Complete Guide to Ushna Mandal (उष्ण मण्डल) | Class 10 Social Notes
An overview of Ushna Mandal (उष्ण मण्डल) notes for SEE Class 10 Social Studies

एकाइ ६: हाम्रो पृथ्वी (Hamro Prithvi)

पाठ ३: उष्ण मण्डल (Ushna Mandal)

१. भूमध्यरेखीय र उष्ण मरुस्थलीय हावापानीबीच फरक छुट्याउनुहोस् ।

उत्तर: भूमध्यरेखीय र उष्ण मरुस्थलीय हावापानीबीचको फरक तल प्रस्तुत गरिएको छ:

भूमध्यरेखीय हावापानी उष्ण मरुस्थलीय हावापानी
क) औसत तापक्रम २७° सेल्सियस र तापान्तर २° सेल्सियस मात्र हुन्छ । क) दिनमा ४०° र रातमा १०° भन्दा कम तापक्रम हुन्छ ।
ख) दिनमा गर्मी र रातमा न्यानो मौसम हुन्छ । ख) दिनमा ज्यादै गर्मी र रातमा ज्यादै चिसो हुन्छ ।
ग) दिन र रातको समय बराबर रहने तथा ऋतु परिवर्तन हुँदैन । ग) दिन र रातको तापान्तर अत्यधिक रहने गर्छ ।
घ) औसत वर्षा २०० से.मि. सम्म हुन्छ । घ) औसत वर्षा १२ से.मि. सम्म हुन्छ ।

२. नेपाल मौसमी हावापानीका क्षेत्रमा पर्ने भए तापनि हिमाली, पहाडी र तराई क्षेत्रका वनस्पतिबीचमा समानता छैन । कारण उल्लेख गर्नुहोस् ।

उत्तर: नेपालमा हिमाली, पहाडी र तराई क्षेत्र रहेको छ । यो भौगोलिक विविधताले गर्दा तराई क्षेत्रमा ज्यादा गर्मी हुन्छ भने पहाडी क्षेत्रमा कम गर्मी हुन्छ । त्यस्तै हिमाली क्षेत्रमा ज्यादै चिसो हुन्छ । तराई क्षेत्र समथर भूभागका रूपमा रहेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा अग्ला पहाडहरू रहेका छन् । तराई क्षेत्रदेखि हिमालसम्मको समुद्री सतहबाट उचाइमा निकै भिन्नता रहेको छ । यसले गर्दा हावापानीमा विविधता छ । हावापानीमा विविधता भएकाले वनस्पतिमा पनि विविधता रहेको छ अर्थात् समानता छैन ।

३. सभाना क्षेत्रमा बस्ने र अमेजन क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनशैलीमा के के भिन्नता छ ?

उत्तर: सभाना क्षेत्रमा बस्ने मानिसको जीवनस्तर खासै विकसित छैन । मसाई र हाउसा जातिका मानिसहरू अझै पुरानै रीतिरिवाजमा रमाउने र पशुहरू चराउँदै घाँसपानीको खोजीमा फिरन्ते जीवन जिउन बाध्य छन् । आजभोलि आधुनिकता भित्रिन थालेको छ । अमेजन क्षेत्रमा बसोबास गर्ने आदिवासी रेड इन्डियन र गिनी क्षेत्रका पिग्मीहरूको जनजीवन निकै असहज रहेको छ । तिनीहरू फिरन्ते स्वभावका थिए । कन्दमूल सङ्कलन गर्ने, सिकार गर्ने, पशुपालन गर्ने, अस्थायी रूपले खेतीपाती गर्ने जस्ता गतिविधि गर्थे ।

४. उष्ण तृणभूमिका मानिसको कमजोर आर्थिक अवस्थालाई पर्यटन विकास गरी सुधार गर्न सकिन्छ । यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

उत्तर: उष्ण तृणभूमिका मानिसको आर्थिक अवस्था निकै कमजोर रहेको छ र जीवनस्तर विकसित छैन । यहाँको आर्थिक अवस्थालाई पर्यटनको विकास गरी सुधार गर्न सकिन्छ । यस क्षेत्रमा जिराफ, जेब्रा, हात्ती, अर्ना जस्ता जनावर पाइन्छन् । धेरै प्रकारका जीवजनावर पाइने हुनाले यस क्षेत्रलाई ‘संसारको चिडियाखाना’ भनिन्छ । यहाँ विभिन्न राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रको स्थापना हुन थालेको छ । त्यस्तै यो क्षेत्र फिल्म सुटिङको गन्तव्य पनि बन्न थालेको छ । यी कुराहरूको प्रचारप्रसार गरी पर्यटन क्षेत्रको विकासका माध्यमबाट यहाँको आर्थिक अवस्था सुधार गर्न सकिन्छ ।

५. मरुद्यान भनेको के हो ? यसको महत्त्व सम्बन्धमा चर्चा गर्नुहोस् ।

उत्तर: उष्ण मरुस्थलीय क्षेत्रमा मरुस्थल मात्र भए पनि कतै कतै पानी पाइन्छ । त्यहाँ आधुनिक प्रविधिको सहायताले खेतीपाती गरेको भेटिन्छ । यस्तो खेतीपाती गरिएको र हरियालीयुक्त क्षेत्रलाई मरुद्यान भनिन्छ । मरुद्यानको आसपासका क्षेत्रमा पाम जातिका वनस्पति पाइन्छन् । मरुद्यानमा बस्ती बाक्लो पाइन्छ । मरुस्थलमा अन्न उब्जिने प्रमुख ठाउँ र बाक्लो बसोबास रहेको क्षेत्र भएकाले मरुद्यानको ठूलो महत्त्व रहेको छ ।

कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।

Contact Us
Scroll to Top