एकाइ ९: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग
पाठ ३: संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरू (Samyukta Rashtrasangh ka Bishishtikrit Sansthaharu)
यस पाठमा पढ्नुहोस्
१. संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूको सूची तयार पार्नुहोस् ।
उत्तर: संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरू (Samyukta Rashtrasangh ka Bishishtikrit Sansthaharu) निम्न छन् :-
- (क) अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO)
- (ख) खाद्य तथा कृषि सङ्गठन (FAO)
- (ग) विश्व स्वास्थ्य सङ्गठन (WHO)
- (घ) अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)
- (ङ) संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (UNESCO)
- (च) विश्व बैंक (World Bank)
- (छ) अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (ITU)
- (ज) विश्व हुलाक सङ्घ (UPU)
- (झ) अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्घ (ICAO)
- (ञ) विश्व जलवायु सङ्गठन (WMO)
- (ट) विश्व बौद्धिक सम्पत्ति सङ्गठन (WIPO)
- (ठ) अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (IMO)
- (ड) संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन (UNIDO)
- (ढ) अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD)
- (ण) विश्व पर्यटन सङ्गठन (UNWTO)
२. युनेस्कोले नेपालको शैक्षिक तथा सांस्कृतिक विकासमा पुऱ्याएको योगदानको चर्चा गर्नुहोस् ।
उत्तर: काठमाडौँमा युनेस्कोको कार्यालय सन् १९९८ मा स्थापना भएको थियो । त्यसबेलादेखि यो कार्यालयले शान्ति निर्माणमा योगदान पुऱ्याउने उद्देश्यले शिक्षा, विज्ञान, संस्कृति, सञ्चार र सूचना जस्ता क्षेत्रमा कार्य गर्दै आएको छ । युनेस्कोले नेपालमा गरिबी निवारण, दिगो विकास र अन्तरसांस्कृतिक संवादलाई बढावा दिन शैक्षिक तथा सांस्कृतिक विकासमा योगदान दिएको छ ।
युनेस्कोले नेपालमा सबैका लागि गुणस्तरीय शिक्षा हासिल गर्न, महिला सशक्तीकरण र साक्षरतामा ध्यान केन्द्रित गर्न, भूकम्पपछिको सांस्कृतिक सम्पदाको पुनर्स्थापना गर्न, सांस्कृतिक विविधता र अन्तरसांस्कृतिक संवादलाई प्रवर्धन गर्न, वैज्ञानिक ज्ञान परिचालन गर्ने, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, मिडिया विकास र वकालत गर्न काम गरिरहेको छ । यसले देशका अन्य विकास साझेदारहरूसँग नजिकबाट सहकार्य गरेर काम गर्ने गर्छ । यसरी सबैका लागि शिक्षाको अवसर प्रदान गर्न युनेस्कोले सहयोग गरेको छ । त्यस्तै, सांस्कृतिक सम्पदाको संरक्षणमा पनि यसले सहयोग गरेको छ । तसर्थ, नेपालको शैक्षिक तथा सांस्कृतिक विकासमा युनेस्कोको योगदान निकै महत्त्वपूर्ण रहेको पाइन्छ ।
३. विश्व हुलाक सङ्घको उपयोगिता अहिलेको समयमा कति सान्दर्भिक छ जस्तो लाग्छ ? तर्क प्रस्तुत गर्नुहोस् ।
उत्तर: विश्व हुलाक सङ्घ ९ अक्टोबर १८७४ मा स्थापित र १ जुलाई १९४८ मा संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्था बनेको हो । यसले मुख्य रूपमा सुरक्षित, कुशल र व्यवस्थित रूपमा विश्वभर हुलाक वस्तु वितरण गर्ने कार्य गर्दछ । यसै गरी, निश्चित नियमअनुसार एक राष्ट्रले अर्को राष्ट्रमा पठाउने हुलाक वस्तुहरूको दर निर्धारण गर्ने कार्य समेत गर्दछ । हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउनु यसको प्रमुख कार्य हो ।
यसका हाल १९२ राष्ट्र सदस्य रहेका छन् । यस संस्थाले भौतिक तथा डिजिटल दुवै रूपमा आफ्ना सेवा उपलब्ध गराउँछ । यसले आधुनिक प्रविधिको प्रयोग गरी विश्व हुलाक सेवालाई सुरक्षित, भरपर्दो, व्यवस्थित र प्रभावकारी बनाउँदै आएको छ । यस संस्थाले सल्लाहकार, मध्यस्थता र सम्पर्कको भूमिका पूरा गर्छ र आवश्यक भएमा प्राविधिक सहयोग प्रदान गर्दछ । यसले अन्तर्राष्ट्रिय मेल एक्सचेन्जका लागि नियमहरू बनाउँछ र मेल, पार्सल र वित्तीय सेवाहरूको मात्रामा वृद्धि गर्न र ग्राहकहरूका लागि सेवाको गुणस्तर सुधार गर्न सिफारिस गर्दछ । तसर्थ, अहिले पनि यसको उपयोगितामा कमी आएको छैन । यसको सान्दर्भिकता आज पनि उत्तिकै छ जति हिजो थियो ।
४. नेपालको कृषि क्षेत्रको विकासका लागि योगदान पुऱ्याउने विशिष्टीकृत संस्थाहरू पहिचान गरी तिनीहरूका कार्य उल्लेख गर्नुहोस् ।
उत्तर: नेपालको कृषि क्षेत्रको विकासका लागि योगदान पुऱ्याउने प्रमुख विशिष्टीकृत संस्थाहरू र तिनीहरूका कार्यहरू निम्नानुसार छन्:
- (क) खाद्य तथा कृषि सङ्गठन (FAO): यसले नेपालमा भोकमरी अन्त्य गर्न, खाद्य सुरक्षा सुनिश्चित गर्न, र कृषि उत्पादकत्व बढाउन प्राविधिक सहयोग र नीतिगत परामर्श प्रदान गर्दछ ।
- (ख) अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD): यसले ग्रामीण क्षेत्रका गरिब किसानहरूको आयआर्जन बढाउन र जीवनस्तर सुधार गर्न विभिन्न कृषि परियोजनाहरूमा वित्तीय लगानी गर्दछ ।
५. निषेधाधिकार भनेको के हो ? यसको प्रयोग कसले गर्छ ?
उत्तर: संयुक्त राष्ट्रसङ्घका केही शक्तिशाली राष्ट्रले प्राप्त गरेको प्रस्तावित कार्यमा रोक लगाउने अधिकार वा विशेषाधिकारलाई निषेधाधिकार (Veto) भनिन्छ । यसको प्रयोग संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा रहने ५ स्थायी सदस्य राष्ट्रले गर्छन् । यसअन्तर्गत अमेरिका, रुस, चीन, फ्रान्स र बेलायत पर्दछन् ।
अर्को पाठ
यो पनि पढ्नुहोस्
कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us