एकाइ ९: बस्ती, जनसङ्ख्या र विकास
पाठ १: मानव बस्ती
यस पाठमा हामीले मानव बस्ती (Manav Basti) र यसका विभिन्न पक्षहरूको बारेमा अध्ययन गर्नेछौँ। मानव बस्ती भनेको मानिसहरूको बसोबासको क्षेत्र हो, जुन हाम्रो सामाजिक र सांस्कृतिक जीवनको आधार हो। यो पाठले बस्तीको वर्गीकरण, विकासक्रम, र ग्रामीण तथा सहरी बस्तीबिचको भिन्नतालाई स्पष्ट पार्दछ, जसले तपाईंको NEB परीक्षाको तयारीलाई बलियो बनाउँछ।
Manav Basti (Human Settlement)
अभ्यासका विषयहरू
१. बस्ती भनेको के हो? बस्तीको वर्गीकरणका आधारहरू लेख्नुहोस्।
उत्तर: मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई मानव बस्ती (Human Settlement) भनिन्छ। मानव बस्ती जमिनमा प्रत्यक्ष रूपमा देख्न सकिने एक सांस्कृतिक भूस्वरूप हो। बस्ती मानिसहरूको प्राथमिक तथा प्रमुख आवश्यकता पनि हो। समग्रमा हेर्दा एउटै रूप देखिए तापनि विभिन्न आधारमा मानव बस्तीलाई निम्नानुसार वर्गीकरण गरिन्छ:
- (क) अवस्थितिका आधारमा: मैदानी बस्ती, पर्वतीय बस्ती, ताल किनारको बस्ती, समुद्र तटको बस्ती, मरुभूमिको बस्ती आदि।
- (ख) घरहरूका बिचको दुरीका आधारमा: एक्लो बस्ती, छरिएको बस्ती, गुजुमुज्ज बस्ती आदि।
- (ग) समयका आधारमा: अस्थायी बस्ती, स्थायी बस्ती, मौसमअनुसारको बस्ती आदि।
- (घ) कामका आधारमा: कृषि बस्ती, औद्योगिक बस्ती, व्यापारिक बस्ती आदि।
- (ङ) आकारका आधारमा: कृषिगृह, ह्याम्लेट, गाउँ, बजार र सहर आदि।
- (च) आकृतिका आधारमा: रेखाकार, वृत्ताकार, तीर आकार, पङ्खा आकार, तारा आकार आदि।
२. तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस्।
उत्तर: म बसोबास गर्ने ठाउँको नाम तारकेश्वर नगरपालिका, वडा नं ६ हो। यो नेपालको उपत्यकाको उत्तरी भेगमा पर्ने एउटा ऐतिहासिक ठाउँ हो। हालै यो बस्ती नगरपालिकामा परिणत भए तापनि यसलाई सहरी बस्ती भन्नका लागि कमै आधारहरू भेटिन्छन्। यहाँका बहुमत मानिसहरू कृषि, पशुपालन जस्ता काममा संलग्न छन् भने केही मानिसहरू व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा र सेवामूलक व्यवसायमा संलग्न भइसकेका छन्। त्यसैले हामीले यस बस्तीलाई अर्ध-सहरी बस्ती पनि भन्न सक्छौँ।
हालै विभिन्न क्षेत्रका मानिसहरूको बाक्लो बसाइका कारण ठूला भवनहरू र घना बस्तीको निर्माण कार्य भइरहेको छ। बढी जनसंख्या बसोबास गर्नाले यहाँका आवश्यकताहरू पूर्ति गर्नका निम्ति यातायात, सञ्चार, विद्युत्, खानेपानीजस्ता विकासका पूर्वाधारहरूको कार्य हुँदै आइरहेको छ। विद्यार्थीको संख्या बढ्नुका साथै यहाँ विद्यालयको संख्या पनि बढिरहेको छ। सवारीको चाप ह्वात्तै बढेपछि यहाँका सडकहरूको चौडाइ बढाएर कालोपत्रे पनि भइसकेको छ। ऐतिहासिक नगरको रूपमा चिनिएकाले र नेवारहरूको बस्ती भएकाले यहाँ महिनापिच्छे सांस्कृतिक क्रियाकलाप भइरहेको हुन्छ, जसले गर्दा पर्यटनको सम्भावना उच्च रहेको छ। तथापि, पर्यटकका लागि होटल र बाटोको उचित व्यवस्था भने हुन बाँकी छ। यसरी विभिन्न विकासका कार्य यस बस्तीमा भइरहेका छन्।
३. ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस्।
उत्तर: ग्रामीण र सहरी बस्तीका बिचमा फरकहरू यसप्रकार रहेका छन्:
ग्रामीण बस्ती
- तुलनात्मक रूपमा कम जनसंख्या बसोबास गर्ने।
- बस्तीहरू पातला र छरिएका हुने।
- मुख्यतः कृषि, पशुपालन, काठको काम, हाटबजार, र कुटीर व्यवसायमा आधारित हुने।
- प्रकृति र मानिसहरूका बिच नजिकको सम्बन्ध हुने।
सहरी बस्ती
- बढी जनसंख्या बसोबास गर्ने।
- ठूला भवनहरू र घना बस्ती हुने।
- उद्योग, व्यापार, पर्यटन, स्वास्थ्य, शिक्षा र अन्य सेवामूलक उद्योग आदिमा आधारित हुने।
- ठूला भवनहरू र घना बस्तीहरू भएकाले प्रकृति र मानिसहरूबिच कम सम्बन्ध हुने।
४. जनसंख्याका आधारमा मात्रै बस्तीलाई वर्गीकरण गर्नु उचित हुन्छ? यदि हुँदैन भने किन हुँदैन? कारण उल्लेख गर्नुहोस्।
उत्तर: बस्तीलाई वर्गीकरण गर्ने आधारहरू धेरै नै छन् र जनसंख्या त्यसमध्येको एक मुख्य आधार हो। तर, हामीले जनसंख्याको आधारमा मात्रै बस्तीलाई वर्गीकरण गर्यौँ भने त्यो उचित हुँदैन। किनकि बस्तीको स्वरूप र चरित्रलाई निर्धारण गर्ने अन्य धेरै महत्त्वपूर्ण पक्षहरू हुन्छन्।
त्यसैले, समग्रमा हेर्दा एउटै रूप देखिए तापनि बस्तीको पूर्ण चित्र बुझ्न विभिन्न आधारहरूलाई हेर्नुपर्छ, जस्तै:
- अवस्थितिका आधारमा: बस्ती कहाँ अवस्थित छ (पहाड, तराई, नदी किनार)।
- घरहरूका बिचको दुरीका आधारमा: बस्ती कत्तिको बाक्लो वा पातलो छ।
- कामका आधारमा: त्यहाँका मानिसहरू के काम गर्छन् (कृषि, उद्योग, व्यापार)।
- आकार र आकृतिका आधारमा: बस्तीको भौतिक संरचना कस्तो छ।
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us