एकाइ ११: स्वास्थ्य सेवा र सामाजिक विकास
पाठ ६: स्वस्थ जीवनशैली र हाम्रो दैनिकी
यस पाठमा हामीले स्वस्थ जीवनशैली (Healthy Lifestyle) र हाम्रो दैनिक जीवनमा यसको महत्त्वबारे सिक्नेछौँ। फुर्सदको समयको सदुपयोग, मनोरञ्जन, पर्याप्त आराम र निद्राले कसरी हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यलाई राम्रो बनाउँछ भन्ने विषयमा विस्तृत रूपमा छलफल गरिनेछ। एक स्वस्थ दैनिकीले हाम्रो जीवनमा ऊर्जा र सकारात्मकता थप्दछ।
Swastha Jivanshaili ra Hamro Dainiki
अभ्यासका विषयहरू
१. खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मद्दत गर्दछ?
उत्तर: फुर्सदिलो समय भन्नाले स्वतन्त्र रूपले आफ्ना लागि केही काम गर्ने मौका प्राप्त भएको समय भन्ने बुझ्नुपर्दछ। फुर्सदलाई प्रायः खाली समयका रूपमा परिभाषित गरिएको छ। खेलकुद, मनोरञ्जन, आराम र निद्रा जस्ता काममा फुर्सदको समयको उपयोग गर्न सकिन्छ। खेलकुद (Sports) फुर्सदको समयलाई व्यवस्थापन गर्ने महत्त्वपूर्ण तरिका हो।
खेलकुदबाट दिमागी विकासका साथसाथै धैर्य गर्न सक्ने, सङ्कल्पित हुने तथा खेलमा उदारता दर्शाउने जस्ता सीपहरूको पनि विकास हुने गर्दछ। शारीरिक खेलकुद (Physical Sports) द्वारा शरीरमा सन्तुलन, तागत, शारीरिक समन्वयता तथा छिटो प्रतिक्रिया दिन सक्ने क्षमता बढाउन मद्दत गर्दछ। त्यस्तै गरी, मानसिक खेल (Mental Sports) द्वारा काम गर्ने गति, योजना बनाउने क्षमता, प्रतिक्रिया दिने समय, निर्णय गर्ने क्षमता र स्मरण शक्तिको विकास हुने गर्दछ। यसरी खेलकुदले फुर्सदको समयलाई शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सदुपयोग गर्न मद्दत गर्दछ।
२. मनोरञ्जनका उपायहरू के-के हुन्? यसबाट हुने फाइदा लेख्नुहोस्।
उत्तर: मनोरञ्जनात्मक (Recreational) क्रियाकलापबाट फुर्सदको समयको सदुपयोग गर्न सकिन्छ। मनोरञ्जनको साझा सरोकार रमाइलो, खुसी र हाँसोसँग छ। विभिन्न समारोह, धार्मिक सत्सङ्ग, भजनकीर्तन, पत्रपत्रिका अध्ययन, हास्यव्यङ्ग्य, सङ्गीत, खेलकुद, नाटक, गायन, नृत्य आदि सिर्जनशील काममा सहभागी भई मनोरञ्जन प्राप्त गर्न सकिन्छ।
हिजोआज मनोरञ्जनका लागि सूचना प्रविधिमा आधारित (screen-based) सामग्रीमा बढी समय बिताएको देखिन्छ। यसले परिवार, साथीभाइ र समाजसँगको सम्बन्धमा बाधा पुगेको र सामाजीकरणमा समेत समस्या पारेको छ। त्यसैले त्यस्ता सामग्रीको कम प्रयोग गरी साथी समूह, परिवार तथा नातेदारसँग गरिने मनोरञ्जनलाई बढी जोड दिनुपर्दछ।
मनोरञ्जनका फाइदाहरू निम्नानुसार छन्:
- जवान रहन सहयोग गर्दछ।
- दिमागलाई दुरुस्त बनाउँछ।
- सृजनशीलता (Creativity) बढाउन सघाउँछ।
- उत्पादकत्व बढाउँछ।
- व्यक्तिगत विकास प्रवर्धन गर्न सघाउँछ।
- अनावश्यक कुरामा ध्यान जानबाट रोक्दछ।
- तनाव (Stress) हटाउन सहयोग गर्दछ।
३. ‘पर्याप्त आराम र निद्राले दैनिक जीवनमा ऊर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
उत्तर: कहिलेकाहीँ हामी यसलाई महत्त्व दिँदैनौं, तर राम्रो निद्रा र आरामले हामीलाई अर्को दिनका समस्याहरूको सामना गर्न पर्याप्त र आवश्यक ऊर्जा (Energy) दिन्छ। खानु, पिउनु, सुत्नु र आराम गर्नु जस्ता कार्यहरू स्वस्थ रहनका लागि नियमपूर्वक ठीक ढङ्गले गर्नुपर्दछ। यदि यी कुराहरूलाई उचित समयमा व्यवस्थापन गर्न सकिएमा स्वास्थ्यमा सुधार हुन्छ।
आराम मानिसको जीवनको अपरिहार्य क्षण हो। आरामबिना मानवजीवन सम्भव छैन। आरामले कार्य दक्षता र सिर्जनात्मक शक्ति बढाउन सहयोग गर्दछ। आरामले मानिसलाई पुनर्ताजगी (Refresh) बनाउँछ र थप ऊर्जा प्रदान गर्दछ। लामो समयसम्म एकोहोरो काम गर्दा बढी थकान हुने हुँदा बिचबिचमा आराम गर्दा काममा थप ऊर्जा प्राप्त हुन्छ।
निद्राले हाम्रो दिमागी कोशिकाहरूको मर्मत गर्न र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दछ भन्ने कुरा विज्ञानले समेत प्रमाणित गरिसकेको छ। सामान्यतया वयस्क व्यक्तिका लागि ६ देखि ८ घण्टासम्मको सुताइ राम्रो मानिन्छ। बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानीले हाम्रो दैनिक कामकाजलाई सफल र गुणस्तरीय बनाउन मद्दत गर्दछ, जसले जीवनमा ऊर्जा थप्दछ।
४. कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के-के गर्नुपर्दछ?
उत्तर: सामान्य मानिसले २४ घण्टामा ७ देखि ८ घण्टा मस्त निदाउनु शारीरिक, मानसिक एवं सामाजिक स्वास्थ्यको लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ। निद्रा नपुगेको अवस्थामा सुरुमा शरीर गल्ने, कमजोरी महसुस हुने, झर्को लाग्ने, काममा ध्यान नजाने, र निर्णय क्षमतामा ह्रास आउने जस्ता समस्या देखिन्छन्।
लामो समयसम्म निद्राको समस्या रहिरहेमा उच्च रक्तचाप (Hypertension), मधुमेह, मुटुको रोग, डिप्रेसनलगायत दीर्घकालीन रोगहरूले आक्रमण गर्दछन्। तसर्थ, समयमा नै सचेत भई स्वस्थ जीवनशैली अपनाउनु बुद्धिमानी हुन्छ।
कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्ने उपायहरू यसप्रकार रहेका छन्:
- आफ्नो निद्राको समस्या किन भइरहेको छ, पत्ता लगाउने।
- जीवनशैली परिवर्तन गर्ने।
- रातीको खानापछि केही समय टहल्ने।
- राती सुत्नुअघि चिसो पानीले अनुहार, हात, गोडा धोएर तेलले हल्का मालिस गर्ने।
- सकेसम्म रातको १० बजेसम्ममा सुत्ने कोसिस गर्ने।
- सुत्नुअघि मोबाइल, कम्प्युटरको प्रयोग नगर्ने।
- सकारात्मक सोच (Positive Thinking) को विकास गर्ने।
- दिनभरि आफूले गरेका राम्रा कामहरू सम्झने।
यो पनि पढ्नुहोस्
थप जानकारीका लागि आधिकारिक स्रोतहरू:
विश्व स्वास्थ्य संगठन (WHO) – स्वस्थ जीवनशैली राष्ट्रिय परीक्षा बोर्ड (NEB)कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us