Class 10 Economics (अर्थशास्त्र)
पाठ १: आय र आय वक्ररेखाहरू (Revenue and Revenue Curves)
SEE board exam तयारीका लागि: पूर्ण सैद्धान्तिक नोट, ग्राफ र अभ्यासका सम्पूर्ण प्रश्नोत्तरहरू
Welcome to the complete study guide on Revenue and Revenue Curves (आय र आय वक्ररेखाहरू) under Microeconomics. This is Chapter 1 of Unit 2 for Class 10 Economics students in Nepal preparing for their SEE board exams.
Here you will find structured notes, clear illustrations of Perfect Competition and Monopoly revenue curves, and fully solved textbook exercises with additional mathematical problems.
Explore our complete study list here: Class 10 Economics Notes.
१. सैद्धान्तिक अवधारणा (Theoretical Concept)
आय (Revenue) को परिचय
उत्पादक वा विक्रेताले वस्तु तथा सेवा बिक्री गरेर प्राप्त गरेको मौद्रिक रकमलाई आय भनिन्छ । आयको अवधारणामा वस्तु तथा सेवाको बिक्रीबाट प्राप्त रकम मात्र समावेश हुन्छ । यस एकाइमा पूर्ण प्रतिस्पर्धा र एकाधिकार बजारमा कुल, औसत र सीमान्त आय तथा आय वक्ररेखाहरूका सम्बन्धमा अध्ययन गर्ने छौं ।
(क) कुल, औसत र सीमान्त आयको अवधारणा (Concept of Total, Average and Marginal Revenue)
आयको अवधारणालाई कुल, औसत र सीमान्त आय गरी तीन भागमा विभाजन गरेर अध्ययन गरिन्छ :
कुल आय (Total Revenue – TR)
कुनै निश्चित समयमा वस्तु तथा सेवाको जम्मा परिमाण बिक्री गर्दा प्राप्त भएको रकमलाई कुल आय भनिन्छ । अर्थात् वस्तुको प्रतिएकाइ मूल्य (price) सँग उक्त वस्तुको कुल बिक्री परिमाण (quantity) गुणन गर्दा प्राप्त हुने गुणनफललाई कुल आय भनिन्छ । यसलाई सीमान्त आयको योगफलबाट पनि गणना गर्न सकिन्छ । कुल आयलाई सूत्रमा निम्नानुसार व्यक्त गरिन्छ :
कुल आय (Total Revenue-TR) = मूल्य (Price-P) × बिक्री परिमाण (Quantity Sold-Q)
अर्थात्, $$TR = P \times Q$$अथवा,$$TR = \Sigma{MR}$$ जहाँ $\Sigma{MR}$ = सीमान्त आयको योगफल (sum of marginal revenue)
उदाहरण: किसानले 50 ओटा कुखुराका चल्ला उत्पादन गरी प्रत्येकलाई रु. 100 का दरले बिक्री गर्दा,
$$TR = P \times Q$$
$$TR = 100 \times 50$$
$$\therefore TR = \text{रु. } 5,000$$
औसत आय (Average Revenue – AR)
कुल आयलाई बिक्री परिमाणले भाग गरेपछि प्राप्त हुने आयलाई औसत आय भनिन्छ । यो प्रतिएकाइ वस्तु तथा सेवाको बिक्रीबाट प्राप्त रकम पनि हो । यसलाई प्रतिएकाइ बिक्री मूल्य (per unit selling price) पनि भनिन्छ । औसत आयलाई सूत्रमा निम्नानुसार व्यक्त गरिन्छ :
औसत आय (Average Revenue-AR) = कुल आय (Total Revenue-TR) / कुल बिक्री परिमाण (Total Quantity Sold-Q)
अथवा, $$AR = \frac{TR}{Q} = \frac{P \times Q}{Q} = P$$
औसत आय वस्तुको मूल्यसँग बराबर हुने हुँदा $AR = P$ हुन्छ ।
उदाहरण: किसानले 50 ओटा कुखुराका चल्ला प्रतिचल्ला रु. 100 का दरले बिक्री गरेमा कुल आय रु. 5,000 प्राप्त हुन्छ ।
$$AR = \frac{TR}{Q}$$
$$AR = \frac{5,000}{50}$$
$$\therefore AR = \text{रु. } 100$$
सीमान्त आय (Marginal Revenue – MR)
उत्पादक वा विक्रेताले वस्तु तथा सेवाको थप एक एकाइ बिक्री गर्दा कुल आयमा हुने अतिरिक्त परिवर्तनलाई सीमान्त आय भनिन्छ । अर्थात् अतिरिक्त वस्तु तथा सेवाको बिक्रीबाट प्राप्त अतिरिक्त रकम नै सीमान्त आय हो । सीमान्त आय कुल आयमा भएको परिवर्तन र कुल बिक्री परिमाणमा भएको परिवर्तनको अनुपात पनि हो । सीमान्त आयलाई सूत्रमा निम्नानुसार प्रस्तुत गरिन्छ :
सीमान्त आय (marginal revenue) = कुल आयमा भएको परिवर्तन (change in total revenue) / कुल बिक्री परिमाणमा भएको परिवर्तन (change in quantity sold)
अर्थात, $$MR = \frac{\Delta TR}{\Delta Q} = \frac{TR_n – TR_{n-1}}{Q_n – Q_{n-1}}$$
जहाँ,
$TR_n$ = पछिल्लो एकाइको कुल आय (total revenue of succeeding unit)
$TR_{n-1}$ = अघिल्लो एकाइको कुल आय (total revenue of preceding unit)
$Q_n$ = पछिल्लो एकाइ (succeeding unit)
$Q_{n-1}$ = अघिल्लो एकाइ (preceding unit)
उदाहरण: किसानले 50 ओटा कुखुराका चल्ला बिक्री गर्दा कुल आय रु. 5,000 हुन्छ । 51 ओटा कुखुराको चल्ला बिक्री गर्दा कुल आय बढेर रु. 5,100 भएमा,
$$MR = \frac{\Delta TR}{\Delta Q}$$
$$MR = \frac{5,100 – 5,000}{51 – 50}$$
$$MR = \frac{100}{1}$$
$$\therefore MR = \text{रु. } 100$$
(ख) पूर्ण प्रतिस्पर्धा बजार र आय वक्ररेखा (Perfect Competition Market and Revenue Curves)
पूर्ण प्रतिस्पर्धा बजार अधिक क्रेता र विक्रेता भएको बजार हो । यस्तो बजारमा हरेक विक्रेता वा फर्मले एकै किसिमका वस्तु (समरूपी वस्तु) उत्पादन गरी बिक्री गर्छन् । बजारमा समान मूल्यमा वस्तु तथा सेवाको खरिदबिक्री हुन्छ । कुनै एक क्रेता वा विक्रेताले बजारमा अनावश्यक प्रभाव पार्न सक्दैन । तोकिएको निश्चित मूल्यमा फर्महरूले स्वतन्त्र रूपमा वस्तु बिक्री गर्ने भएकाले फर्महरूबिच प्रतिद्वन्द्विता (rivalry) हुँदैन । वास्तविक संसारमा सबै विशेषता मिल्ने यस किसिमको बजार संरचना पाइँदैन ।
ए. कुट्स्यानिस (A. Koutsoyiannis) का अनुसार पूर्ण प्रतिस्पर्धा त्यस्तो बजार संरचना हो, जहाँ व्यक्तिगत फर्महरूबिच प्रतिद्वन्द्विताको पूर्ण अभाव रहने विशेषता हुन्छ (Perfect competition is a market structure characterized by a complete absence of rivalry among individual firms.) ।
पूर्ण प्रतिस्पर्धात्मक बजारका विशेषताहरू (Features of Perfect Competition Market)
पूर्ण प्रतिस्पर्धा बजारका केही मुख्य विशेषता निम्नानुसार छन् :
- अधिक क्रेता र विक्रेता (Large Number of Buyers and Sellers) : पूर्ण प्रतिस्पर्धात्मक बजारमा वस्तु तथा सेवा खरिदबिक्री गर्ने क्रेता र विक्रेताको सङ्ख्या अधिक हुन्छ । सबै क्रेता तथा विक्रेताले स्वतन्त्र रूपमा वस्तु तथा सेवाहरू खरिद वा बिक्री गर्छन् ।
- समरूपी उत्पादन (Homogenous Product): पूर्ण प्रतिस्पर्धा बजारमा हरेक फर्मले उत्पादन गर्ने वस्तु तथा सेवा समरूपी हुन्छन् । फर्महरूले उत्पादन गर्ने वस्तु तथा सेवाको मूल्य, परिमाण, गुणस्तर, आकार आदिमा एकरूपता पाइन्छ ।
- बजारको पूर्ण ज्ञान (Perfect Knowledge of the Market): पूर्ण प्रतिस्पर्धा बजारमा वस्तु तथा सेवाका सम्बन्धमा क्रेता र विक्रेतालाई पूर्ण ज्ञान हुन्छ । मूल्य, गुणस्तर, परिमाण, टिकाउपन आदिका सम्बन्धमा क्रेता र विक्रेता दुवै पक्ष जानकार हुन्छन् ।
- उत्पादनका साधनको पूर्ण गतिशीलता (Perfect Mobility of Factors of Production) : पूर्ण प्रतिस्पर्धा बजारमा उत्पादनका साधन श्रम र पुँजी पूर्ण रूपमा गतिशील हुन्छन् । बजारमा उपलब्ध अवसर र अनुकूलता हेरी उत्पादनका साधनहरू एक फर्मबाट अर्को फर्ममा तथा एक स्थानबाट अर्को स्थानमा स्थानान्तरण हुन सक्छन् ।
- सरकारी हस्तक्षेपको अभाव (No Government Intervention) : पूर्ण प्रतिस्पर्धा बजारमा सरकारले हस्तक्षेप गर्दैन । बजारमा वस्तु तथा सेवाको मूल्य निर्धारण बजार माग र पूर्तिको अन्तर्क्रियाबाट हुन्छ ।
- प्रवेश र बहिर्गमनमा स्वतन्त्रता (Free Entry and Exit) : यस्तो बजारमा फर्महरूलाई बजारमा प्रवेश गर्न र बाहिरिन स्वतन्त्रता हुन्छ । उद्योगअन्तर्गतका फर्महरूले धेरै नाफा कमाएको देखेमा नयाँ फर्महरू उद्योगमा प्रवेश गर्न सक्छन् र घाटा देखेमा बाहिरिन सक्छन् ।
पूर्ण प्रतिस्पर्धा बजारमा आय र आय वक्ररेखाहरू (Revenue and Revenue Curves under Perfect Competition Market)
पूर्ण प्रतिस्पर्धा बजारमा वस्तुको मूल्य समान हुन्छ । हरेक बिक्रेताले समान प्रतिएकाइ मूल्यमा वस्तुका विभिन्न परिमाण बिक्री गर्छन् । मूल्य समान हुने भएकाले बिक्री परिमाण बढ्दै जाँदा कुल आय समान मात्रामा बढ्छ भने औसत र सीमान्त आय स्थिर र आपसमा बराबर हुन्छन् । यस्तो बजारमा एउटा उत्पादकले अति सानो भाग मात्र उत्पादन गर्ने भएकाले बजार मूल्यलाई प्रभाव पार्न सक्दैन ।
पूर्ण प्रतिस्पर्धा बजारमा कुल, औसत र सीमान्त आयलाई रेखाचित्रमार्फत प्रस्तुत गरिएको छ ।
रेखाचित्र १.१: पूर्ण प्रतिस्पर्धा बजारमा आय वक्ररेखाहरू
रेखाचित्र १.१ को X अक्षमा वस्तुको बिक्री परिमाण र Y अक्षमा कुल, औसत र सीमान्त आय मापन गरिएको छ । रेखाचित्रअनुसार वस्तुको बिक्री परिमाणमा वृद्धि हुदै जाँदा कुल आय वक्ररेखा स्थिर दरमा वृद्धि हुँदै गएको छ । औसत र सीमान्त आय रेखा भने X अक्षसँग समानान्तर छन् र यी वक्ररेखाहरू बराबर भएकाले एकआपसमा खप्टिएका (overlapping) छन् ।
पूर्ण प्रतिस्पर्धा बजारमा कुल, औसत र सीमान्त आय वक्रको प्रकृति (Nature of TR, AR and MR under Perfect Competition Market)
- कुल आय वक्ररेखाको प्रकृति (Nature of Total Revenue Curve): पूर्ण प्रतिस्पर्धा बजारमा कुल आय वक्ररेखा बिक्री परिमाण वृद्धिसँगै उद्गमविन्दुबाट सुरु भएर स्थिर दरमा बायाँ माथितिर जान्छ । यस बजारमा वस्तुको मूल्य स्थिर रहने हुनाले कुल आय वक्ररेखा उद्गमविन्दुबाट क्रमशः माथितर्फ गएको हुन्छ ।
- औसत आय वक्ररेखाको प्रकृति (Nature of Average Revenue Curve): पूर्ण प्रतिस्पर्धा बजारमा कुनै पनि क्रेता वा विक्रेताले वस्तुको निर्धारित मूल्य परिवर्तन गर्न सक्दैन । वस्तुको मूल्य स्थिर हुने भएकाले औसत आय रेखा X अक्षसँग समानान्तर हुन्छ ।
- सीमान्त आय वक्ररेखाको प्रकृति (Nature of Marginal Revenue Curve): पूर्ण प्रतिस्पर्धा बजारमा मूल्य स्थिर हुने भएकाले सीमान्त आय र औसत आय एकआपसमा बराबर हुन्छन् । यस बजारमा वस्तुको बिक्री जतिसुकै भए पनि सीमान्त आयमा कुनै परिवर्तन हुँदैन । तसर्थ MR पनि AR सँग बराबर हुँदै X अक्षसँग समानान्तर हुन्छ ।
(ग) एकाधिकार बजार र आय वक्ररेखा (Monopoly Market and Revenue Curves)
Monopoly ग्रिक शब्द monos र polein मिलेर बनेको हो । जहाँ monos को अर्थ एकल (single/alone) र polein को अर्थ बिक्री गर्नु (to sell) हुन्छ । तसर्थ कुनै एकल विक्रेता वा विक्रेताको समूहको नियन्त्रणमा रहेको बजारलाई एकाधिकार बजार भनिन्छ । अर्थात् एउटा मात्र उत्पादक एवम् विक्रेता र अधिक सङ्ख्यामा क्रेता रहेको बजार संरचनालाई एकाधिकार बजार भनिन्छ । यस्तो बजारमा विक्रेताले उत्पादन गर्ने वस्तुको निकट प्रतिस्थापन वस्तु हुँदैन । वस्तुको बजारमा फर्मको पूर्ण नियन्त्रण रहेको हुन्छ । फर्मले वस्तु तथा सेवाको धेरै एकाइ बिक्री गर्नु परेमा प्रतिएकाइ मूल्य क्रमशः घटाउनुपर्छ । यस्तो बजारमा अन्य फर्महरूलाई प्रवेश गर्न पूर्ण प्रतिबन्ध लगाइएको हुन्छ ।
ए. कुट्स्यानिस (A. Koutsoyiannis) का अनुसार एकाधिकार त्यस्तो बजार संरचना हो जहाँ एकल विक्रेता हुने, निकट प्रतिस्थापन वस्तु नभएको र नयाँ फर्मको प्रवेश निषेध हुन्छ (Monopoly is the market structure in which there is single seller, there is no close substitute for the product it produces and there are barriers to entry.) ।
वास्तविक संसारमा सबै विशेषता मिल्ने यस किसिमको बजार पाइँदैन । उदाहरणका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम जस्ता संस्था नेपालको सन्दर्भमा एकाधिकार बजार जस्तै हुन् ।
एकाधिकार बजारको विशेषताहरू (Features of Monopoly Market)
एकाधिकार बजारका काही प्रमुख विशेषता निम्नानुसार छन् :
- एक मात्र विक्रेता (Single Seller): एकाधिकार बजारमा वस्तु तथा सेवा उत्पादन तथा बिक्री गर्ने एउटा मात्र विक्रेता हुन्छ । यो बजारमा अन्य उत्पादक वा फर्मलाई बजारमा प्रवेश गर्न निषेध गरिएको हुन्छ ।
- प्रतिस्थापन वस्तुको अभाव (Absence of Substitutes Goods): यस्तो बजारमा निकट प्रतिस्थापन वस्तुको अभाव हुन्छ । फर्मले उत्पादन गर्ने वस्तुको सट्टामा प्रयोग गर्न मिल्ने अर्को वस्तु बजारमा उपलब्ध हुँदैन । त्यसैले क्रेतालाई वस्तु छनोटको विकल्प हुँदैन र तोकिएको मूल्यमा वस्तु खरिद गर्नुपर्ने बाध्यता हुन्छ ।
- फर्मलाई प्रवेशमा निषेध (Barriers to Entry for the Firm): एकाधिकार बजारमा नयाँ फर्मलाई प्रवेश गर्न निषेध गरिएको हुन्छ ।
- फर्म र उद्योगमा भिन्नता नहुने (No Distinction between Firms and Industry): एकाधिकार बजारमा फर्म र उद्योगमा कुनै भिन्नता हुँदैन । बजारअन्तर्गत एउटा मात्र फर्म वा उत्पादक हुने भएकाले फर्म वा उद्योग भन्नु एउटै हो ।
- मूलय निर्धारक (Price Maker): एकाधिकार बजारमा फर्म मूल्य निर्धारक हुन्छ । यस्तो बजारमा वस्तु तथा सेवाको मूल्य निर्धारण उत्पादक वा एकाधिकारी विक्रेता स्वयम्ले गर्छ ।
एकाधिकार बजारमा आय र आय वक्ररेखा (Revenue and Revenue Curves under Monopoly Market)
एकाधिकार बजारमा वस्तुको मूल्य बिक्री परिमाणअनुसार फरक फरक हुन्छ । विक्रेताले वस्तुको बढी परिमाण बिक्री गर्न प्रतिएकाइ मूल्य घटाउनुपर्छ । यसले गर्दा कुल आय सुरुमा बढ्छ, एउटा निश्चित विन्दुमा अधिकतम हुन्छ र त्यसपछि घट्छ । औसत र सीमान्त आय क्रमशः घट्दै जान्छ तर औसत आयभन्दा सीमान्त आयको घट्ने दर बढी हुन्छ । त्यसैले AR वक्ररेखाभन्दा MR वक्ररेखा तलतिर झरेको हुन्छ ।
एकाधिकार बजारका कुल, औसत र सीमान्त आयलाई रेखाचित्रमार्फत प्रस्तुत गरिएको छ :
रेखाचित्र १.२: एकाधिकार बजारमा राजस्व वक्ररेखाहरू
रेखाचित्रमा देखाइए अनुसार, कुल आय वक्ररेखा वस्तुको बिक्री परिमाण बढ्दै जाँदा घट्दो दरमा बढेको छ र अधिकतम विन्दुमा पुगी अन्त्यमा घटेको छ । औसत तथा सीमान्त आय वक्ररेखाहरू वस्तुको बिक्री परिमाणमा वृद्धि हुँदै जाँदा बायाँ माथिबाट दायाँ तलतिर झरेका छन् । यसरी झर्ने क्रममा औसत आय वक्ररेखाले X अक्षलाई छुँदैन तर सीमान्त आय वक्ररेखा भने X अक्षलाई पार गरी ऋणात्मक हुन्छ ।
एकाधिकार बजारमा कुल, औसत र सीमान्त आयको प्रकृति (Nature of TR, AR and MR under Monopoly)
- कुल आय वक्ररेखाको प्रकृति (Nature of Total Revenue Curve): एकाधिकार बजारमा कुल आय वक्ररेखा बिक्री परिमाण वृद्धिसँगै उद्गमविन्दुबाट सुरु भएर घट्दो दरमा वृद्धि हुन्छ र अधिकतम विन्दुमा पुगेर घट्न थाल्छ ।
- औसत आय वक्ररेखाको प्रकृति (Nature of Average Revenue Curve): एकाधिकार बजारमा वस्तुको मूल्य क्रमशः घट्ने भएकाले औसत आय वक्ररेखा निरन्तर घट्छ । यसरी घट्दै जाँदा बायाँ माथिबाट दायाँ तलतिर झरेको ऋणात्मक झुकावको हुन्छ ।
- सीमान्त आय वक्ररेखाको प्रकृति (Nature of Marginal Revenue Curve): एकाधिकार बजारमा सीमान्त आय पनि औसत आय जस्तै निरन्तर घट्छ तर यसको घट्ने दर तीव्र हुन्छ । यसरी घट्दै जाँदा बायाँ माथिबाट दायाँ तलतिर झरेर ऋणात्मक झुकावको हुन्छ । सीमान्त आय वक्ररेखा झर्ने क्रममा X अक्षलाई काटेर जान्छ ।
२. अभ्यास (Exercise) – समाधानसहित
अति छोटो उत्तर आउने प्रश्नहरू [1 Mark]
प्रतिएकाइ आय ($AR$) = $$\frac{TR}{Q} = \frac{5,000}{10} = \text{Rs. } 500$$ हुन्छ।
सीमान्त आय ($MR_4$) = $$TR_4 – TR_3 = 24 – 18 = \text{Rs. } 6$$ हुन्छ।
३. अभ्यास: छोटो उत्तर आउने प्रश्नहरू [5 Marks]
- कुल आय (Total Revenue – TR): निश्चित समयमा वस्तु तथा सेवाको जम्मा परिमाण बिक्री गर्दा प्राप्त भएको कुल रकम नै कुल आय हो। ($TR = P \times Q$)
- औसत आय (Average Revenue – AR): कुल आयलाई बिक्री परिमाणले भाग गर्दा आउने प्रतिएकाइ आय नै औसत आय हो। यो वस्तुको मूल्य (P) सँग बराबर हुन्छ। ($AR = \frac{TR}{Q}$)
- सीमान्त आय (Marginal Revenue – MR): थप एक एकाइ वस्तु बिक्री गर्दा कुल आयमा हुने अतिरिक्त वृद्धि वा परिवर्तन सीमान्त आय हो। ($MR = \frac{\Delta TR}{\Delta Q}$)
- अधिक क्रेता र विक्रेता: बजारमा खरिदबिक्री गर्ने क्रेता र विक्रेताको सङ्ख्या धेरै हुन्छ।
- समरूपी उत्पादन: सबै फर्मले उत्पादन गर्ने वस्तु गुणस्तर, आकार र स्वरूपमा एकैनासका हुन्छन्।
- बजारको पूर्ण ज्ञान: क्रेता र विक्रेता दुवैलाई बजारको मूल्य, वस्तुको गुणस्तर आदिको पूर्ण जानकारी हुन्छ।
- प्रवेश र बहिर्गमनमा स्वतन्त्रता: उद्योगमा नयाँ फर्महरूलाई प्रवेश गर्न र पुराना फर्महरूलाई बाहिरिन पूर्ण स्वतन्त्रता हुन्छ।
- सरकारी हस्तक्षेपको अभाव: मूल्य बजारको माग र पूर्तिले निर्धारण गर्छ, सरकारको हस्तक्षेप हुँदैन।
| वस्तुको बिक्री परिमाण (Q) | वस्तुको मूल्य (P) (Rs.) | कुल आय (TR) (Rs.) | औसत आय (AR) (Rs.) | सीमान्त आय (MR) (Rs.) |
|---|---|---|---|---|
| 1 | 10 | 10 | 10 | 10 |
| 2 | 10 | 20 | 10 | 10 |
| 3 | 10 | 30 | 10 | 10 |
| 4 | 10 | 40 | 10 | 10 |
| 5 | 10 | 50 | 10 | 10 |
| 6 | 10 | 60 | 10 | 10 |
रेखाचित्र:
व्याख्या: वक्ररेखा रचना गर्दा TR रेखा उद्गमविन्दु (0) बाट सुरु भई सीधा माथितिर 45 डिग्रीको कोणमा जान्छ भने AR र MR रेखा Y-अक्षको 10 को विन्दुबाट X-अक्षसँग समानान्तर सिधा रेखाका रूपमा खप्टिएर रहन्छन्।
- एक मात्र विक्रेता: बजारमा वस्तु उत्पादन र बिक्री गर्ने एउटा मात्र उत्पादक वा विक्रेता हुन्छ तर क्रेताहरू अधिक हुन्छन्।
- प्रतिस्थापन वस्तुको अभाव: यस बजारमा फर्मले उत्पादन गरेको वस्तुको सट्टामा प्रयोग गर्न मिल्ने अर्को कुनै निकट विकल्प बजारमा हुँदैन।
- प्रवेशमा निषेध: यो बजारमा अन्य नयाँ फर्म वा उत्पादकलाई प्रवेश गर्न कानुनी वा प्राविधिक रूपमा पूर्ण बन्देज हुन्छ।
- फर्म र उद्योगमा भिन्नता नहुने: एउटा मात्र फर्म हुने भएकाले यहाँ फर्म नै उद्योग हो र उद्योग नै फर्म हो।
- मूल्य निर्धारक: एकाधिकारी विक्रेता आफैँले वस्तुको मूल्य तोक्न सक्छ, ऊ मूल्य स्वीकारकर्ता नभई मूल्य निर्धारक (Price maker) हुन्छ।
| वस्तुको बिक्री परिमाण (Q) | वस्तुको मूल्य (P) (Rs.) | कुल आय (TR) (Rs.) | औसत आय (AR) (Rs.) | सीमान्त आय (MR) (Rs.) |
|---|---|---|---|---|
| 1 | 20 | 20 | 20 | 20 |
| 2 | 18 | 36 | 18 | 16 |
| 3 | 16 | 48 | 16 | 12 |
| 4 | 14 | 56 | 14 | 8 |
| 5 | 12 | 60 | 12 | 4 |
| 6 | 10 | 60 | 10 | 0 |
| 7 | 8 | 56 | 8 | -4 |
रेखाचित्र:
व्याख्या: वक्ररेखा रचना गर्दा TR वक्ररेखा सुरुमा बढेर छैटौँ एकाइमा अधिकतम (60) हुन्छ र त्यसपछि घट्छ। AR र MR रेखाहरू बायाँ माथिबाट दायाँ तल झर्छन्, जहाँ MR रेखा AR भन्दा तीव्र गतिमा झर्दै X-अक्ष काटेर ऋणात्मक (-4) हुन्छ।
४. लामो उत्तर आउने प्रश्नहरू [8 Marks]
- कुल आय (TR) वक्ररेखा: यो वक्ररेखा उद्गमविन्दु (Origin) बाट सुरु भएर स्थिर दरमा दायाँ माथितिर जान्छ।
- औसत (AR) र सीमान्त (MR) आय वक्ररेखा: वस्तुको मूल्य स्थिर हुने भएकाले AR र MR रेखाहरू X-अक्षसँग समानान्तर हुन्छन् र एकआपसमा खप्टिएका (Overlapping) हुन्छन्।
रेखाचित्र:
| वस्तुको बिक्री परिमाण (Q) | वस्तुको मूल्य (P) (Rs.) | कुल आय (TR) (Rs.) | औसत आय (AR) (Rs.) | सीमान्त आय (MR) (Rs.) |
|---|---|---|---|---|
| 1 | 5 | 5 | 5 | 5 |
| 2 | 5 | 10 | 5 | 5 |
| 3 | 5 | 15 | 5 | 5 |
| 4 | 5 | 20 | 5 | 5 |
| 5 | 5 | 25 | 5 | 5 |
| 6 | 5 | 30 | 5 | 5 |
रेखाचित्र:
आय वक्ररेखाहरूको प्रकृति:
- कुल आय (TR) वक्ररेखाको प्रकृति: बिक्री परिमाण वृद्धिसँगै कुल आय प्रत्येक पटक रु. 5 कै दरले बढेको छ। त्यसैले TR वक्ररेखा उद्गमविन्दुबाट सुरु भई स्थिर दरमा सिधा माथितिर (Upward sloping) गएको हुन्छ।
- औसत र सीमान्त आय वक्ररेखाको प्रकृति: मूल्य स्थिर भएकाले औसत आय (AR) र सीमान्त आय (MR) दुवै समान (रु. 5) छन्। तसर्थ, AR र MR वक्ररेखाहरू X-अक्षसँग समानान्तर सिधा रेखा (Horizontal straight line) का रूपमा रहन्छन्।
तालिका (एकाधिकार बजार):
| वस्तुको बिक्री परिमाण (Q) | मूल्य/औसत आय (AR) (Rs.) | कुल आय (TR) (Rs.) | सीमान्त आय (MR) (Rs.) |
|---|---|---|---|
| 1 | 10 | 10 | 10 |
| 2 | 9 | 18 | 8 |
| 3 | 8 | 24 | 6 |
| 4 | 7 | 28 | 4 |
| 5 | 6 | 30 | 2 |
| 6 | 5 | 30 | 0 |
| 7 | 4 | 28 | -2 |
रेखाचित्र:
वक्ररेखाहरूको प्रकृति (रचना स्पष्टीकरण):
- कुल आय (TR) वक्ररेखा: तालिकामा हेर्दा TR सुरुमा 10, 18, 24 हुँदै बढेको छ र छैटौँ एकाइमा 30 पुगेर अधिकतम भएको छ। सातौँ एकाइमा मूल्य घटाउँदा TR घटेर 28 भएको छ। तसर्थ, चित्रमा TR रेखा सुरुमा माथितिर बढ्दै गएर अधिकतम बिन्दु बनाउँछ र तल झर्छ।
- औसत आय (AR) वक्ररेखा: बिक्री बढाउन मूल्य घटाउनुपर्ने भएकाले AR वक्ररेखा बायाँ माथिबाट दायाँ तलतिर झरेको (Downward sloping) हुन्छ तर कहिल्यै शून्य वा ऋणात्मक हुँदैन।
- सीमान्त आय (MR) वक्ररेखा: MR वक्ररेखा पनि AR जस्तै तलतिर झरेको हुन्छ तर यसको घट्ने दर AR भन्दा छिटो हुने भएकाले यो AR रेखाभन्दा तल हुन्छ। तालिकाको छैटौँ एकाइमा MR शून्य (0) छ जहाँ वक्ररेखाले X-अक्ष छुन्छ र सातौँ एकाइमा ऋणात्मक (-2) हुँदा X-अक्षलाई काटेर तल जान्छ।
५. थप गणितीय र व्यावहारिक समस्याहरू
(Solved Numerical Problems)
गणितीय समस्याहरूको समाधान (Solved Numerical Problems)
समस्या ४: यदि एउटा फर्मले 20 एकाइ वस्तु बिक्री गर्दा Rs. 3,000 कुल आय आर्जन गर्छ भने औसत आय निकाल्नुहोस्।
समाधान:
कुल आय ($TR$) = Rs. 3,000, बिक्री परिमाण ($Q$) = 20
औसत आय ($AR$) = $$\frac{TR}{Q} = \frac{3000}{20} = \text{Rs. } 150$$
$\therefore$ औसत आय Rs. 150 हुन्छ।
समस्या ५: कुनै बिक्रेताले 10 ओटा झोला बेच्दा Rs. 2,000 कमाउँछ। 12 ओटा झोला बेच्दाु उसको कुल आय Rs. 2,240 पुग्छ भने सीमान्त आय कति होला?
समाधान:
सुरुको आय ($TR_1$) = Rs. 2,000, सुरुको परिमाण ($Q_1$) = 10
नयाँ आय ($TR_2$) = Rs. 2,240, नयाँ परिमाण ($Q_2$) = 12
आयमा भएको परिवर्तन ($\Delta TR$) = $2,240 – 2,000 = \text{Rs. } 240$
परिमाणमा भएको परिवर्तन ($\Delta Q$) = $12 – 10 = 2$
सीमान्त आय ($MR$) = $$\frac{\Delta TR}{\Delta Q} = \frac{240}{2} = \text{Rs. } 120$$
$\therefore$ सीमान्त आय Rs. 120 हुन्छ।
समस्या ६: एउटा फर्मले 40 वटा स्याउ बेचेर Rs. 2,000 आम्दानी गर्छ भने औसत आय कति हुन्छ?
समाधान:
$TR$ = Rs. 2,000, $Q$ = 40
औसत आय ($AR$) = $$\frac{TR}{Q} = \frac{2,000}{40} = \text{Rs. } 50$$
$\therefore$ औसत आय Rs. 50 हुन्छ।
समस्या ७: यदि 20 र 21 ओटा आँप बेच्दा क्रमशः Rs. 400 र Rs. 1,600 आय प्राप्त हुन्छ भने सीमान्त आय पत्ता लगाउनुहोस्।
समाधान:
$TR_1$ = 400, $TR_2$ = 1600,
$\Delta TR$ = $1600 – 400 = 1200$
$\Delta Q$ = $21 – 20 = 1$
सीमान्त आय ($MR$) = $$\frac{1200}{1} = \text{Rs. } 1,200$$
$\therefore$ सीमान्त आय Rs. 1,200 हुन्छ।
📚 Also Read: Class 10 SEE Notes
Compulsory Subjects
Optional Subjects
