजा, मुजुरा, मुरली, सारङ्गी, टुङ्ना, मुर्चुङ्गा, बिनायो, एकतारे, खैँजडी, कठताल आदि बाजा नेपाली सिप र कलाका उपज हुन् । तीमध्ये नौमती बाजा नेपाली समाजमा बढी प्रचलित बाजा हो। नौमती बाजामा सनही दुईओटा, दमाहा दुईओटा, ट्याम्को, कर्नाल, झ्याम्टा, नरसिङ्गा, ढोलक एक एकओटा गरी नौओटा बाजा पर्छन् । नेपाली समाजमा यी बाजा निकै लोकप्रिय र प्रसिद्ध छन् । समाजका हरेक खुसियालीमा यस किसिमका बाजा बजाइने गरिन्छ । यी माथिका बाजाबाट निस्किएको सङ्गीतले मानवीय हृदयलाई प्रफुल्लित पार्छ ।
सुनाइ पाठ १५: सामाजिकीकरण
मानिस सामाजिक प्राणी हो । सामाजिक गुणबिना मानव जीवन अर्थहीन हुन्छ । मानवमा जन्मदेखि नै सामाजिक गुण विकास भएका हुँदैनन् । मानवलाई सामाजिक प्राणी बनाउने काम शिक्षाले नै गर्छ । यसका लागि मानव मानवबिचको पारस्परिक सहयोग जरुरी हुन्छ । समाजले चाहेका व्यवहार, स्वीकार गरेका मूल्य र प्रचलित सिद्धान्तलाई आत्मसात् गर्न नसकेसम्म कुनै पनि व्यक्तिलाई समाजमा मिलेर बाँच्न मुस्किल पर्छ । जीवनयापनका क्रममा व्यक्तिले सामाजिक मूल्य, मान्यता, सिद्धान्त र विचारलाई आत्मसात् गर्दै जान्छ । त्यसपछि ऊ सामाजिक प्राणीमा विकसित हुन्छ । समाजमा योग्य नागरिक बन्नका लागि उसले सामाजिक मूल्य र आदर्शसँग परिचित हुनुपर्छ । त्यसैले बालकलाई जन्मेदेखि नै सामाजिक संस्कारयुक्त व्यवहार गर्न सिकाइन्छ । हरेक व्यक्तिले अनिवार्य रूपमा गर्ने सिकाइको यही प्रक्रिया नै सामाजिकीकरण हो । समाजले स्वीकार गरेका मूल्य मान्यता, सिद्धान्त एवम् आदर्श ग्रहण र त्यसैअनुसारको जिम्मेवारी पूर्ण भूमिका निभाउन नसकेमा सामाजिकीकरणमा बाधा पुग्छ । मानिसले समाजमा आफ्नो के स्थान हो र अरूसँग कसरी व्यवहार गर्नुपर्छ भन्ने कुरा सामाजिकीकरणबाट सिक्छ । सामाजिकीकरणबाट नै बालवालिकाले आआफ्नो सामाजिक मूल्यमान्यता, विश्वास र आदर्श सिक्दै जान्छ । तसर्थ व्यक्तिको व्यक्तित्व विकासमा सामाजिकीकरणको अहम् भूमिका रहन्छ ।
सुनाइ पाठ १६: भाषाशैली
कुनै पनि भाव अभिव्यक्त गर्ने माध्यम भाषा हो भने भाषिक अभिव्यक्तिको तरिका शैली हो । विशेष किसिमले कुनै काम गर्ने प्रणाली वा पद्धति, काम गराइको ढाँचा, परिपाटी, छाटकाट आदिलाई नै शैली भनिन्छ । हुन त शैली एक साधन मात्र हो तर सबै साहित्यिक कृतिमा शैलीको महत्त्व हुन्छ । भाषाको स्वाभाविक सुन्दरता, सशक्तता, साहित्यिक उच्चता र लेखकको योग्यताबाट शैलीको जन्म हुन्छ । जबसम्म कुनै वैशिष्ट्य आउँदैन, त्यसलाई भाषाशैली भन्न सकिँदैन । शैली विज्ञानले कुनै रचनाकारको विशिष्ट रचना, कौशल वा अभिव्र्व्याक्तलाई शैली मान्छ । शाब्दिक प्रयोग र भाषिक उच्चताका दृष्टिले शैली सरल र अलङ्कृत गरी दुई प्रकारका हुन्छन् । यस्तै शैलीलाई वर्णनात्मक, आत्मकथनात्मक, हास्यमय, व्यङ्ग्यमय आदिमा विभाजन गरेको पाइन्छ । शैली रचनाकारको व्यक्तित्वको परिचायक भएकाले व्यक्तिपिच्छे फरक हुन्छ । शैलीले सामान्य भाषाको विचलन गरी विशिष्टता प्रदान गर्छ भने शैली सौन्दर्यबोधक तत्त्व पनि हो। त्यसैले बोलचालको सामान्य भाषामा विचलन देखापरेपछि त्यो विचलित अभिव्यक्ति नै रचनाको शैली बनेको हुन्छ ।
