Adhunik Kal (आधुनिक काल): Complete Class 12 Social Notes | Unit 6
An overview of Adhunik Kal (Modern Period) notes for NEB Class 12 Social Studies

एकाइ ६: नेपालको इतिहास (Nepalko Itihas)

पाठ ६: आधुनिक काल (Adhunik Kal)

यस पाठमा हामी नेपालको आधुनिक काल (Adhunik Kal), विशेषगरी पृथ्वीनारायण शाहबाट सुरु भएको नेपाल एकीकरण अभियान र त्यसलाई अगाडि बढाउने योद्धाहरूको योगदानबारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। नेपालको अखण्डता र सार्वभौमिकता जोगाउन हाम्रा पुर्खाहरूले पुऱ्याएको योगदान अविस्मरणीय छ।

१. तलका प्रश्नका उत्तर दिनुहोस् :

(क) नेपाल एकीकरण अभियान पृथ्वीनारायण शाहबाट भएपनि यसलाई टुङ्गोमा पुऱ्याउन धेरै व्यक्तिहरूको योगदान रहेको छ। एकीकरण अभियानमा योगदान पुऱ्याउने व्यक्तिहरूको खोजी गरी सूची तयार पार्नुहोस्।

उत्तर: नेपाल एकीकरण अभियान पृथ्वीनारायण शाहबाट सुरु भएपनि यसलाई टुङ्गोमा पुऱ्याउनेहरूमा धेरैको योगदान छ, जसमध्ये प्रमुखहरू निम्न छन्:

  • राजेन्द्रलक्ष्मी: वि.सं. १८३४ मा राजा प्रतापसिंह शाहको निधन भएपछि उनका छोरा नाबालक रणबहादुर शाह नेपालका राजा बने। राजेन्द्रलक्ष्मीले राजा रणबहादुर शाहको नायबीको रूपमा शासन गरिन्। उनको शासनकालमा लमजुङ, तनहुँ, कास्की लगायतका राज्यहरू नेपालमा गाभिए।
  • बहादुर शाह: बहादुर शाह पृथ्वीनारायण शाहका कान्छा छोरा तथा प्रतापसिंह शाहका भाइ थिए। उनले राजेन्द्रलक्ष्मीको मृत्युपश्चात् राजा रणबहादुर शाहका नायबको रूपमा शासनसत्ता सञ्चालन गरेका थिए। उनकै नायबी कालमा काजी दामोदर पाँडेअमरसिंह थापा (राना) को नेतृत्वमा नेपाली फौजले वि.सं. १८४३ जेठ १० गते गुल्मी विजय गऱ्यो। त्यसपछि चन्द्रकोट, खाँची, घुरकोट, इस्मा, पर्वत, प्युठान, दाङ, रोल्पा, जुम्ला, बझाङ र डोटीलाई पनि नेपालमा गाभ्न सफल भयो। नेपाली फौजले वि.सं. १८४७ चैत ११ गते कुमाउँको राजधानी अल्मोडा कब्जा गरी गढवालको राजधानी श्रीनगरसम्म नेपालको नियन्त्रणमा ल्यायो।
  • भीमसेन थापा: राजा रणबहादुर शाहले भीमसेन थापालाई मुख्तियार (प्रधानमन्त्री) बनाए। भीमसेन थापा नेपाललाई बलियो र समृद्धशाली देश बनाउन चाहन्थे। उनले नेपालको सिमाना सतलजसम्म विस्तार गरेका थिए। बहादुर शाहको समयमा छुटेका पाल्पा र सल्यानलाई पनि भीमसेन थापाले नेपालमा गाभ्न सफल भए।

(ख) नेपाल एकीकरण नभएको भए के हुन्थ्यो होला? कल्पना गरी आफ्नो धारणा प्रस्तुत गर्नुहोस्।

उत्तर: हजारौँ वर्ष लामो इतिहास बोक्न सफल भएको देशमध्ये नेपाल पनि एक हो। हाम्रा पुर्खाहरूको योगदानले आज पनि हाम्रो नेपाल कसैसामु झुक्न परेको छैन। यदि नेपाल एकीकरण नभएको भए आज हामी जसरी नेपाली भएकोमा गर्व गर्छौं, त्यो सायद सम्भव हुने थिएन। बाइसे, चौबिसे वा कुनै पनि राज्य बाँकी रहने थिएनन्, किनकि त्यतिबेला विश्वव्यापी रूपमा उपनिवेशिक शक्तिहरूले आँखा लगाइरहेका थिए। उपत्यकामा इस्वी संवत्का पादरीहरू प्रवेश गरिसकेका थिए भने विशाल ब्रिटिस साम्राज्यले नेपाललाई आफ्नो निशाना बनाइसकेको थियो। पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरी यसको अखण्डतालाई कायम नराखेको भए विशाल भारतलाई निल्न सक्ने अङ्ग्रेजले नेपाललाई बाँकी राख्ने थिएनन् र आज हामी आफूलाई स्वतन्त्र देश नेपालका स्वतन्त्र नेपाली जनता भन्न पाउने थिएनौँ। त्यसैले, हाम्रा पुर्खाहरूले गर्दा नै आज हामी स्वतन्त्र भएर खुशीसाथ जिउन र नेपाली हुँ भनेर गर्व गर्न पाएका छौँ।

(ग) नेपाल एकीकरणमा बहादुर शाह र राजेन्द्रलक्ष्मीको योगदानको चर्चा गर्नुहोस्।

उत्तर:

राजेन्द्रलक्ष्मी:
वि.सं. १८३४ मा राजा प्रतापसिंह शाहको निधन भएपछि उनका छोरा नाबालक रणबहादुर शाह नेपालका राजा बने। राजेन्द्रलक्ष्मीले राजा रणबहादुर शाहको नायबीको रूपमा शासन गरिन्। उनले आफ्ना ससुरा पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानलाई निरन्तरता दिइन्। उनको कार्यकुशलता, अदम्य साहस र कुटनीतिक चातुर्यले नेपाललाई चौबिसी राज्यबाट सुरक्षित मात्रै राखेन, उनको शासनकालमा लमजुङ, तनहुँ, कास्की लगायतका राज्यहरू नेपालमा गाभिए।

बहादुर शाह:
बहादुर शाह पृथ्वीनारायण शाहका कान्छा छोरा थिए। उनले राजेन्द्रलक्ष्मीको मृत्युपश्चात् राजा रणबहादुर शाहका नायबको रूपमा शासनसत्ता सञ्चालन गरेका थिए। उनकै नायबी कालमा काजी दामोदर पाँडेअमरसिंह थापा (राना) को नेतृत्वमा नेपाली फौजले वि.सं. १८४३ मा गुल्मी, चन्द्रकोट र खाँचीलाई नेपालमा एकीकरण गऱ्यो। त्यसलगत्तै घुरकोट, इस्मा, पर्वत, प्युठान, दाङ र रोल्पाको पनि एकीकरण भयो। उनको समयमा नेपालको सिमाना गढवालको श्रीनगरसम्म पुग्यो। बहादुर शाहको नायबीमा नेपाल एकीकरण द्रुत गतिमा अगाडि बढिरहेकै समयमा नेपाल र चीन बीच युद्ध भयो, जसले एकीकरण अभियानमा केही समयका लागि पूर्णविराम लगायो। पछि, राजा रणबहादुर शाह र उनका काका बहादुर शाह बीच मनमुटाव बढ्दै जाँदा रणबहादुर शाहले बहादुर शाहलाई जेल हाले।

यो पनि पढ्नुहोस्

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top