एकाइ ५: भूगोल र सामाजिक सम्बन्ध
पाठ १: विश्वमा नेपाल
यस पाठमा हामीले विश्वमा नेपाल (Bishwoma Nepal) को स्थान, भौगोलिक विशेषता र यसले जनजीवनमा पारेको प्रभावबारे अध्ययन गर्नेछौँ। विश्व मानचित्रमा नेपालको छुट्टै पहिचान छ र यहाँको भौगोलिक विविधताले सामाजिक, सांस्कृतिक र आर्थिक क्रियाकलापमा गहिरो सम्बन्ध राख्दछ।
Bishwoma Nepal
अभ्यासका विषयहरू
१. विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरू भएको गौरवशाली देशका रूपमा चिनिन्छ। यस भनाइलाई माथि दिइएका आधारहरू र थप बुँदाहरू समेटेर स्पष्ट गर्नुहोस्।
उत्तर: नेपाल विश्वमा नै अलग पहिचान भएको विशिष्ट देश हो। विश्व मानचित्रमा आकारले सानो देखिए पनि नेपाललाई चिनाउने धेरै कुराहरू रहेका छन्। विश्व मानचित्रमा नेपाललाई एक विशिष्ट र गौरवशाली देशका रूपमा चिनाउने विशेषताहरू यसप्रकार रहेका छन्:
- नेपाल एक भूपरिवेष्ठित (Landlocked) राष्ट्र हो। यो दक्षिण एसियामा विश्वका २ ठुला शक्ति सम्पन्न राष्ट्रहरू भारत र चीनको बीचमा रहेको छ।
- नेपाल २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशको बीचमा र ८० डिग्री ४ मिनेट पूर्वी देशान्तरदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरको बीचमा रहेको छ।
- कूल क्षेत्रफल १,४७,५१६ वर्ग कि.मि. (५६,९५६ वर्ग माइल) रहेको नेपालले विश्वको कूल भू-भागको ०.०३% र एसिया महादेशको ०.३% भू-भाग ओगटेको छ।
- नेपालको प्रमाणिक समय गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तर रेखाका आधारमा निर्धारण गरिएको छ।
- फरक-फरक उचाइ र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक भए तापनि नेपालमा विविध प्रकारको हावापानी पाइन्छ, जसको आधारमा ऋतुहरूको विभाजन गरिएको छ।
- नेपाल हिमाल, पहाड र तराई जस्तो भौगोलिक विविधता भएको मुलुक हो।
- विश्वकै गहिरो अरुण उपत्यकादेखि सर्वोच्च शिखर सगरमाथा यहीँ अवस्थित छ।
- जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ।
- नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त देश हो, यहाँ सांस्कृतिक विविधताभित्र एकता पाइन्छ।
२. ‘भौगोलिक अवस्था र जनजीवन बिचमा घनिष्ठ सम्बन्ध रहेको हुन्छ’ यस भनाइलाई स्पष्ट गर्नुहोस्।
उत्तर: मानिसका हरेक क्रियाकलापलाई भौगोलिक वातावरणले प्रभाव पारेको हुन्छ। वातावरणअनुसार उनीहरूको पेशा, क्रियाकलाप, खानपान, लवाइखवाइ, रहनसहन, चाडपर्व, आदि पनि फरक-फरक हुने गर्दछ। नेपाल भौगोलिक हिसाबले हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजित छ। यी तीनै क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूको जनजीवनमा भौगोलिक वातावरणले निम्नानुसार प्रभाव पारेको छ:
हिमाली क्षेत्र: अधिक उचाइ र चिसो हावापानी हुने भएकाले यहाँका मानिसहरू सोहीअनुसार अनुकूलित जीवनयापन गर्दछन्। शेर्पा, भोटे, थकाली जस्ता जातिको बाहुल्यता रहेको यस क्षेत्रमा घरका छाना माटोले छाउने गरिन्छ। मुख्य खानाको रूपमा फापर, जौ, आलु, र पशुजन्य उत्पादनहरू (भेडा, च्याङ्ग्राको मासु, चौँरीको दूध) प्रयोग हुन्छ।
पहाडी क्षेत्र: यहाँको हावापानी स्वास्थ्यवर्द्धक मानिन्छ, जसले गर्दा यहाँका बासिन्दाहरू हृष्टपुष्ट तथा निरोगी हुन्छन्। घरका छाना ढुङ्गा, खर वा टिनले आकर्षक ढंगले सजाइन्छ। मुख्य खाद्यान्नमा धान, कोदो, मकै, दूध, दही आदि पर्दछन्। भिरालो जमिनका कारण वर्षायाममा बाढी र पहिरोको जोखिम रहन्छ।
तराई क्षेत्र: यो क्षेत्र उब्जाउयोग्य जमिनले गर्दा ‘अन्न भण्डार’ का रूपमा प्रख्यात छ। यहाँ अधिक गर्मी हुने हुँदा पातलो र खुकुलो लुगा लगाइन्छ। मुख्य बालीहरूमा धान, मकै, गहुँ, दलहन र विभिन्न नगदेबालीहरू पर्दछन्। समथर भू-भाग भएकाले वर्षाको समयमा डुबानको समस्या देखा पर्दछ।
समग्रमा, मानिसको जनजीवनका निम्न पक्षहरूमा भौगोलिक वातावरणले प्रभाव पार्दछ:
- आर्थिक क्रियाकलापहरूमा
- भेषभूषा र खानपानमा
- सामाजिक-सांस्कृतिक प्रचलनहरूमा
- जनसंख्याको बनोट र वितरणमा
- विकास पूर्वाधारहरूको विकास र विस्तारमा
अन्त्यमा, भौगोलिक अवस्था र जनजीवन बिचमा घनिष्ठ सम्बन्ध रहेको हुन्छ, जसले मानिसको गाँस, बास र कपासमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ।
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us