एकाइ ७: हाम्रो विगत (Hamro Bigat)
पाठ ३: वि.सं. २०१७ देखि २०४६ सम्मका राजनीतिक घटनाहरू (B.S. 2017 dekhi 2046 sammaka rajnitik ghatnaharu)
यस पाठमा पढ्नुहोस्
१. पञ्चायती व्यवस्थाको परिचय दिई यस व्यवस्थाको उदय र पतनका कारण लेख्नुहोस्।
उत्तर: समयमा नै विधानसभाको निर्वाचन हुन नसक्दा सङ्क्रमण काल लामो समयसम्म रहन गयो। यो अवधि अस्थिर अवधिका रूपमा चिनिन पुग्यो। भ्रष्टाचार, अनियमितता, दलहरूबिचमा बेमेल जस्ता थुप्रै समस्या देखापरे। यसैलाई आधार मानेर राजा महेन्द्रले वि.सं. २०१७ पुस १ गते संसद र सरकारलाई निलम्बन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए। त्यसपछि देशमा निर्दलीय शासन व्यवस्थाको सुरुआत भयो। वि.सं. २०१७ पुस २२ गतेबाट राजाले विधिवत् रूपमा पञ्चायती व्यवस्था (Panchayati Byabastha) को सुरुआत गरे। यस व्यवस्थालाई कानुनी वैधता दिन २०१९ साल पुस १ गते नेपालको संविधान, २०१९ घोषणा भई लागू भयो।
यस व्यवस्थाको उदयका कारणहरू निम्न छन् :-
- (क) २००७ सालमा पूर्ण अधिकार प्राप्त नहुनु
- (ख) विधान सभाबाट संविधान निर्माण गर्ने र दिल्ली सम्झौता कार्यान्वयन नहुनु
- (ग) दलहरूमा आपसी बेमेल हुनु र अनुभव तथा परिपक्वताको कमी रहनु
- (घ) राजा महेन्द्रको प्रत्यक्ष शासन गर्ने चाहना
- (ङ) भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती बढ्नु
- (च) संसदीय व्यवस्था नयाँ हुनु, जनतामा चेतनाको कमी रहनु तथा वैदेशिक हस्तक्षेप बढ्नु।
यस व्यवस्थाको पतनका कारणहरू निम्न छन् :-
- (क) निरङ्कुशता
- (ख) जनतामा शिक्षा र चेतनास्तर बढ्दै जानु
- (ग) मौलिक हक र मानव अधिकारको हनन हुनु
- (घ) राजनीतिक दलहरू एकजुट भई आन्दोलन गर्नु र जनसहभागिता बढ्नु
- (ङ) विरोधीलाई दमन गर्ने र हत्या गर्ने क्रममा वृद्धि हुनु
- (च) भ्रष्टाचार बढ्नु।
२. अन्तरिम सरकार भनेको के हो?
उत्तर: राजनीतिक परिवर्तनपछि अर्थात् कुनै एक परिपाटी वा व्यवस्था हटेपछि नयाँ व्यवस्थालाई विधिवत् रूपमा स्थापना गर्ने जिम्मेवारी पाएको अन्तरिम कालको सरकारलाई अन्तरिम सरकार (Antarim Sarkar) भनिन्छ। वि.सं. २०४६ मा बहुदलीय व्यवस्था पुनः स्थापना भएपछि कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय अन्तरिम सरकार गठन गरी संविधान निर्माण गर्ने र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी तोकिएको थियो।
३. निरङ्कुशता भनेको के हो? यस व्यवस्थाका बेफाइदा लेख्नुहोस्।
उत्तर: निरङ्कुशतालाई निरङ्कुश तन्त्र पनि भनिन्छ। स्वेच्छाचारिता, छाडापन र शासकको स्तुति गान गर्नुपर्ने व्यवस्थालाई निरङ्कुशता (Nirankushata) भनिन्छ। यसमा जनताको मौलिक हक र मानव अधिकारको प्रत्याभूति गरिएको हुँदैन।
यस व्यवस्थाका बेफाइदा निम्न छन् :-
- (क) एकतन्त्रीय केन्द्रीकृत शासन व्यवस्था हुने
- (ख) शासकहरूको गुणगान गाउनुपर्ने
- (ग) मौलिक हक र मानव अधिकारको प्रत्याभूति नहुने
- (घ) विरोधीहरूको दमन र हत्या गरिने
- (ङ) आवधिक निर्वाचन नहुने
- (च) एकात्मक केन्द्रीकृत शासन व्यवस्था हुने
- (छ) गरिबी, अन्याय, अत्याचार बढी हुने।
४. जनमत सङ्ग्रह भनेको के हो? नेपाली जनमत सङ्ग्रहको पृष्ठभूमि उल्लेख गर्नुहोस्।
उत्तर: कुनै विषयमा जनताको राय वा विचार थाहा पाउनका लागि जनमत सङ्ग्रह (Janamat Sangraha) गरिन्छ। विशेष परिस्थितिमा समसामयिक विषयमा जनताको मत बुझ्ने यो प्रयास विश्वका विभिन्न देशमा अपनाइएको छ। जनमत लिन चाहेको विषयको पक्ष वा विपक्ष, समर्थन वा विरोधमा जनताले आफ्नो मत प्रकट गर्दछन्। दुई वा दुईभन्दा बढी विकल्प भएमा कुनै एकमा निर्णय दिन गरिने मतदान वा जनताको राय नै जनमत सङ्ग्रह हो। तत्कालीन पाकिस्तानी प्रधानमन्त्रीलाई फाँसी दिएको विरोधमा नेपालका विद्यार्थी सङ्गठनले पाकिस्तानी दूतावासमा ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रहरी हस्तक्षेप भएपछि आक्रोशित विद्यार्थीले आन्दोलन निरन्तर अघि बढाए। यो आन्दोलनमा जनताको पनि साथ र समर्थन रह्यो। त्यसपछि बाध्य भएर राजा वीरेन्द्रले २०३६ साल जेठ १० गते सुधारिएको पञ्चायती व्यवस्था वा बहुदलीय शासन व्यवस्था भन्ने दुईओटा विकल्पसहित जनमत सङ्ग्रहको घोषणा गरे। तसर्थ, नेपाली जनमत सङ्ग्रहको पृष्ठभूमि विद्यार्थी आन्दोलन रहेको देखिन्छ।
५. बहुदलीय व्यवस्थाका सबल पक्ष उल्लेख गर्नुहोस्।
उत्तर: बहुदलीय व्यवस्था (Bahudaliya Byabastha) का सबल पक्ष निम्न छन् :-
- (क) प्रजातान्त्रिक शासन व्यवस्था हुने
- (ख) आवधिक निर्वाचनका माध्यमबाट निर्वाचित जनप्रतिनिधिले शासन सञ्चालन गर्ने
- (ग) मौलिक हक र मानव अधिकारको प्रत्याभूति हुने
- (घ) विकेन्द्रित र जनमुखी शासन व्यवस्था हुने
- (ङ) गरिबी निवारण, अन्याय, अत्याचारको अन्त्यका लागि विशेष व्यवस्था हुने
- (च) शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षाको राम्रो प्रबन्ध गरिने।
Next Chapter:
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us