एकाइ ३: हाम्रा सामाजिक मूल्य र मान्यता (Hamra Samajik Mulya ra Manyata)
पाठ ८: हाम्रो सामाजिक दायित्व (Hamro Samajik Dayitwa)
यस पाठमा पढ्नुहोस्
१. ज्येष्ठ नागरिकको महत्त्व कुनै चार बुँदामा उल्लेख गर्नुहोस्।
उत्तर: ज्येष्ठ नागरिकको महत्त्वलाई निम्न बुँदाका माध्यमबाट स्पष्ट पार्न सकिन्छ:
- समुदायको संरचना गर्ने व्यक्ति: उहाँहरूले समाजको जग बसाल्नुभएको हुन्छ र सामाजिक संरचनालाई जीवन्त राख्नुभएको हुन्छ।
- ज्ञान र परम्पराका संरक्षक: सामाजिक र सांस्कृतिक ज्ञान, मूल्य-मान्यता, र परम्पराहरूलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने महत्वपूर्ण भूमिका खेल्नुहुन्छ।
- अनुभवका भण्डार: आफ्नो जीवनको लामो भोगाइबाट प्राप्त गर्नुभएको अनुभव र ज्ञानको अपार भण्डार उहाँहरूसँग हुन्छ, जुन नयाँ पुस्ताका लागि अमूल्य हुन्छ।
- सच्चा मार्गदर्शक: उहाँहरूले समाजलाई सत्मार्गमा हिँड्न र असल मूल्यमान्यताको पालना गर्न दिशानिर्देश गर्ने पथप्रदर्शकको काम गर्नुहुन्छ।
२. “ज्येष्ठ नागरिक हाम्रा पथप्रदर्शक, संस्कृति, मूल्यमान्यता र परम्पराका स्रोत हुन्।” यस भनाइलाई विकाससहित पुष्टि गर्नुहोस्।
उत्तर: ज्येष्ठ नागरिकहरूले आफ्नो जीवनमा प्रशस्त उतारचढाव भोगेका हुन्छन्। त्यही उतारचढाव र भोगाइका कारण ज्येष्ठ नागरिकहरूमा अथाह अनुभव र ज्ञानको भण्डार रहेको हुन्छ। तसर्थ, उहाँहरू हाम्रा असल पथप्रदर्शक हुन्। हामीलाई सधैँ सत्मार्गमा लाग्न प्रेरित गर्ने प्रेरक पनि हुन् ज्येष्ठ नागरिकहरू। समाज निर्माणमा उहाँहरूको ठुलो योगदान रहेको छ। आज हामीले जुन सांस्कृतिक गौरव प्राप्त गरेका छौँ, त्यो उहाँहरूकै योगदान हो। संस्कृतिको स्रोत, पुस्तान्तरण र हस्तान्तरणको माध्यम ज्येष्ठ नागरिक नै हुन्। सांस्कृतिक ज्ञान, मूल्य-मान्यता र परम्पराका धरोहरका रूपमा ज्येष्ठ नागरिक रहेका छन्।
३. असहाय र अपाङ्गता भएका व्यक्तिको सुविधा र संरक्षणका लागि भएका कानूनी व्यवस्थाहरू के के छन्, उल्लेख गर्नुहोस्।
उत्तर: असहाय र अपाङ्गता भएका व्यक्तिको सुविधा र संरक्षणका लागि भएका कानूनी व्यवस्थाहरू निम्नानुसार छन्:
- नेपालको संविधान २०७२ मा वृद्ध, अपाङ्ग, अशक्त, र असहाय नागरिकलाई कानूनमा व्यवस्था भएबमोजिम सामाजिक सुरक्षासम्बन्धी हक प्रदान गर्ने प्रावधान छ।
- राज्यका नीतिहरूमा असहाय, वृद्ध, अपाङ्ग, अशक्तको संरक्षण र उन्नतिका लागि सामाजिक सुरक्षाको विशेष व्यवस्था गर्ने नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ।
- अपाङ्गता भएका व्यक्तिहरूका लागि, राज्यको प्रमुख प्रवाहमा पारिटोषण गर्न र राज्यका सबै संगठनहरूमा आरक्षणको प्रावधान छ।
- सार्वजनिक स्थलमा अपाङ्ग मैत्री वातावरण बनाउँदै विशेष संरक्षण प्रदान गर्ने प्रयास गरिएको छ।
४. अपाङ्गता भएका व्यक्तिलाई दया माया होइन, अवसर प्रदान गर्नुपर्छ, किन?
उत्तर: दया मायाले मात्र अपाङ्गता भएका व्यक्तिहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिँदैन। उनीहरूका समस्या समाधान गरी दिगो रूपमा सम्मानजनक ढङ्गबाट रहन सक्ने अवस्थाको सिर्जना हुनु जरुरी छ। त्यसका लागि उनीहरूको क्षमता पहिचान गर्ने र क्षमताअनुरूपको रोजगारी तथा स्वरोजगारीको व्यवस्था गर्न सकेमा मात्र उनीहरूप्रतिको दृष्टिकोण बदलिन्छ। अपाङ्गता भएका व्यक्तिले पनि गर्न सक्छन् भन्ने तथ्य सबैले बोध गर्छन्।
तसर्थ, अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाई सम्मानजनक रूपमा जिउने अवसर प्रदान गर्न दया माया मात्र पर्याप्त हुँदैन, अवसर प्रदान गर्नुपर्छ। राज्यले अपाङ्गता भएका व्यक्तिलाई शिक्षाको अवसर दिएको छ। अन्य क्षेत्रमा अवसर दिएको छ। यसले उनीहरूलाई आत्मनिर्भर र सम्मानको जीवन व्यतीत गर्ने अवस्थाको सिर्जना भएको छ।
Next Unit
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us