एकाइ ११: स्वास्थ्य सेवा र सामाजिक विकास
पाठ ४: किशोरावस्था र स्वास्थ्य जीवनशैली
यस पाठमा हामीले किशोरावस्था र स्वास्थ्य जीवनशैली (Kishoravastha ra Swasthya Jivanashaili) बारे विस्तृत रूपमा अध्ययन गर्नेछौँ। किशोरावस्था जीवनको एक संवेदनशील र महत्त्वपूर्ण चरण हो, जहाँ शारीरिक, मानसिक र संवेगात्मक परिवर्तनहरू तीव्र गतिमा हुन्छन्। यस अवस्थामा स्वस्थ जीवनशैली अपनाउनु भविष्यको लागि निकै आवश्यक हुन्छ।
Kishoravastha ra Swasthya Jivanashaili
अभ्यासका विषयहरू
१. किशोरावस्थाको परिचय दिनुहोस्।
उत्तर: शारीरिक विकासका विभिन्न चरणहरूमध्ये किशोरावस्था एउटा महत्त्वपूर्ण चरण हो। १० देखि १९ वर्षसम्मको उमेर समूहलाई किशोरावस्था भनिन्छ। साधारण शब्दमा भन्नुपर्दा, बाल्यावस्था र युवावस्था बिचको उमेरलाई किशोरावस्था भनिन्छ। यस अवस्थामा केटा र केटी दुवैमा शारीरिक परिवर्तन देखा पर्नुका साथसाथै मानसिक स्थितिमा समेत परिवर्तन आउँछ। यसै बेलादेखि केटा र केटीमा यौवनको सुरुवात हुन्छ। यो उमेरमा अरूको देखासिकी गर्न मन पराउनुका साथै व्यक्ति विपरीत लिङ्गीप्रति आकर्षित हुन थाल्छ।
किशोरावस्थामा किशोरकिशोरीहरूमा तीव्र रूपमा शारीरिक तथा मानसिक परिवर्तन हुने अवस्था हो। यो उमेरमा हुने शारीरिक तथा मानसिक परिवर्तनले उनीहरूका सोचाई, आशा, आकाङ्क्षा जस्ता कुराहरू समाज र परिवारले तोकेको वा मान्दै आएको विश्वास तथा मान्यताहरूभन्दा फरक हुन सक्छन्। जसले गर्दा किशोरकिशोरीले आफूलाई असहज र अप्ठ्यारो स्थितिमा भएको महसुस गर्न सक्छन्। यो बेला उनीहरूलाई आफूमा आएको परिवर्तनलाई सजिलै आत्मासात् गर्न सक्ने बनाउनका लागि उचित ज्ञान दिनु आवश्यक हुन्छ। यस्तो स्थितिमा उचित वातावरण (शिक्षा, सूचना तथा परामर्श आदि) को अभाव हुन दिनु हुँदैन। उचित वातावरण सिर्जना गरी किशोरकिशोरीलाई परिवर्तनको क्रममा हुने विभिन्न उतारचढावहरूलाई व्यवस्थापन गर्न सक्ने बनाउनुपर्छ। किशोरावस्था र यसमा हुने शारीरिक, संवेगात्मक र सामाजिक परिवर्तनहरू प्राकृतिक हुन् भनी बुझाउनुका साथै किशोरावस्थामा हुने परिवर्तनहरू जस्तै: यौन अङ्गको विकास हुने, हस्तमैथुन गर्ने बानी बस्ने, स्वप्नदोष हुने र महिनावारी हुने जस्ता परिवर्तनका प्रचलित धारणाहरूबारे जानकारी गराइरख्नुपर्छ।
२. किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो, किन?
उत्तर: किशोरावस्था भनेको एउटा व्यक्तिको जीवनको त्यो समयावधि हो जतिबेला ऊ बालक त रहँदैन, तर युवा पनि भइसकेको हुँदैन। विश्व स्वास्थ्य संगठनले १० देखि १९ वर्षको उमेर समूहको व्यक्तिलाई किशोरकिशोरी भनेको छ।
किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो। यस बेला व्यक्ति विभिन्न शारीरिक तथा मानसिक परिवर्तनहरूबाट गुज्रिन्छ। यस अवस्थामा किशोरकिशोरीहरूले आफ्नो शरीरमा आउने थुप्रै परिवर्तनहरू र मनमा आउने भावनाहरूको सामना गर्नुपर्ने हुन्छ। यस बेला किशोरकिशोरीहरूमा आफ्नो परिवार र साथीसङ्गीहरूसँगको भावनात्मक तथा संवेगात्मक सम्बन्धमा परिवर्तन आउँछ। उसले सामाजिक अपेक्षाहरू र आफूप्रतिको हेराइमा परिवर्तन आएको अनुभूति गर्छ। उसको शारीरिक विकास हुँदा यौनिक आकर्षण बढ्दै जाने र परिपक्वता आउने हुन्छ।
किशोरावस्थामा किशोरकिशोरीहरू कुनै पनि कुरामा गहन ढंगले सोच्न सिकिरहेका हुन्छन्, जसको आधारमा उनीहरू भविष्यका लागि योजना निर्माण गर्न खोज्छन्। किशोरावस्थामा आफूलाई मन लाग्ने कुरामा परीक्षण गर्ने, जोखिम वा खतरा मोल्ने जस्ता कार्यहरू गर्नु सामान्य हो र यस्ता कार्यहरू सही निर्णय गर्न सक्ने सीप विकास गर्ने प्रक्रियाको एउटा पाटो पनि हो।
किशोरावस्थामा साथीभाइहरू र जेठाबाठाहरूले गरेका व्यवहारको सकारात्मक तथा नकारात्मक दुवै असर पर्छ। वयस्क मानिसहरूले यस्ता कुरामा ध्यान पुर्याई मुख्यतया खराब व्यवहार र नकारात्मक सोचाईले पार्न सक्ने असरहरूको बारेमा छलफल गरी सही विकल्प छान्ने काममा किशोरकिशोरीहरूलाई सहयोग गर्नुपर्छ। कम्तीमा पनि परिवार तथा समाजका वयस्क व्यक्तिको एउटा मात्र सकारात्मक सहयोग तथा अभिभावकको प्रभावले किशोरावस्थाको वृद्धि, विकास र परिवर्तनलाई आत्मसात् गराउन सहयोगी भई आइपर्ने तनावसँग जुध्न, धैर्यता राख्न तथा प्रफुल्ल रहन सघाउ पुग्छ।
३. किशोरावस्थाका मुख्य चुनौतीहरूको सूची तयार पार्नुहोस्।
उत्तर: किशोरकिशोरीहरूले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। यो उमेर उनीहरूको पहिचान खोज्ने उमेर हो। एकातिर उनीहरूलाई आफ्नो काम, व्यवहार र व्यक्तित्वले आफ्ना साथी समूहमा स्थापित हुनुपर्ने हुन्छ भने अर्कोतिर आफ्ना स्वप्निल सपनाको दुनियामा हराउने हुँदा उनीहरूको महत्त्वाकाङ्क्षा वा सपना पूरा नहुन सक्ने अवस्था हुन्छ। संसार जित्ने कल्पनामा रमाउने यस उमेरका किशोरकिशोरीको कल्पनाशीलताको जहाजलाई कसरी सफल अवतरण गराउने त्यो अर्को चुनौतीका रूपमा रहेको हुन्छ। उनीहरूको कल्पना शक्तिलाई सिर्जनशीलतातिर जोड्न सकेमा उनीहरू भोलि सफल सर्जक बन्न सक्छन्। यो उमेरलाई आँधी र तुफानको उमेरका रूपमा लिइने कारण यस अवस्थाका किशोरकिशोरीहरू हतास र निराश हुन्छन्।
किशोरावस्थाका मुख्य चुनौतीहरू यसप्रकार रहेका छन्:
- अत्यधिक रूपमा मानसिक र शारीरिक परिवर्तन हुनु,
- काम गराइमा हडबडाउने बानी हुनु,
- अभिभावकका विचार र काम गराइमा विमति जनाउनु,
- छिट्टै रिसाउने र खुसी हुने जस्ता संवेगात्मक अस्थिरता,
- हर्मोनमा हुने परिवर्तन र मनोवैज्ञानिक दबाब,
- बढ्दो साथी सङ्गत र घुलमिलले अपराध र दुर्व्यसनतिर प्रवृत्त हुने सम्भावना।
४. किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ? कारणहरू उल्लेख गर्नुहोस्।
उत्तर: किशोरावस्था मानिसको जीवनको महत्त्वपूर्ण अवस्था हो। यो अवस्थामा उनीहरूले प्राप्त गर्ने माया, सहयोग, संस्कार, शिक्षा आदिले उनीहरूको भविष्यको आधार तय गर्छ। राम्रो वातावरण पाएमा उनीहरू असल, सफल र सुसंस्कृत मानिस बन्न सक्छन्। अनुकूल वातावरणको अभावमा उनीहरू असफल र अपराधी पनि बन्न सक्छन्। त्यसैले हामीले किशोरकिशोरीको मनोविज्ञान कति बुझ्ने गरेका छौँ र उनीहरूको अवस्थालाई कति महत्त्वले हेरेका छौँ? भन्ने प्रश्न महत्त्वपूर्ण छ।
उनीहरूको हुर्काइमा विभिन्न विषयले प्रभाव पारिरहेको हुन्छ। पारिवारिक वातावरण, विद्यालय, साथी, समाज आदिका माध्यमबाट उनीहरूले जीवनका चौतर्फी ज्ञानहरू सिक्ने अवसर प्राप्त गर्छन्। यही क्रममा उनीहरूले जीवनको बाटो छान्छन्। यस अवस्थामा ध्यान पुगेन भने उनीहरू राष्ट्र निर्माता नबनेर राष्ट्रका ध्वंशक तत्व पनि बन्न सक्छन्।
किशोरावस्था जीवनको एउटा आकर्षक र सम्भवतः सबैभन्दा विषम अवस्था पनि हो। यस बेला किशोरकिशोरीहरूले नयाँ जिम्मेवारी र आत्मनिर्भरताको प्रयोग र परीक्षण गर्ने गर्छन्। उनीहरू आफ्नो अस्तित्व खोज्छन्, सानो बच्चाको बेलामा थाहा पाएका मूल्यमान्यताहरू प्रयोग गर्न सिक्छन्। एउटा कृपालु, मानवीय, दयालु तथा उत्तरदायी वयस्क हुन सहयोग गर्ने सीप विकास गर्छन्। यदि किशोरकिशोरीहरूलाई मानवीय भावनाले वयस्कहरूद्वारा सहयोग र प्रोत्साहित गरियो भने उनीहरूले अप्रत्याशित ढंगले प्रगति गर्न सक्छन्। उनीहरू स्रोतहरूले भरिपूर्ण हुन्छन् साथै परिवार र समाजका लागि योगदान गर्न सक्छन्। ऊर्जा, जिज्ञासा तथा उत्साहले भरिपूर्ण किशोरकिशोरीले समाजमा रहेका नकारात्मक व्यवहारहरू परिवर्तन गर्ने र एक पुस्ताबाट अर्को पुस्तामा स्थानान्तरण हुँदै आएको हिंसा तथा भेदभावको श्रृङ्खलालाई समाप्त गर्ने क्षमता राख्छन्। सिर्जनशीलता, असीमित ऊर्जा र उत्साहको कारण किशोरकिशोरीहरूले यस समाजलाई नै आश्चर्यचकित ढंगले परिवर्तन गर्नुका साथै संसारलाई उनीहरूका लागि मात्र नभई सम्पूर्णका लागि एउटा योग्य स्थान बनाउन सक्छन्।
यो पनि पढ्नुहोस्
थप जानकारीका लागि आधिकारिक स्रोतहरू:
विश्व स्वास्थ्य संगठन (WHO) – किशोर स्वास्थ्य राष्ट्रिय परीक्षा बोर्ड (NEB)कुनै प्रश्न वा सुझाव छ भने, हामीलाई सम्पर्क गर्नुहोस्।
Contact Us