Complete Guide to Hamra Rashtriya Gaurav (हाम्रा राष्ट्रिय गौरव) | Class 10 Social Notes
An overview of Hamra Rashtriya Gaurav notes for SEE Class 10 Social Studies

एकाइ १: हामी र हाम्रो समाज (Hami ra Hamro Samaj)

पाठ ४: हाम्रा राष्ट्रिय गौरव (Hamra Rashtriya Gaurav)

१. राष्ट्रिय गौरव भनेको के हो? हाम्रा राष्ट्रिय गौरव (Hamra Rashtriya Gaurav) का केही उदाहरण दिनुहोस्।

उत्तर: आत्मसम्मानको अनुभूतिलाई गौरव भनिन्छ। नेपाललाई विश्वमा चिनाउने चिनारी र नेपाली हुनुमा गौरव गर्ने इतिहास, संस्कृति, मूल्यमान्यता, सम्पदा र सम्मान गर्ने बानीलाई नै राष्ट्रिय गौरव भनिन्छ। लुम्बिनी, जानकी मन्दिर, सगरमाथा, र नेपाली वीरता आदि हाम्रा राष्ट्रिय गौरवका प्रमुख उदाहरण हुन्। यिनले नेपाल एक विविधतामा परिपूर्ण देश हो भन्ने देखाउँछ।

२. ‘नेपालले बहुसांस्कृतिक विशेषता राख्दछ’ भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर: नेपालमा सयौँ जाति रहेका छन्, सयौँ भाषा बोलिन्छन्, र विभिन्न मूल्यमान्यता र प्रचलन रहेका छन्। यहाँ थुप्रै जातिका मानिसहरूले थुप्रै चाडपर्व मनाउँछन्। रहनसहन, खानपान, जन्म र मृत्युका प्रचलनहरू पनि फरक-फरक छन्। यसको अर्थ नेपालमा धेरै संस्कृतिहरू रहेका छन्। तराई-मधेशमा थारु र मिथिला संस्कृतिदेखि पहाड तथा हिमालसम्म तामाङ तथा मगर लगायतका थुप्रै संस्कृतिको मेलबाट नेपाली संस्कृतिको निर्माण भएको छ। तसर्थ, नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो।

३. मानौँ तपाईं विदेश भ्रमणमा हुनुहुन्छ। त्यहाँको कुनै कार्यक्रममा तपाईंलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने के-के विषयवस्तु प्रस्तुत गर्नुहुन्छ?

उत्तर: विदेश भ्रमणमा गएका बेला कुनै कार्यक्रममा मलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने निम्न विषयवस्तु प्रस्तुत गर्छु :-

  • शान्तिका दूत गौतम बुद्धको जन्मभूमि र शान्तिपूर्ण देशको रूपमा नेपालको परिचय।
  • विश्वको सर्वोच्च शिखर सगरमाथा सम्बन्धी जानकारी।
  • वेदका ज्ञाता वेदव्यास र उनको योगदान सम्बन्धी विषयवस्तु।
  • विदुषी जानकी र कलाकार अरनिको सम्बन्धी विषयवस्तु।
  • नेपालको अनुपम भौगोलिक विविधता र प्राकृतिक सुन्दरता सम्बन्धी विषयवस्तु।

४. “हामी वीर नेपालीका सन्तान हौं, कसैले हाम्रो मानमर्दन गरेमा सो क्रिया हामीलाई कहिल्यै स्वीकार्य हुँदैन” भन्ने भनाइलाई सन्दर्भसहित व्यक्त गर्नुहोस्।

उत्तर: हामी वीर नेपालीका सन्तान हौं। विश्वभर नै नेपालीलाई वीर भनेर चिनिन्छ। नेपालीको वीरताको प्रशंसा विश्वभर नै मुक्तकण्ठले हुन्छ। आज पनि विश्वशान्तिका लागि नेपाली सेनाको योगदान अविस्मरणीय छ। जहाँ-जहाँ नेपाली सेना छ, त्यहाँ इमानदारिता र वीरता छ। त्यसैले, कसैले हाम्रो मानमर्दन गरेमा वा हामीलाई हेप्ने कार्य गरेमा त्यो कार्य कदापि स्वीकार्य हुँदैन। विगतमा भएको भारतीय नाकाबन्दीको दृढतापूर्वक सामना गर्नु यसको गतिलो जवाफ हो।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top